`

रविले बोलाएको सर्वदलीय बैठक सुरु [तस्वीरहरू]

Nepal One HD ३१ भदौ २०८३ ११:५१
फोटोफिचर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सुरु भएको छ ।

बुधबार बिहान साढे ११ बजेपछि सुरु बैठकमा भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ ।

भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बाढीपछि खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा राजनीतिक दलहरूबीच निरन्तर छलफल हुँदै आएको छ ।

भदौ ११ गते बसेको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनलगायत विषय समेटेर १० बुँदे सङ्कल्प गरेको थियो । त्यसपछि भदौ १५ गते बसेको दोस्रो तहको सर्वदलीय बैठकले उक्त सङ्कल्प कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

आजको बैठकमा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण, पुनर्स्थापना र राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन राजनीतिक तहबाट कस्तो संयन्त्र बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव सहभागी छन् । त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत नेताहरू सहभागी छन् ।

बैठकले बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा राजनीतिक सहकार्यको संरचना बनाउने विषयमा ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *