रास्वपालाई कांग्रेसले भन्यो -‘प्रतिस्पर्धी हौं, दुश्मन होइनौं’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो राजनीतिक प्रतिस्पर्धी भए पनि दुश्मन नभएको बताएका छन्।
चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक राजनीतिमा दलहरूबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि एकअर्कालाई कमजोर बनाएर अघि बढ्ने सोच कांग्रेसको नरहेको स्पष्ट पारे।
उनले रास्वपाले छोटो अवधिमै हासिल गरेको जनसमर्थनको प्रशंसा गर्दै कांग्रेस पनि जनताको विश्वास जितेर अझ बलियो बन्न चाहने बताए। तर त्यसका लागि अर्को दललाई कमजोर पार्ने वा अवरोध सिर्जना गर्ने बाटो नअपनाइने उनको भनाइ थियो।
‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौं,’ उनले भने, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ। हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं। बन्छौं पनि एक दिन।’
उनले कांग्रेसले आफ्नो राजनीतिक उचाइ अरूलाई होच्याएर होइन, आफ्नै क्षमता र कार्यसम्पादनका आधारमा बढाउन खोजिरहेको बताए।
‘तर तपाईंहरूलाई सानो बनाएर होइन। तपाईंहरूको खुट्टा काटेर होइन। मन, वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’ उनले भने, ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन। हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं।’
सभापति थापाले लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धाले मात्र राजनीतिक संस्कार बलियो बन्ने उल्लेख गर्दै जनताको भरोसा कायम राख्न सबै दलले आत्मसमीक्षा र सुधारको बाटो अपनाउनुपर्ने धारणा व्यक्त गरे।
रास्वपाको महाधिवेशनलाई शुभकामना दिँदै उनले नयाँ राजनीतिक शक्तिहरूले लोकतान्त्रिक प्रणालीलाई थप सशक्त बनाउन योगदान दिनुपर्नेमा समेत जोड दिए।
