बाढीपहिरोको वितण्डा : पृथ्वीराजमार्गदेखि कर्णालीसम्म १२ भन्दा बढी सडक ठप्प
काठमाडौं । लगातारको वर्षाले देशका विभिन्न भागमा बाढीपहिरोको जोखिम बढाएको छ ।
पहिरो, खोलाको लेदो र ढुंगामाटो सडकमा थुप्रिँदा पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । मुख्य राजमार्ग नै ठप्प भएपछि यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा माथिबाट पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो झरेपछि दुवैतर्फको यातायात रोकिएको हो ।
त्यस्तै, काभ्रेमा बीपी राजमार्ग पनि अवरुद्ध छ । बिहान ४ः५५ बजेदेखि रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसी क्षेत्रमा खहरेखोलाबाट ढुंगामाटोसहितको लेदो सडकमा आएपछि यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ ।
सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा पनि सडक माथिबाट खसेको सुक्खा पहिरोले बाटो बन्द भएको छ । मध्यपहाडी राजमार्गको खोटाङ खण्डसमेत अवरुद्ध भएको छ ।
काठमाडौं उपत्यकामा समेत वर्षाको असर देखिएको छ । ललितपुरको बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्डमा पानीको बहाव बढेपछि आवागमन रोकिएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२ बल्खुस्थित सुन्दरीघाट क्षेत्रमा पानीको बहाव बढ्दा करिडोरको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
उता, कालीगण्डकी करिडोरका विभिन्न खण्डमा पहिरो खसेर यातायात प्रभावित भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा लेदोसहितको पहिरो सडकमा थुप्रिएपछि बाटो बन्द भएको छ । पाल्पाको रामपुर नगरपालिका–१ कासिबन क्षेत्रमा पनि माथिबाट ढुंगासहितको पहिरो खस्दा कालीगण्डकी करिडोरको पक्की सडक पूर्ण अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यसैगरी, मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ ।
वर्षा जारी रहेकाले अवरुद्ध सडकखण्डमा थप पहिरो खस्ने र खोलामा पानीको बहाव बढ्ने जोखिम कायमै छ ।
यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्नु आवश्यक देखिएको छ ।
