पाँचथरमा कांग्रेसको इतर पक्षको अधिवेशन ‘कमान्डर’ सूर्य
काठमाडौं । डा. शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५औँ महाधिवेशनको तयारी तीव्र बनाएको छ ।
संस्थापनइतर पक्षले आगामी १५ असोजमा वडा अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । त्यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
पाँचथरमा नेता सूर्यकुमार दाहाल (एसके)लाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ ।
केन्द्रीय प्रतिनिधिलाई असोज ३ गतेसम्म विभिन्न तहका अधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी दिइएको छ । जिल्ला अधिवेशन तयारी समिति गठन गर्नुपर्नेछ । संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रका अधिवेशन तयारी समिति पनि गठन गर्नुपर्नेछ ।
त्यस्तै, पालिका र वडा अधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी पनि केन्द्रीय प्रतिनिधिलाई दिइएको छ ।
सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार ७७ वटै जिल्लामा प्रतिनिधि तोकिएको हो ।
संस्थापनइतर पक्षले आगामी मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
भदौ १७ र १८ गते बसेको बैठकले महाधिवेशनको मिति तय गरेको थियो । सोही निर्णयअनुसार जिल्लाजिल्लामा अधिवेशनको तयारी अघि बढाइएको हो ।
