`

हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको भीड [तस्वीरहरू]

Nepal One HD २९ भदौ २०८३ ११:०९
फोटोफिचर

काठमाडौं । रातो सारी, हातमा चुरा र पूजा सामग्री बोकेका महिलाको भीडले सोमबार बिहानैदेखि काठमाडौंका शिवालय भरिएका छन् । नेपाली हिन्दु महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर उल्लास र धार्मिक आस्थाका साथ मनाइँदैछ ।

तीजको मुख्य दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको बाक्लो भीड लागेको छ । टाढाटाढाबाट आएका महिलाहरू पूजाका सामग्री बोकेर मन्दिर पुगेका छन् । कोही शिवको पूजा गर्दैछन्, कोही लाममा बसेर दर्शनको पालो कुरिरहेका छन् ।

तीजका दिन महिलाहरू भगवान् शिव र पार्वतीको पूजा गर्दै आफ्नो तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्छन् । विवाहित महिलाले दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित व्रत बस्ने गर्छन् भने अविवाहित महिलाले पनि असल जीवनसाथीको कामना गर्दै व्रत बस्ने धार्मिक विश्वास छ ।

पशुपति क्षेत्रमा बिहानैदेखि रातो, हरियो तथा विभिन्न रंगका पहिरनमा सजिएका महिलाको चहलपहल देखिएको छ । पूजा, दर्शन र व्रतका कारण मन्दिर परिसरमा भक्तजनको घुइँचो बढेको हो । भीड व्यवस्थापनका लागि मन्दिर क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

काठमाडौं उपत्यकाका अन्य शिवालयमा पनि तीजको रौनक देखिएको छ । गोकर्णेश्वर, डोलेश्वर, कुम्भेश्वर, आशापुरीलगायतका मन्दिरमा पनि बिहानैदेखि भक्तजन पुगेका छन् । उपत्यकाबाहिरका विभिन्न जिल्लाका शिवालयमा समेत महिलाहरू पूजा तथा दर्शनका लागि पुगेका छन् ।

तीज धार्मिक पर्व मात्रै होइन, नेपाली महिलाका लागि भेटघाट र आफ्ना मनका कुरा साट्ने अवसर पनि हो । माइतीघर जाने, आफन्तसँग भेट्ने, दर खाने, गीत गाउने र नाच्ने परम्परा तीजसँग जोडिएको छ ।

विशेषगरी तीजका गीतमार्फत महिलाले आफ्ना सुख–दुःख, प्रेम, पारिवारिक सम्बन्ध र सामाजिक अवस्थाबारे अभिव्यक्ति दिने गरेका छन् । पछिल्लो समय भने तीजको मौलिकता हराउँदै गएको, अनावश्यक खर्च र देखासिकी बढेको भन्दै बहस पनि हुने गरेको छ ।

धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको तीजले माइती र चेलीबीचको सम्बन्धलाई पनि नजिक बनाउने गर्छ । त्यसैले तीजको दिन शिवालयमा पूजा गर्ने महिलाको भीड जति देखिन्छ, त्यति नै घरघरमा भेटघाट, दर र रमाइलोको माहोल पनि देखिन्छ ।

आज दिनभर देशभरका शिवालयमा पूजा तथा दर्शनको क्रम चल्नेछ । साँझसम्मै तीजको धार्मिक र सांस्कृतिक रौनक कायमै रहनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *