सुधन गुरुङ फेरि विवादमा
काठमाडौं । पुर्वगृहमन्त्री सुधन गुरुङ फेरि विवादमा तानिएका छन्। उनले गृहमन्त्री हुँदा सरकारलाई बुझाएको सम्पत्ति विवरण र प्रतिनिधिसभाको निर्वाचन लड्दा निर्वाचन आयोगलाई बुझाएको सम्पत्ति विवरणमा ठुलो अन्तर देखिएपछि उनी फेरि एकपटक विवादको घेरामा तानिएका हुन्।
विवादित व्यापारी दिपक भट्टसँगको सेयर लगानी रहेको कुरा बाहिरिएपछि उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। अहिले भने उनको सम्पत्ति लुकाईएको विषय चर्चामा छ।
उनीमाथि सुन तथा चाँदीको विवरण लुकाएको, केही कम्पनीमा रहेको सेयर स्वामित्व खुलाउन नखोजेको तथा सम्पत्तिसम्बन्धी कागजातमा गोलमाल गरेको आरोप लगाइएको छ। यस्तै, भेटिएको जग्गाको वास्तविक विवरणसमेत गायब पारिएको दाबी गरिएको छ।
बैंक विवरणसमेत लुकाएको आरोप उनीमाथि लागेको छ। सार्वजनिक आरोपअनुसार साढे दुई महिनाको अवधिमा ४४ लाख रुपैयाँ थप आम्दानी भएको देखिएको छ भने आफूले पाउनुपर्ने ऋण रकमसम्बन्धी विवरणमा समेत करोडौँ रुपैयाँ गायब भएको उल्लेख गरिएको छ।
सम्पत्तिको लफडा र बिचौलिया भट्टसँगको साझेदारी विवादमा मुछिएर गृहमन्त्रीबाट वैशाख १० गते राजीनामा दिएका उनलाई सोही जिम्मेवारीमा फर्काउने खेलको चर्चा चलिरहेका बेला भेटिएको यो तथ्यले अनेक आशंका उब्जाएको छ । सरकारले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित वैशाख ३१ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युत भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
