नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरू(तस्वीरहरू)
काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले अब निःशुल्क यात्रा गर्न नपाउने भएका छन्।
आइतबार राति १२ बजेदेखि सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु गरिएको छ। कात्तिक १५ देखि लागू हुने व्यवस्थाअनुसार सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनले छुट्टाछुट्टै दरमा शुल्क बुझाउनुपर्नेछ।
नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरणअनुसार दस्तुर निर्धारण गरिएको हो।
निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। ठूला सवारीसाधनका हकमा भने सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर लाग्नेछ।
सुरुवाती चरणमा नगद र क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरेर स्वचालित रूपमा शुल्क काटिने व्यवस्था मिलाउने तयारीसमेत भइरहेको आयोजना प्रमुख नेपालले बताएका छन्।
सुरुङमार्गमा सेवा प्रदायक कम्पनीका कर्मचारी खटाएर दस्तुर उठाइनेछ। यसरी संकलन भएको रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ। शुल्क संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन्।
सुरुङमार्ग सञ्चालनमा आएपछि छिटो र सहज यात्राको अपेक्षा गरेका चालक तथा यात्रुले अब त्यसको प्रयोगबापत थप रकम खर्चिनुपर्ने भएको छ। नागढुङ्गा हुँदै काठमाडौं ओहोरदोहोर गर्ने सवारीसाधनका लागि यो नयाँ शुल्क व्यवस्था लागू भएको छ।















