एनपीएलको २२औँ खेलमा पोखरा र विराटनगर आमनेसामने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स आमनेसामने भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । पोखराले लगातार दोस्रो डे-गेममा टस जित्दै ब्याटिङ रोजेको हो ।
एनपीएलको २२औँ खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ यात्रालाई बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।
आजको खेलका लागि विराटनगरले आफ्नो प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन गरेको छ । आन्द्रे रसेल र शुभम रञ्जानेको स्थानमा इसुरु उडाना र चरिथ असालंकालाई टोलीमा समेटिएको छ । त्यस्तै, नारायण जोशीको स्थानमा प्रतिश जिसीले अवसर पाएका छन् ।
त्यस्तै, पोखराले पनि टोलीमा दुई परिवर्तन गरेको छ । विवेक रानामगरको स्थानमा सागर ढकाल र महेदी हसनको स्थानमा रमेश मेन्डिसलाई पहिलो रोजाइमा राखिएको छ ।
यस खेलसँगै विराटनगरका इसुरु उडाना र पोखराका रमेश मेन्डिसले एनपीएलमा डेब्यु गरेका छन् ।
खेलको पछिल्लो अवस्थाअनुसार पोखराले ७.१ ओभरमा तीन विकेट गुमाएर ४९ रन बनाएको थियो ।
पोखराले यसअघि नोभेम्बर ९ मा कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो । यता विराटनगर भने आफ्नो पछिल्लो खेलमा काठमाडौं गोर्खाजसँग ९ विकेटले पराजित भएको थियो ।
साथै, आजको खेलमा जित निकाल्दै पोखरा लगातार दोस्रो जितको खोजीमा छ भने विराटनगर अघिल्लो हारको निराशा बिर्साउँदै पुनरागमन गर्ने प्रयासमा छ ।
