चार जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका-७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका-७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र भक्तपुर सूर्यविनायक नगरपालिका-७ की ५५ वर्षीया सुनिता खत्री रहेका छन् ।
प्रहरीका अनुसार मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै तीन लाख ५० हजार रुपैयाँ, केदारबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ तथा रामतुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै तीन लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।
