मेटाले सार्वजनिक गर्यो ‘म्युज इमेज’ एआई मोडल
काठमाडौं। मेटाले आफ्नै प्रविधिमा विकसित नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) इमेज जेनेरेसन मोडल ‘म्युज इमेज’ सार्वजनिक गरेको छ।
मेटा सुपरइन्टेलिजेन्स ल्याबले विकास गरेको यो कम्पनीकै पहिलो ‘इन–हाउस’ इमेज जेनेरेसन मोडल हो।
कम्पनीले म्युज इमेजलाई मेटा एआई च्याटबटसँग एकीकृत गरेको छ। यसमार्फत प्रयोगकर्ताले टेक्स्ट लेखेर विभिन्न शैलीका तस्बिर सिर्जना गर्न सक्नेछन्। साथै, यो सुविधा इन्स्टाग्राम स्टोरी र ह्वाट्सएपमा पनि विस्तार गरिएको छ।
हाल यो सेवा केही सीमित देशमा मात्रै उपलब्ध छ। कम्पनीका अनुसार मेटा एआईमार्फत म्युज इमेजको आधारभूत प्रयोग निःशुल्क हुनेछ भने उन्नत सुविधाका लागि सशुल्क सदस्यता लिनुपर्नेछ।
मेटाका अनुसार म्युज इमेजले प्रयोगकर्ताले दिएका जटिल टेक्स्ट निर्देशनसमेत बुझेर तस्बिर सिर्जना गर्न सक्छ। प्रयोगकर्ताले आफ्नै फोटो अपलोड गरी त्यसलाई विभिन्न शैलीमा रूपान्तरण गर्न, स्केच वा एनोटेसनका आधारमा तस्बिर सम्पादन गर्न तथा एआईले तयार गरेको सामग्रीमा थप परिवर्तन गर्न सक्ने सुविधा पनि यसमा उपलब्ध छ।
म्युज इमेजको सहायताले इन्स्टाग्राम स्टोरीका लागि ३० भन्दा बढी नयाँ एआई इफेक्ट उपलब्ध गराइएको कम्पनीले जनाएको छ। त्यस्तै, ह्वाट्सएपमा मेटा एआईसँग च्याट गर्दै प्रत्यक्ष रूपमा तस्बिर बनाउन सकिने सुविधा पनि सुरु गरिएको छ।
यी सुविधा हाल अमेरिकामा मात्रै उपलब्ध छन् भने भविष्यमा फेसबुक र मेसेन्जरमा पनि विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
म्युज इमेजसँगै आएको एउटा सुविधाले गोपनीयतासम्बन्धी बहस पनि सुरु गराएको छ। सार्वजनिक इन्स्टाग्राम प्रोफाइल भएका प्रयोगकर्ताको तस्बिर उनीहरूलाई ट्याग गरेर एआईमार्फत परिमार्जन गर्न सकिने व्यवस्थाप्रति प्रविधि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
यद्यपि मेटाले प्रयोगकर्तालाई आफ्नो सामग्री एआईमार्फत प्रयोग हुन नदिने नियन्त्रण (सेटिङ) उपलब्ध गराएको जनाएको छ। प्रयोगकर्ताले चाहेको अवस्थामा उक्त सुविधा बन्द गर्न सक्ने कम्पनीको भनाइ छ।
ओपनएआई, गुगललगायत कम्पनीबीच एआई प्रविधिमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला मेटाले म्युज इमेज सार्वजनिक गरेको हो।
कम्पनीले यसलाई व्यक्तिगत प्रयोगकर्ता, सामग्री निर्माता र विज्ञापनदातालाई लक्षित गर्दै आफ्ना डिजिटल सेवाको प्रमुख एआई उपकरणका रूपमा विकास गर्ने योजना बनाएको जनाएको छ।
