झापा-इलामका चिया उधोग बन्द हुँदा ६० हजार रोजगारी संकटमा
काठमाडौं । भारतले नेपाली चिया निर्यातमा अघोषित अवरोध लगाएपछि पूर्वी नेपालका चिया उद्योगहरू संकटमा परेका छन्। निर्यात ठप्प भएपछि इलाम र झापाका दर्जनौँ उद्योग तथा चिया बगान बन्द हुन थालेका छन्।
नेपाल चिया उत्पादक संघका अनुसार इलामका ५६ वटा चिया उद्योग यसअघि नै बन्द भइसकेका छन् भने बिहीबारदेखि झापाका ३० भन्दा बढी उद्योग र करिब दुई दर्जन चिया बगानले पनि उत्पादन तथा प्रशोधन कार्य स्थगित गरेका छन्।
संघले भारतीय पक्षबाट सिर्जना गरिएको अवरोधका कारण नेपाली चियाको निर्यात पूर्ण रूपमा प्रभावित भएको जनाएको छ। निर्यात हुन नसकेपछि उत्पादित चिया गोदाममै थन्किएको र उद्योग सञ्चालन गर्न कठिन भएको व्यवसायीहरूको भनाइ छ।
समस्या समाधानका लागि सरकारसँग पटक–पटक पहलको माग गरिए पनि ठोस समाधान ननिस्किएकाले उद्योग बन्द गर्न बाध्य भएको नेपाल चिया उत्पादक संघले जनाएको छ।
संघका अध्यक्ष आदित्य पराजुलीले भारतीय अवरोध नहटेसम्म आन्दोलन र बन्दका कार्यक्रम जारी रहने चेतावनी दिएका छन्। उनले चिया क्षेत्रको संकट समाधानका लागि सरकारले तत्काल कूटनीतिक र नीतिगत पहल गर्नुपर्ने बताए।
व्यवसायीहरूका अनुसार नेपालबाट हरेक वर्ष भारतमा ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको चिया निर्यात हुँदै आएको छ। निर्यात अवरुद्ध हुँदा चिया उद्योगसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजीरोटी संकटमा परेको छ।
चिया नेपालको प्रमुख नगदे बालीमध्ये एक भएकाले निर्यातमा देखिएको यो अवरोधले समग्र चिया उद्योग र स्थानीय अर्थतन्त्रमा गम्भीर असर पार्ने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।
