राप्रपामा धवलको बिद्रोह, नयाँ दल घोषणा नजिक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र लामो समयदेखि चुलिँदै आएको आन्तरिक विवाद अब औपचारिक विभाजनको चरणमा पुगेको छ।
पार्टीका महामन्त्री डा. धवलशम्शेर जबराको नेतृत्वमा रहेको समूह राप्रपाबाट अलग भएर नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा जुटेको छ।
सोमबार काठमाडौंमा बोलाइएको विशेष भेलामार्फत नयाँ दल निर्माण प्रक्रियालाई औपचारिकता दिने तयारी गरिएको राणानिकट नेताहरूले बताएका छन्।
राप्रपाभित्र अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा समूहबीच पछिल्ला तीन वर्षदेखि बढ्दै गएको राजनीतिक तथा संगठनात्मक दूरी अन्ततः विभाजनतर्फ उन्मुख भएको हो।
राणा पक्षले पार्टी नेतृत्वले विधानअनुसार संगठन सञ्चालन गर्न नसकेको, निर्णय प्रक्रियामा एकलौटीपन बढेको तथा आन्तरिक लोकतन्त्र कमजोर बनाइएको आरोप लगाउँदै आएको छ।
राणानिकट एक पूर्वपदाधिकारीका अनुसार अब पार्टीभित्र सुधारको सम्भावना सकिएको निष्कर्षमा पुगेपछि नयाँ राजनीतिक शक्ति निर्माण गर्ने निर्णय गरिएको हो।
उनका अनुसार नयाँ दलमा राप्रपाका पूर्वअध्यक्षहरू लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा, कमल थापा, प्रकाशचन्द्र लोहनी लगायतका नेताहरू नयाँ दलको संरचनामा नहुने दाबी गरिएको छ।
राप्रपाको २०७८ सालको महाधिवेशनमा अध्यक्ष लिङ्देनलाई नेतृत्वमा पुर्याउन धवलशम्शेरले महत्वपूर्ण भूमिका खेलेका थिए।
तर, त्यसपछि दुवै नेताबीचको सम्बन्ध क्रमशः चिसिँदै गयो। संगठन सञ्चालन, जिम्मेवारी बाँडफाँट र पार्टीको भावी रणनीतिलाई लिएर असन्तुष्टि बढ्दै गएको थियो।
राणा क्यान्सर उपचारका लागि भारतको दिल्ली गएका बेला उनीसँग रहेको संगठन विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिइएको घटनालाई पनि राणा पक्षले सम्बन्ध बिग्रनुको एउटा कारणका रूपमा लिएको छ।
त्यसपछि १५ चैत २०८१ मा भएको तीनकुने राजावादी प्रदर्शन हिंसात्मक बनेपछि राणा, रवीन्द्र मिश्र लगायतका नेताहरू पक्राउ परे। राणा पक्षले त्यसबेला पार्टी नेतृत्वले आफूहरूको रिहाइका लागि कुनै सक्रियता नदेखाएको आरोप लगाउँदै आएको छ।
त्यसपछि पार्टीभित्र राणानिकट १० भन्दा बढी नेताहरूलाई जिम्मेवारीबाट हटाइएपछि विवाद झन् चर्किएको थियो। पछिल्ला केन्द्रीय समिति तथा पदाधिकारी बैठकहरूमा दुवै पक्षबीच खुला मतभेद देखिन थालेका थिए।
राणा पक्षले गत शुक्रबार सम्पन्न राप्रपाको स्थापना दिवस कार्यक्रमलाई पनि विभाजनको संकेतका रूपमा व्याख्या गरेको छ।
कार्यक्रममा अध्यक्ष लिङ्देनसहित सीमित नेताहरू मात्र सहभागी भएको र पार्टीका अधिकांश वरिष्ठ पदाधिकारी अनुपस्थित थिए ।
राणानिकट नेता दमन बस्नेतका अनुसार पछिल्लो समय पार्टीभित्र संवाद र सहकार्यको वातावरण समाप्तप्रायः भएको छ।
राणा पक्षले गठन गर्न लागेको नयाँ दलले आफूलाई ‘राष्ट्रवादी वैकल्पिक शक्ति’ का रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।
दलको मुख्य एजेन्डामा राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको पुनरावलोकन तथा राष्ट्रवादी राजनीतिक धारलाई एकीकृत गर्ने विषय रहने बताइएको छ।
नयाँ दलको नेतृत्व धवलशम्शेर जबराले गर्ने लगभग निश्चित भएको स्रोतहरूको दाबी छ। साथै व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं लाई कुनै विशेष भूमिकामा ल्याउने विषयमा समेत छलफल भइरहेको बताइएको छ। यद्यपि प्रसाईंको औपचारिक सहभागिताबारे अन्तिम निर्णय भइसकेको छैन।
यसैगरी राप्रपाबाट बाहिरिएका रवीन्द्र मिश्र, शरदराज पाठकलगायत व्यक्तिहरूसँग पनि नयाँ सहकार्यबारे संवाद भइरहेको जनाइएको छ।
स्रोतका अनुसार पूर्वमन्त्री दिलनाथ गिरी, दिलविकास राजभण्डारी, सगुन लावती, नारायण कोइरालालगायत नेताहरू नयाँ दलमा सक्रिय भूमिका खेल्न तयार छन्।
राणा पक्षको दाबीअनुसार प्रारम्भिक चरणमै करिब एक सय नेताहरूले सामूहिक रूपमा राप्रपा परित्याग गर्न सक्ने सम्भावना छ। यदि त्यसो भयो भने राप्रपाले संगठनात्मक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने विश्लेषण गरिएको छ।
यता पार्टी विभाजन रोक्न वरिष्ठ नेताहरूले अन्तिम प्रयास जारी राखेका छन्। पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी लगायतका नेताहरूले राणालाई पार्टीभित्रै बसेर समाधान खोज्न आग्रह गरेका छन्। आगामी महाधिवेशनमार्फत नेतृत्व र संगठनसम्बन्धी विवाद समाधान गर्न सकिने प्रस्तावसमेत राखिएको बताइएको छ।
तर राणा पक्ष भने त्यसमा सहमत देखिएको छैन। उनीहरूको निष्कर्षमा पार्टी नेतृत्वले महाधिवेशनसमेत टार्ने रणनीति अपनाएको र आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको छ।
यसबीच कमल थापाले सार्वजनिक रूपमा पार्टी एकता जोगाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले विभाजनले राजावादी आन्दोलन र राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने भन्दै असन्तुष्टिहरूको समाधान पार्टीभित्रै खोज्नुपर्ने बताएका छन्।
नेपालको राजनीतिक इतिहासमा राप्रपा विभाजन र पुनःएकीकरणको चक्रबाट बारम्बार गुज्रिएको दल हो।
२०४७ सालदेखि नै नेतृत्व विवादका कारण विभिन्न गुटमा विभाजित हुँदै आएको राप्रपा पछिल्ला तीन दशकमा पटक-पटक फुट र जुटको प्रक्रियाबाट गुज्रिएको छ।
अहिले देखिएको संकटले पनि पार्टीलाई पुनः अर्को विभाजनतर्फ धकेल्ने संकेत गरेको राजनीतिक वृत्तमा चर्चा छ।
यदि धवलशम्शेर जबरा समूहले अपेक्षाअनुसार सामूहिक बहिर्गमन गर्दै नयाँ दल घोषणा गर्यो भने त्यसले केवल राप्रपामात्र होइन, समग्र राजावादी राजनीतिक धारको शक्ति सन्तुलनलाई समेत प्रभावित पार्ने देखिएको छ।
