`

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव,सेवाग्राही प्रभावित

Nepal One HD २६ जेठ २०८३ १५:३०
जीवनशैली/स्वास्थ्य

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएको छ ।

कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी स्वास्थ्य संस्थामा नपाइँदा सेवाग्राही प्रभावित बनेका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार प्रदेशभर करिब दुई सातादेखि रेबिजविरुद्धको खोप अभाव रहेको छ । यसका कारण जनावरको टोकाइबाट जोखिममा परेका नागरिकले समयमै उपचार सेवा पाउन कठिनाइ भोगिरहेका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध गराइने खोप सकिएको जानकारी दिए । उनका अनुसार निजी स्वास्थ्य संस्थाहरूमा भने खोप बिक्री–वितरण भइरहेको छ ।

‘प्रदेश सरकारले खोप खरिदका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अहिले दुई–तीन महिनायता त्यही खोपले सहजता भयो,’ जोशीले भने ।

खोप अभाव बढ्दै गएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल तथा स्थानीय तहहरूलाई आवश्यक व्यवस्थापनका लागि पत्राचार गरेको छ । मन्त्रालयले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवाग्राहीलाई समस्या हुन नदिन आग्रह गरेको जनाएको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट निःशुल्क वितरण गरिने रेबिजविरुद्धको खोप हाल आपूर्ति हुन नसकेको र नयाँ आपूर्तिका लागि अझै केही समय लाग्ने जानकारी मन्त्रालयलाई प्राप्त भएको छ ।

यस्तै, गत जेठ १६ गते स्वास्थ्य सेवा विभागले प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय तथा स्थानीय तहहरूलाई खोप व्यवस्थापनका लागि आवश्यक समन्वय गर्न पत्र पठाएको थियो ।

रेबिज एक घातक सङ्क्रामक रोग भएकाले जनावरको टोकाइपछि समयमै खोप लगाउनु अत्यन्त आवश्यक मानिन्छ । यस्तो अवस्थामा सरकारी स्वास्थ्य संस्थामै खोप अभाव हुँदा सर्वसाधारण चिन्तित बनेका छन् भने सम्बन्धित निकायमाथि शीघ्र आपूर्तिको व्यवस्था गर्न दबाब बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *