तीन दिनलाई खुल्यो तातोपानी नाका, सयौँ कन्टेनर सीमामै अलपत्र
काठमाडौं । दसैँ तिहारको व्यापार गर्ने बेला तातोपानी नाका तीन दिनका लागि मात्रै खुलेपछि व्यवसायीहरू समस्यामा परेका छन् । चीनबाट सामान बोकेर आएका सयौँ कन्टेनर नेपाल र चीनतर्फै रोकिएका छन् । सिन्धुपाल्चोकस्थित तातोपानी नाका कात्तिक १ देखि ३ गतेसम्मका लागि सञ्चालनमा आएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अहिले मालवाहक सवारीसाधनलाई मात्रै आवतजावतको अनुमति दिइएको छ । तर, चाडपर्वको मुखमा तीन दिनका लागि मात्रै नाका खोलिएपछि व्यवसायीले नियमित सञ्चालनको माग गरेका छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य संघले तातोपानी-खासा नाका नियमित सञ्चालन गर्न माग गरेको छ । संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार यस विषयमा नेपालस्थित चिनियाँ दूतावासलाई ध्यानाकर्षणपत्र बुझाएर नाका नियमित खोल्न आग्रह गरिएको छ ।
नाका बन्द हुँदा चाडपर्वका लागि ल्याइएका सामान सीमामै रोकिएका छन् । तीमध्ये नाशवान् वस्तु, कृषि उत्पादन तथा मौसमी व्यापारका सामग्रीसमेत रहेकाले बिग्रने जोखिम बढेको व्यवसायीको भनाइ छ । लामो समयसम्म सामान रोकिँदा साना व्यापारीले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने र नेपाली बजारमा वस्तुको अभाव हुन सक्ने चिन्ता बढेको छ ।
त्यस्तै, पराजुलीका अनुसार नेपाली पक्षका सम्बन्धित सडक निकाय र स्थानीय सरोकारवालाले सडकका अवरोध हटाएर सुरक्षित आवागमनका लागि बाटो सञ्चालनयोग्य बनाइसकेका छन् । भन्सार जाँचपास र सवारीसाधन आवागमनका लागि सडक तयार रहेकाले नाका नियमित सञ्चालन गर्नुपर्ने उनको माग छ ।
चीनले गत भदौ १५ देखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो । भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा क्षति पुर्याएपछि चिनियाँ पक्षले तातोपानी नाका पनि बन्द गरेको थियो ।
साथै, अहिले तीन दिनका लागि नाका खुलाइए पनि त्यसपछि नियमित सञ्चालन हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट भएको छैन ।
