एनपीएलमा पाकिस्तानी ब्याटर इफ्तिखर अहमद अनुबन्धित
काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि पाकिस्तानी ब्याटर इफ्तिखर अहमदलाई अनुबन्ध गरेको छ ।
जनकपुरले सामाजिक सञ्जालमार्फत अहमद आगामी सिजनमा टोलीबाट खेल्ने जानकारी दिएको हो । उनी जनकपुरले अनुबन्ध गरेका तेस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले हरमित सिंह र जिमी निशमलाई अनुबन्ध गरिसकेको छ ।
पाकिस्तानका अनुभवी खेलाडी अहमदले टेस्ट, एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा देशको प्रतिनिधित्व गरिसकेका छन् ।
साथै, उनले ६६ टी-२० अन्तर्राष्ट्रिय खेलमा चार अर्धशतकको मद्दतमा ९८९ रन बनाएका छन् । बलिङतर्फ उनले आठ विकेट लिएका छन् ।
अहमदसँग पाकिस्तान सुपर लिग (पीएसएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), बंगलादेश प्रिमियर लिग (बीपीएल) र लंका प्रिमियर लिग (एलपीएल) खेलेको अनुभव छ ।
उनले पीएसएलको उपाधि दुईपटक जितेका छन् । साथै, सन् २०१७ मा पेशावर जाल्मी र सन् २०१८ मा इस्लामाबाद युनाइटेडबाट खेल्दै उनी च्याम्पियन बनेका थिए ।
