मूल्य आकाशियो : केराको हाहाकार
काठमाडौं। नेपाली बजारमा केराको हाहाकार देखिएको छ । आपूर्ति अभावसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले केरालाई मूल्यसूचीमा समावेश गर्नै छाडेको हाे।
व्यवसायीका अनुसार भारतीय नाकाबाट अवैध रूपमा आउने केरा रोकिएपछि बजारमा आपूर्ति अचानक घटेको हो । अवैध केरा बहिष्कार गरेपछि बजारमा अभाव झनै बढेको उनीहरूको भनाइ छ ।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँका अनुसार केही समयअघि भारतबाट ठूलो मात्रामा अवैध केरा भित्रिँदा आपूर्ति सहज देखिए पनि अहिले रोकिएपछि बजार खाली भएको हो । उनका अनुसार नेपालमा आन्तरिक उत्पादन पनि कमजोर छ ।
हाल बजारमा गुणस्तरीय केरा अभाव हुँदा केही स्थानमा प्रतिदर्जन ३०० देखि ३५० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ ।
व्यवसायीहरूले किसानले प्रतिदर्जन ५० देखि ८० रुपैयाँमा केरा बिक्री गरे पनि बीचमा मूल्य वृद्धि भएको आरोप किसानहरूले लगाउँदै आएका छन् । तर व्यवसायी पक्षले गुणस्तर र ग्रेडिङ कमजोर भएकाले मूल्य बढेको दाबी गरेको छ ।
बानियाँका अनुसार नेपालले करिब ८० प्रतिशत आत्मनिर्भरता दाबी गरे पनि वास्तविक उत्पादन करिब ३० प्रतिशत मात्रै रहेको छ ।
उनले उत्पादन बढाउने र आयातलाई व्यवस्थित गर्ने नीति आवश्यक रहेको भन्दै सरकारसँग प्रभावकारी समन्वयको माग गरेका छन् ।
