`

नयाँ वर्षलाई स्वस्थ जीवनशैली र भ्रातृत्वको संकल्प गर्ने अवसर बनाऔँ : उपराष्ट्रपति

Nepal One HD १ वैशाख २०८३ ७:३९
प्रमुख खबर

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केवल पात्रो फेरिएको दिनका रूपमा मात्र नलिन आग्रह गरेका छन्। नववर्ष २०८३ को सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस दिनलाई नयाँ कामको थालनी, सकारात्मक सोचको विकास र स्वस्थ जीवनशैलीका लागि संकल्प गर्ने उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिएका हुन्। नयाँ वर्षले व्यक्तिगत जीवनमा अनुशासन र स्थिरता ल्याउने विश्वास उनले व्यक्त गरेका छन्।

उपराष्ट्रपति यादवले सामाजिक र सांस्कृतिक स्तरमा अपनत्व र भाइचारालाई मजबुत बनाउन नयाँ वर्ष एउटा कडी हुने उल्लेख गरे। उनले आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षण जस्ता साझा चुनौतीहरूमा एकजुट भएर अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। विशेषगरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि दृढ संकल्प लिनुपर्ने उनको भनाइ छ। संविधानले परिकल्पना गरेको समानुपातिक प्रतिनिधित्व र सुशासनको मार्गमा हिँड्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन नयाँ वर्षले सबैलाई प्रेरणा दिने उनले आशा व्यक्त गरेका छन्।

आफ्नो सन्देशमा उपराष्ट्रपतिले तराई–मधेस क्षेत्रमा हर्षोल्लासका साथ मनाइने ‘सतुवाइन’, ‘जुड्शीतल’ र ‘सिरुवा पावनी’ लगायतका मौलिक पर्वहरूको चर्चा गरेका छन्। साथै काठमाडौँ उपत्यकाको प्रसिद्ध ‘विस्का जात्रा’ को पनि उनले विशेष स्मरण गरेका छन्। यी पर्व र जात्राहरूले नेपालीहरूबीच आपसी मेलमिलाप र सद्भाव बढाउनुका साथै नेपालको सांस्कृतिक विविधता र ऐतिहासिक गौरवलाई विश्वसामु उजागर गर्ने उनले बताए।

नेपालको मौलिक पहिचानलाई यस्ता विशेष अवसरहरूले नै बलियो बनाउने उपराष्ट्रपतिको ठम्याइ छ। सिरुवा पावनीमा देखिने पारिवारिक आत्मीयता र विस्का जात्रामा हुने समुदायको सक्रिय सहभागिताले हाम्रो सांस्कृतिक विरासतलाई पुस्तान्तरण गर्न ठूलो मद्दत पुग्ने उनले उल्लेख गरे। अन्त्यमा, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै नयाँ वर्षले राष्ट्रिय एकतालाई थप जीवन्त बनाउने विश्वास उनले दिलाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *