`

रवि-बालेन–बेनलाई जेठो, माइलो र साइलो’ भन्दै महेश बस्नेतले भने- देश बर्बाद हुँदैछ

Nepal One HD १६ कार्तिक २०८३ २३:३४
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्‍नेतले प्रधानमन्त्री बालेन शाह, उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन र (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

पत्रकार पक्राउ र सञ्‍चारमाध्यममा प्रहरी परिचालनको विरोध चर्किरहेका बेला प्रधानमन्त्री बालेन र उनका राजनीतिक सल्लाहकार बेनले पत्रकारहरूप्रति चेतावनीपूर्ण अभिव्यक्ति र व्यंग्य गरेका थिए । त्यसप्रति प्रतिक्रिया जनाउँदै बस्नेतले तीनै जनालाई नाता र क्रमसँग जोडेर कटाक्ष गरेका हुन् ।

बस्नेतले रास्वपा सभापति लामिछानेलाई ‘जेठो’ भन्दै भनेका छन्, ‘जेठो भन्छ, १२ भाइ पत्रकारले देश डुबाए।’

त्यस्तै, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनलाई ‘साइलो’ भन्दै उनले प्रश्न गरेका छन्, ‘२८ जनाभित्र नपर्ने के पत्रकार ?’

प्रधानमन्त्री बालेनलाई ‘माइलो’ को संज्ञा दिँदै बस्नेतले थप व्यंग्य गरेका छन्, ‘कुपण्डोल जाने पो पत्रकार, अरू त कलाकार !’

पत्रकारमाथि सरकारको व्यवहार र प्रधानमन्त्री तथा उनका सल्लाहकारका अभिव्यक्तिमाथि आलोचना भइरहेका बेला बस्नेतले राज्यको शक्ति प्रयोग गरेर आलोचनात्मक आवाज दबाउन खोजिएको आरोपसमेत लगाएका छन् ।

उनले राज्यको प्रहरी प्रशासन दुरुपयोग गर्ने, आलोचनात्मक चेत राख्ने नागरिकलाई धरपकड गर्ने र संस्थाहरूलाई कमजोर बनाउने प्रवृत्तिले देश बर्बाद हुँदै गएको टिप्पणी गरेका छन् ।

बस्नेतले प्रेस स्वतन्त्रतालाई मजाकको विषय बनाउन नहुने भन्दै पत्रकारितालाई स्वार्थको चस्माबाट नभई स्वतन्त्रता, निष्पक्षता र जवाफदेहिताको दृष्टिकोणबाट हेर्न आग्रह गरेका छन् ।

‘राज्यको प्रहरी प्रशासन दुरुपयोग गर्ने, आलोचनात्मक चेत राख्ने नागरिकलाई धरपकड गर्ने, संस्थाहरूलाई कमजोर बनाउने र प्रेस स्वतन्त्रतालाई मजाक बनाउने प्रवृत्तिबाट देश बर्बाद हुँदैछ,’ बस्नेतको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *