`

हामीले दु:ख गरेर पैँसा कमाएको हो, पुराना नेतालाई छानबिन गर : सुधन गुरुङ

Nepal One HD ६ जेठ २०८३ ११:३३
राजनीति

काठमाडौं । आफूले दु:ख गरेर पैँसा कमाएको भन्दै पूर्वगृहमन्त्री सुधन गुरुङले पुराना पार्टीका नेताहरुलाई छानबिन गर्न माग गरेका छन्। उनले मुलुकको आर्थिक संकट र राजनीतिक विकृतिका लागि जिम्मेवार व्यक्तिहरूको सम्पत्तिमाथि छानबिन हुनुपर्ने बताएका हुन् । उनले वर्षौँदेखि सत्तामा बसेर अकुत सम्पत्ति आर्जन गर्नेहरूको आयस्रोत खोजिनुपर्नेमा जोड दिएका छन्।

देशलाई कमजोर बनाउने र राज्यको स्रोत दोहन गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै उनले वास्तविक दोषीमाथि अनुसन्धान नगरी सर्वसाधारणमाथि प्रश्न उठाउनु उचित नहुने धारणा राखे।

गुरुङले आफूहरू श्रम र संघर्षबाट स्थापित भएको दाबी गरे। उनले आफ्नो सम्पत्ति पारदर्शी रहेको बताएका हुन् । सानैदेखि दुःख, मेहनत र पसिनाको कमाइबाट यहाँसम्म पुगेको उल्लेख गर्दै उनले देशमा सकारात्मक परिवर्तनको अपेक्षासहित राजनीतिमा आएको बताए।

साथै, आफूहरूमाथि प्रश्न उठाउने केही व्यक्तिहरू नै गलत प्रवृत्तिबाट लाभ लिइरहेको आरोप लगाउँदै उनले त्यस्ता व्यक्तिहरूमा सत्य बोल्ने नैतिक साहसको अभाव रहेको टिप्पणी गरे।

देशको वर्तमान आर्थिक र राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले वास्तविक रूपमा मुलुकलाई क्षति पुर्‍याउनेहरूलाई उन्मुक्ति दिन नहुने बताएका छन्। आफू कुनै डर वा दबाबबिना देश सेवामा लागेको उल्लेख गर्दै उनले राज्यका स्रोत दोहन गरेर सम्पत्ति जोड्नेहरूको निष्पक्ष छानबिन हुनुपर्ने आवश्यकता औंल्याएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *