१७ दिनमै ‘कबड्डी-५’ को कमाइ १२ करोड नाघ्यो
काठमाडौं। कबड्डी–५ ले प्रदर्शनको १७ दिनमै १२ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ।
छोटो समयमै यति ठूलो व्यापार गरेपछि फिल्मले बक्स अफिसमा राम्रो प्रभाव जमाएको छ।
चलचित्र विकास बोर्डका अनुसार फिल्मको दैनिक औसत कमाइ झण्डै एक करोड रुपैयाँ पुगेको छ।
दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ ले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ।
फिल्ममा दयाहाङसँगै मिरुना मगर, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ र माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) फिल्मका निर्माता हुन्।
यद्यपि, चलचित्र ‘रामायण’ प्रदर्शनमा आएपछि भने ‘कबड्डी–५’ का शो संख्या घटेका छन्।
