`

संसदमा आज : विशेष समयमा सांसदहरूको सरकारलाई ध्यानाकर्षण

Nepal One HD २५ असार २०८३ १६:२१
बिशेष

काठमाडौं। प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा सांसदहरूले सडक सुरक्षा, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, कृषि, नदी कटान, खानेपानी, परराष्ट्र नीति, नागरिकता, सार्वजनिक सेवा तथा विकास निर्माणसँग सम्बन्धित विविध विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

अधिकांश सांसदले जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधानमा सरकारले प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले सडकको बीच भागमा रहेका बिजुलीका खम्बाका कारण दुर्घटनाको जोखिम बढिरहेको उल्लेख गर्दै ती संरचना तत्काल हटाउन सरकारसँग माग गरे। नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले विगत तीन दशकमा मुलुकमा केही पनि नभएको भन्ने र वर्तमान सरकारको एक सय दिनमै देशमा ठूलो परिवर्तन आएको भन्ने दुवै धारणा अतिरञ्जित र यथार्थभन्दा टाढा रहेको बताइन्।

नेकपा (एमाले)का सांसद क्षितिज थेवेले निर्वाचनमार्फत प्राप्त जनादेशअनुसार जनअपेक्षा पूरा गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा सडक दुर्घटनाको संख्या बढ्दै गएको भन्दै सुरक्षित सडक निर्माणका लागि पर्याप्त बजेट छुट्याउन सरकारसँग आग्रह गरे।

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाँदर र बँदेललगायत जङ्गली जनावरका कारण पहाडी क्षेत्रमा किसान खेतीपाती छाड्न बाध्य भइरहेको उल्लेख गर्दै प्रभावकारी नियन्त्रण कार्यक्रम सञ्चालन गर्न माग गरे। रास्वपाका सांसद ताहिर अली भाटले अस्थायी, करार र ज्यालादारी कर्मचारीको दीर्घकालीन समस्या समाधान गर्न सरकारलाई सुझाव दिए।

रास्वपाकै सांसद अरबिन्द साहले सरकारको पहिलो एक सय दिनमा सुशासन, प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार तथा आधारभूत संरचना सुदृढीकरणका क्षेत्रमा सकारात्मक प्रगति भएको दाबी गरे। नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले जाजरकोट भूकम्पबाट प्रभावित परिवारको पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।

एमाले सांसद रिङ्गला यादवले नवलपरासी पश्चिमको सुस्ता क्षेत्रका नागरिकले लामो समयदेखि भूमि र पहिचानको समस्या भोग्दै आएकाले त्यसको तत्काल समाधान गर्न सरकारसँग माग गरिन्। नेकपाका सांसद रमेशकुमार मल्लले नेपालको स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीतिलाई सरकारले पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले नेपाल वायुसेवा निगमलाई युरोपेली सङ्घको कालोसूचीबाट हटाउन आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिन्। रास्वपाका सांसद ठाकुरसिंह थारुले बर्दियामा सर्पदंशका बिरामीको संख्या बढेकाले जिल्ला अस्पतालमा सघन उपचार कक्ष सञ्चालन गर्न माग गरे।

रास्वपाकी सांसद रुक्मिणीदेवी कोइरालाले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी तथा भूमिहीन नागरिकलाई भूमिको स्वामित्वसहित पुनःस्थापना गर्नुपर्ने बताइन्। एमालेका सांसद ऐनबहादुर महरले छिमेकी मुलुकसँगको सम्बन्धबारे सरकारको स्पष्ट धारणा संसद्मा प्रस्तुत गर्न माग गरे भने रास्वपाकी सांसद बिना गुरुङले बेलायती गोर्खा सैनिकका सन्तानको नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

रास्वपाका सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका क्रममा बल प्रयोग गर्ने जिम्मेवारमाथि कहिले कारबाही हुन्छ भन्दै सरकारसँग प्रश्न गरे। सोही पार्टीका सांसद सागर भुसालले बाँदर आतङ्कबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन माग गरे भने सांसद नरेन्द्र साह कलवारले आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्न हतारिने प्रवृत्ति अन्त्य गर्न सरकारलाई सुझाव दिए।

रास्वपाका सांसद प्रदीप विष्टले काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरि क्षेत्रमा खानेपानी अभाव चर्किएको उल्लेख गर्दै पानीका स्रोत संरक्षण र न्यायोचित वितरणको व्यवस्था गर्न आग्रह गरे। सांसद ज्ञानु पौडेलले सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी बढाउन सरकारसँग माग गरिन्।

रास्वपाका सांसद राम लामाले हरेक वर्ष रासायनिक मल अभाव दोहोरिने समस्या समाधान गर्न स्वदेशमै मल कारखाना स्थापना गर्नुपर्ने सुझाव दिए। सांसद रुकेश रञ्जितले भक्तपुर नगरपालिका–२ स्थित देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना शीघ्र सम्पन्न गर्न माग गरे भने सांसद बुद्धरत्न महर्जनले कान्ति लोकपथको मापदण्ड र रुटबारे स्पष्ट जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गरे।

रास्वपाकी सांसद ललिताकुमारीले चिकित्सकहरूमाथि भइरहेका आक्रमण रोक्न प्रभावकारी कानुनी संरक्षण आवश्यक रहेको बताइन्। सांसद ज्ञानेन्द्रसिंह महताले कञ्चनपुरका महाकाली र जोगबुढा नदी आसपासका बस्तीमा बाढी र नदी कटानको जोखिम बढेकाले दीर्घकालीन नियन्त्रण योजना बनाउन सरकारलाई सुझाव दिए। सांसद राजीव खत्रीले सुदूरपश्चिमका किसानलाई सिँचाइ, मल, बीउ, लगानी र आधुनिक प्रविधिमा पहुँच विस्तार गर्न माग गरे।

बैठकको प्रारम्भमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले गरेको आत्मदाह प्रयासको घटनाबारे सरकारसँग जवाफ माग गरेका थिए। उनले घटनाको वास्तविकता सार्वजनिक गर्दै यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *