उद्योगीलाई धरपकड गरेको भन्दै निजी क्षेत्रको विरोध
काठमाडौं। उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रका छाता संगठनहरूले विरोध जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।
नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरिएको अवस्थामा उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकका कारण निजी क्षेत्र निरुत्साहित भएको विज्ञप्तिमा उल्लेख छ।
‘अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्र त्रसित हुने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजस्व तथा पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने देखिन्छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।
नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै उद्योगी व्यवसायीलाई पक्राउ गरिएको सन्दर्भमा आर्थिक कसुरका सम्बन्धमा पहिले सुनुवाइ गरेर मात्र दोष प्रमाणित भएपछि मात्र कारबाही गर्नुपर्ने दृष्टिकोण अपनाउन सरकारलाई आग्रह गरिएको छ।
उद्यमी व्यवसायीहरूले अनुसन्धानमा पूर्ण सहयोग गर्ने र प्रहरीले बोलाएको समयमा उपस्थित हुने जानकारी दिँदा पनि पक्राउ गरिएको घटनाले समग्र निजी क्षेत्र चिन्तित बनेको विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समय नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई समेटिन थालेको सकारात्मक भए पनि धरपकडका घटनाले विश्वासमा कमी आएको पनि उल्लेख गरिएको छ।
तर, कसुर प्रमाणित भए दोषीलाई कारबाही गर्नुपर्नेमा निजी क्षेत्रको कुनै विमति नरहेको स्पष्ट पारिएको छ। संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने सिद्धान्तको पालना गर्न सरकारसँग आग्रह गरिएको छ।
