`

ओलीको दायाँ विद्या, बायाँ बादल; महासचिव पोखरेलको कुर्सी किन सर्‍यो पर?

Nepal One HD २२ असोज २०८३ १५:१६
बिशेष

काठमाडौं । नेकपा एमालेको बैठकमा यसपटक एउटा सामान्य देखिने दृश्यले पार्टीभित्रको बदलिँदो समीकरणतर्फ संकेत गरेको छ ।

बैठक कक्षमा नेताहरूको आसन व्यवस्थापनमा गरिएको परिवर्तनले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको सम्बन्धबारे भइरहेको चर्चालाई थप चासोको विषय बनाएको छ ।

एमालेकी वरिष्ठ नेताका रूपमा विद्या भण्डारी बैठकमा सक्रिय रूपमा उपस्थित भएसँगै अध्यक्ष ओलीको आसपासको आसन व्यवस्थापन फेरिएको हो ।

बिहीबारको बैठकमा अध्यक्ष ओलीको दायाँपट्टि विद्या भण्डारी बसेकी थिइन् भने बायाँपट्टि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ थिए । ओलीको दायाँतर्फ भण्डारीपछि उपाध्यक्षद्वय विष्णु पौडेल र गोकर्ण विष्टको आसन राखिएको थियो । त्यसपछि मात्रै महासचिव शंकर पोखरेलका लागि कुर्सी राखिएको थियो ।

यो व्यवस्थापन अघिल्ला बैठकहरूको तुलनामा फरक हो ।

यसअघि अध्यक्ष ओलीको एकतर्फ उपाध्यक्षहरू र अर्कोतर्फ महासचिवका लागि आसन राखिने गरेको थियो । महासचिवको हैसियतअनुसार अध्यक्षसँगैको अग्रस्थानमा पोखरेलको आसन रहने गरेको थियो । यसपटक भने त्यो क्रम परिवर्तन भएको छ ।

बैठकमा को कहाँ बस्यो भन्ने विषय आफैंमा कुनै औपचारिक राजनीतिक निर्णय होइन । तर, ठूला राजनीतिक दलमा शीर्ष नेताहरूको आसन व्यवस्थापनले पनि संगठनभित्रको प्राथमिकता र सम्बन्धको संकेत दिने गरेको पाइन्छ ।

त्यसैले ओलीको नजिक रहने गरेको महासचिव पोखरेलको आसन यसपटक पछाडि सारिनुलाई एमालेभित्र चासोका साथ हेरिएको छ ।

विशेषगरी पार्टीभित्र नेतृत्वको कार्यशैली, संगठन पुनर्गठन र आगामी राजनीतिक दिशाबारे बहस चलिरहेका बेला यस्तो दृश्य देखिएको हो ।

पोखरेलले पछिल्लो समय पार्टीको नेतृत्व संरचना र संगठनात्मक व्यवस्थापनमा पुनर्विचारको आवश्यकता औंल्याउँदै आएका छन् । उनको यस्तो धारणा अध्यक्ष ओलीको चाहनासँग कति मेल खान्छ भन्ने विषय एमालेभित्रै बहसको विषय बनेको छ ।

महासचिव पोखरेलको आसनसम्बन्धी विषय यसअघि पनि एमाले बैठकमा चर्चामा आएको थियो ।

केन्द्रीय कमिटीको बैठकमा महासचिवलाई अध्यक्षको नजिक रहने नियमित व्यवस्थाबाट अलग गर्ने प्रयास भएको बताइएको थियो । तर, त्यतिबेला अन्य नेताहरूको असहमति देखिएपछि उक्त व्यवस्था अघि बढ्न सकेन ।

यसपटक भने वरिष्ठ नेताका रूपमा विद्या भण्डारीको उपस्थितिलाई आधार बनाएर आसन व्यवस्थापन परिवर्तन गरिएको देखिन्छ ।

एमालेमा पछिल्लो समय अध्यक्ष ओली र महासचिव पोखरेलबीचको सम्बन्धलाई लिएर विभिन्न राजनीतिक चर्चा भइरहेका छन् । पोखरेलले नेतृत्व पुनर्गठन तथा पार्टी सञ्चालनका विषयमा आफ्नो धारणा सार्वजनिक रूपमा राख्दै आएका छन् ।

यही पृष्ठभूमिमा बैठकमा अध्यक्ष ओलीको नजिकको स्थानमा भण्डारीलाई राखिनु र महासचिव पोखरेललाई त्यसपछि राखिनुलाई पार्टीभित्रको बदलिँदो शक्ति–सन्तुलनसँग जोडेर हेर्न थालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *