मन्त्री पुनको आह्वान : ‘नेपालको विकासमा ज्ञान र अनुभव लगानी गरौं’
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीलाई नेपालको विकास यात्रामा प्रत्यक्ष सहभागी हुन आह्वान गरेका छन्।
उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रको आर्थिक रूपान्तरणसँग जोड्नुपर्नेमा जोड दिएका हुन्।
विदेशमा रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अहिले संस्थागत रूपमा प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै यसको दीर्घकालीन विकासका लागि स्वदेश र विदेशका नेपाली विज्ञबीच सहकार्य अपरिहार्य रहेको बताए।
उनले मन्त्रालयको प्राथमिक उद्देश्य विज्ञान, प्रविधि र नवप्रवर्तनमार्फत मुलुकको अर्थतन्त्रलाई सबल बनाउने रहेको उल्लेख गर्दै विदेशमा रहेका दक्ष नेपालीलाई अनुसन्धान, प्रविधि हस्तान्तरण, नवप्रवर्तन र नीति निर्माण प्रक्रियामा जोड्ने वातावरण तयार गरिने बताए।
मन्त्री पुनले मन्त्रालयसँग हालसम्म पर्याप्त प्राविधिक जनशक्ति, स्पष्ट संगठनात्मक संरचना तथा आवश्यक कानुनी आधार तयार भइनसकेको स्वीकार गर्दै आगामी तीन महिनाभित्र संस्थागत संरचना निर्माण गर्ने लक्ष्य लिइएको जानकारी दिए। साथै, विश्वविद्यालयमा हुने अनुसन्धानलाई केवल शैक्षिक अभ्यासमा सीमित नराखी उत्पादन, उद्योग र उद्यमसँग जोड्ने गरी व्यावहारिक अनुसन्धानमा रूपान्तरण गरिने बताए।
उनले देशभरका विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र तथा उत्कृष्टता केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी दिए। गम्भीर अनुसन्धानमा संलग्न हुने वैज्ञानिक तथा अनुसन्धानकर्ताका लागि आवासीय सुविधासहितका अनुसन्धान केन्द्र स्थापना गर्ने अवधारणामाथि पनि मन्त्रालयले काम गरिरहेको उनले बताए।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सम्बन्धी कानुन समयानुकूल परिमार्जन गर्ने प्रक्रिया पनि अघि बढाइएको मन्त्री पुनले जानकारी दिए। उनका अनुसार विज्ञान र प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्न कानुनी तथा संस्थागत सुधार आवश्यक भइसकेको छ।
मन्त्री पुनले सूचना प्रविधि (आईटी) र कृत्रिम बौद्धिकता (एआई) लाई नेपालको विकासको प्रमुख आधारका रूपमा अघि बढाइने स्पष्ट पारे। यी दुवै क्षेत्रलाई सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत आवश्यक नीति तथा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए।
उनले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई आर्थिक समृद्धिको आधार बनाउन सरकार, शैक्षिक संस्था, निजी क्षेत्र तथा विदेशमा रहेका नेपाली विज्ञबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
