बाढीग्रस्त फोर्सेमा सन्नाटा, चाडपर्वले छोएको छैन पीडितलाई (फोटो-फिचर)
पर्वत । कालिगण्डकी नदीमा आएको बाढीले घरबारविहीन बनाएका पर्वतको फोर्सेवासीलाई यस वर्ष दसैँ र तिहार दुवैले छोएनन् । बाढीले बस्ती नै उजाडेपछि कुनै बेला चहलपहल हुने फोर्से बजार अहिले सुनसान छ । पीडितका घरमा न चाडपर्वको उमङ्ग छ, न भविष्यको भरोसा ।
गत असोज ११ गते आएको बाढीले जलजला गाउँपालिका–८ स्थित फोर्से बजारका ७५ घर तथा टहरा बगाएको थियो । करिब तीन सय स्थानीय प्रभावित भए । बाढीले घरजग्गा र सम्पत्ति बगाएपछि कतिपय पीडित आफन्तको शरणमा पुगेका छन् भने केहीले डेरा भाडामा लिएर बस्न थालेका छन् ।
बाढीपछि बजारमाथि टेन्टमा आश्रय लिएका पीडित चिसो बढेसँगै त्यहाँबाट पनि विस्थापित हुन थालेका छन् । उच्च जोखिममा रहेका २७ घरका बासिन्दाले भने घर मर्मत गरेर बस्न थालेका छन् । तर, घरमा फर्किए पनि उनीहरूको मनमा त्रास हटेको छैन । राति निदाउँदा फेरि बाढी आएर बगाउने हो कि भन्ने डरले सताइरहन्छ ।
बाढीले घरसँगै सम्पत्तिसमेत बगाएपछि टीकाराम क्षेत्रीको परिवार अहिले आफन्तको घरमा आश्रित छ । घरका भाँडाकुँडा, लत्ताकपडादेखि दैनिक जीवन चलाउने सबै सामग्री बाढीले बगाएको उनले सुनाए ।
‘घर मात्रै होइन, हाम्रो सबै सम्पत्ति बाढीले लग्यो । अहिले सिंगो परिवार आफन्तको घरमा बसेका छौँ,’ उनले दुःखेसो पोखे, ‘दसैँ आयो, गयो । फेरि तिहार आयो । साना छोराछोरीले मिठो खान र नयाँ लुगा लगाउन खोज्छन् । तर, पैसा छैन । कहाँबाट ल्याएर उनीहरूको इच्छा पूरा गर्ने ?’
चाडपर्वको मुखमा घरबारविहीन हुनुपर्दाको पीडा क्षेत्रीको परिवारमा मात्रै सीमित छैन । चन्द्राकुमारी फगामी मगर पनि बाढीपछि टेन्टमा बसेकी थिइन् । चिसोका कारण बिरामी पर्न थालेपछि उनले बजारकै एउटा घरमा कोठा भाडामा लिनुपर्यो । उनको घरको आधाभन्दा बढी भाग बाढीले बगाएको छ ।
‘अब कहाँ बस्ने, कहाँ जाने ? भएको यही एउटा घर थियो, त्यही पनि बाढीले बगाइदियो । हाम्रो त एक टुक्रा जमिन पनि छैन,’ उनले आँसु झार्दै भनिन् ।
उमेर ढल्किँदै गएको र काम गरेर गुजारा चलाउनसमेत कठिन भएको बताउँदै उनले सरकारले बस्नका लागि सानो घर बनाइदिए अरू केही नचाहिने बताइन् । अहिले विभिन्न संघसंस्थाले दिएको खाद्यान्नको भरमा गुजारा चलिरहेको छ ।
अर्का पीडित रामप्रसाद सुवेदीको गुनासो पनि उस्तै छ । बाढीपछि व्यक्ति र विभिन्न संस्थाबाट राहत पाए पनि सरकारबाट अहिलेसम्म कुनै सहयोग नपाएको उनले बताए । पुरानो बजारको आधाभन्दा बढी क्षेत्र बगाउँदा सयौँ नागरिकको बिचल्ली भएको अवस्थामा राज्यले दीर्घकालीन व्यवस्थापनमा ध्यान नदिएको उनको आरोप छ ।
बाढी गएको ४० दिन बितिसक्दा पनि फोर्सेवासीको पुनःस्थापनाको टुंगो लागेको छैन । अस्थायी आश्रय छाडेर कोही डेरामा पुगेका छन्, कोही आफन्तको घरमा । केही जोखिमपूर्ण घरमै फर्किएका छन् । तर, उनीहरू सबैको एउटै प्रश्न छ– बगाएको घर र उजाडिएको बस्तीको पुनर्निर्माण कहिले हुन्छ ?
यस वर्ष फोर्सेवासीका लागि दसैँ र तिहार पात्रोमा मात्रै आए । विपत्तिले खोसेको घर, सम्पत्ति र खुसी फर्काउने सरकारी पहलको भने उनीहरू अझै प्रतीक्षामा छन् ।





















