`

‘म सभापति नै छु, मलाई हटाइएको छैन, मैले महाधिवेशन पनि गराएको छैन’ – देउवा

Nepal One HD २२ कार्तिक २०८३ १९:०४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको दाबी गरेका छन्।

देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै उनले नियमित महाधिवेशनपछि मात्रै नेतृत्व परिवर्तन हुनुपर्ने आफ्नो धारणा रहेको बताए। साथै, यस विषयमा अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै १८ करोड रुपैयाँको आर्थिक लेनदेनमार्फत पार्टी किन्न खोजिएको आरोपसमेत लगाए।

उनले भने, ‘काठमाडौँ जिल्लाको जो अधिवेशन भइरहेको छ, यो अत्यन्तै महत्त्वपूर्ण छ। अब मैले नबोली हुँदैन। यो विशेष महाधिवेशनको सम्बन्धमा मैले बोल्नैपर्ने कुरा के छ भने सुरुमा विशेष महाधिवेशन भएको बेला सुवर्णशमशेर सभापति हुनुहुन्थ्यो, उहाँले गराउनुभएको हो। बीपी कोइराला सभापति नभए पनि उहाँ पनि समर्थक हुनुहुन्थ्यो विशेष महाधिवेशनमा।’

देउवाले आफू सभापति रहेका बेला पनि विशेष महाधिवेशन विस्थापन गर्न नहुने धारणा राखेको बताए । उनले गगन थापालाई नियमित महाधिवेशनपछि मात्रै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउन सुझाव दिएको उल्लेख गरे ।

उनले भने, ‘यस बेला सभापति म थिएँ । मैले यस विशेष महाधिवेशनलाई पनि विस्थापन गर्न हुँदैन भनेको थिएँ । मैले गगनजीलाई के भनेको थिएँ भने, हेर्नुस्, नियमित महाधिवेशन सुरु गरौँ । सल्लाहअनुसार डेट तोकेर काम अगाडि बढाउनुस् । कार्यभार सम्हाल्ने, मैले पुरै जिल्ला डेट जारी गरिदिएँ, उहाँलाई कुरा गर्नुस्, यस्तो नगरौँ भन्दाखेरि विधानको प्रक्रियाबाट महाधिवेशन सुरु भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *