चार मागसहित सरकारलाई गोविन्द केसीको अल्टिमेटम
काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी निर्णयहरू सच्याउन माग गर्दै सरकारलाई एक साताको समयसीमा दिएका छन्। उनले चारबुँदे माग अघि सार्दै तोकिएको अवधिभित्र माग पूरा नभए थप कदम चाल्ने चेतावनी दिएका छन्।
डा. केसीले आवश्यक भौतिक पूर्वाधार, दक्ष जनशक्ति र कानुनी मापदण्ड पूरा नगरेको अवस्थामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालनको अनुमति दिने चिकित्सा शिक्षा आयोगको निर्णयप्रति आपत्ति जनाएका छन्। उनले उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन्।
त्यसैगरी, नेपाली आर्मी मेडिकल कलेजलगायत विभिन्न शिक्षण संस्थामा विद्यार्थी भर्नाका लागि सिट संख्या बढाउने निर्णय पनि फिर्ता लिनुपर्ने उनको माग छ। आवश्यक मापदण्ड पूरा नगरी सिट वृद्धि गर्दा चिकित्सा शिक्षाको गुणस्तर प्रभावित हुने उनको भनाइ छ।
निर्णय प्रक्रियामा संलग्न चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारीको भूमिकामाथि निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि डा. केसीले गरेका छन्। उनले अनियमितता वा स्वार्थको द्वन्द्वमा संलग्न देखिएका पदाधिकारीलाई जिम्मेवारीबाट हटाई दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन्।
डा. केसीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई आवश्यक पूर्वाधार र जनशक्तिसहित पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। विश्वविद्यालयले निर्धारित मापदण्ड पूरा गरेपछि मात्र गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको माग छ।
यसका अतिरिक्त, २०८३ साउन ११ गते सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पनि उनले आग्रह गरेका छन्। चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि भएका सहमति र निर्णयलाई व्यवहारमा उतार्नुपर्ने उनको भनाइ छ।
