`

राहदानी विभाग अगाडि आत्मदाह गर्न बाध्य बनाउनेमाथि छानबिन गर्न शाहीको माग

Nepal One HD २५ असार २०८३ १८:१६
बिशेष

काठमाडौं, असार २५ गते । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि बिहीबार एक युवकले आत्मदाहको प्रयास गरेको घटनाले राष्ट्रिय सभागृहसम्म तरंग ल्याएको छ। प्रतिनिधिसभा सदस्य खडकबहादुर शाहीले यस घटनाको उच्चस्तरीय छानबिन माग गर्दै पीडितको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले राहदानी विभागको अगाडि आत्मदाहको प्रयास गर्न बाध्य बनाउने परिस्थितिमाथि गम्भीर प्रश्न उठाए। उनले जरिवाना मानवीय संवेदनशीलतालाई मध्यनजर राखेर मात्र गर्नुपर्नेमा जोड दिँदै कुनै पनि जरिवाना मानव जीवनभन्दा ठूलो नहुने बताए।

यसअघि बिहीबार दिउँसो करिब १:४५ बजे राहदानी विभागको ३ नम्बर गेट अगाडि पठाओ (राइड सेयरिङ) चालक २५ वर्षीय गणेश नेपालीले आफैंलाई पेट्रोल छर्केर आगो लगाएका थिए। उनी मुगु जिल्लाको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् र हाल भक्तपुरमा बसोबास गर्दै आएका थिए।

प्रारम्भिक अनुसन्धानका अनुसार नेपालीले राहदानी बनाउन विभागमा आउँदा आफ्नो मोटरसाइकल नियमविपरीत पार्किङ गरेको भन्दै काठमाडौं महानगर प्रहरीले ह्वील लक लगाएको थियो। सोही कारबाहीबाट मानसिक तनावमा परेका उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए।

घटनापछि प्रहरीले उनलाई वीर अस्पतालको बर्न युनिटमा पुर्याएको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भागमा जलन भएको छ र हाल उनी आईसियूमा अचेत अवस्थामा उपचाररत छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *