बालेनलाई म्यासेज गरेको भन्दै पक्राउ परेका सचिव छुटे
काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर पक्राउ परेको केही घण्टामै रिहा भएका छन्। बिहीबार अपराह्न काठमाडौंको कपनस्थित निवासबाट पक्राउ परेका उनलाई करिब सात घण्टा सोधपुछपछि राति रिहा गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पुष्करलाई मोबाइल फोनको अनुचित प्रयोग तथा उच्च पदस्थ व्यक्तिलाई अमर्यादित भाषा प्रयोग गरी सन्देश पठाएको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो। उनलाई पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा छोडिएको बताइएको छ। श्रेष्ठ नेपाल सरकारकी सहसचिव हुन्।
प्रहरी स्रोतका अनुसार पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटका लागि समय माग्दा अवसर नपाएपछि उनको निजी नम्बरमा सन्देश पठाएका थिए। उक्त सन्देशमा प्रयोग गरिएको भाषा निजामती कर्मचारीको पदीय मर्यादाविपरीत रहेको आरोप छ।
सोधपुछका क्रममा पुष्करले प्रधानमन्त्री कार्यालय तथा निजी सचिवालयमार्फत आफ्नो कुरा राख्ने अवसर नपाएपछि सन्देश पठाएको बताएका थिए। तर, आफूले अशिष्ट वा अमर्यादित भाषा प्रयोग नगरेको उनको दाबी छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार प्रधानमन्त्रीको सचिवालयकै आग्रहमा भविष्यमा यस्ता गतिविधि नदोहो¥याउने शर्तमा उनलाई रिहा गरिएको हो।
हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत पुष्कर असार २४ गते सचिव पदको पाँचवर्षे सेवा अवधि पूरा गरी अवकाश हुँदैछन्। अवकाश हुन केही दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल पनि सेवामुक्त हुने भएकाले पुष्कर मुख्यसचिव बन्ने दौडमा रहेको चर्चा प्रशासनिक वृत्तमा थियो।
स्रोतका अनुसार उनले मुख्यसचिव नियुक्ति, संवैधानिक निकाय वा अन्य कुनै जिम्मेवारीपूर्ण पदमा अवसर पाउने अपेक्षासहित प्रधानमन्त्रीसँग सम्पर्क गर्न खोजेका थिए। सन्देशमा आफ्नो गृहजिल्ला महोत्तरी, राजदूत पदका लागि दिएको आवेदन तथा सहयोगको अपेक्षासम्बन्धी विषयसमेत उल्लेख गरिएको बताइएको छ।
