अनमोलको ‘बाटुलो जून’ देशभर प्रदर्शनमा
काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’ बिहीबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । प्रदर्शनको पहिलो दिन नै फिल्मले दर्शकको राम्रो साथ पाएको छ । काठमाडौं उपत्यकासहित चितवन, बुटवललगायतका सहरमा फिल्म हेर्न दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ ।
बिहानका कतिपय शो हाउसफुल भएका छन् भने अन्य शोमा पनि दर्शकको चाप देखिएको छ । दिउँसो र बेलुकाका शोमा समेत दर्शकको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ । अग्रिम टिकट बुकिङमा पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।
प्रदर्शनअघि नै चर्चामा रहेको ‘बाटुलो जून’ले मल्टिप्लेक्सहरूमा समेत राम्रो शो पाएको थियो । पहिलो दिन हलमा देखिएको दर्शकको उपस्थितिले फिल्मप्रतिको उत्सुकता प्रदर्शन गरेको छ । अब फिल्मले आगामी दिनमा कस्तो व्यावसायिक यात्रा तय गर्छ भन्ने कुरा दर्शकको प्रतिक्रियामा निर्भर रहनेछ ।
फिल्मको प्रदर्शनसँगै अभिनेता अनमोल केसीको जुँगे लुक्सले पनि दर्शकको ध्यान खिचेको छ । सधैँ क्लिन सेभमा देखिने अनमोल यसपटक फरक अवतारमा पर्दामा देखिएका छन् । उनको यही लुक्स पछाडिको एउटा रोचक प्रसंगसमेत सार्वजनिक भएको छ ।
अनमोलले फिल्ममा अभिनय गर्नुअघि निर्देशकसमेत रहेका आफ्ना बुबा भुवन केसीसँग जुँगा पाल्ने सर्त राखेका थिए । पटकथा पढेपछि उनले भुवनलाई कि आफूले जुँगा काट्नुपर्ने, कि आफूलाई जुँगा पाल्न दिनुपर्ने बताएका थिए । भुवनले उनको सर्त स्वीकार गरेपछि मात्रै अनमोल फिल्ममा अभिनय गर्न तयार भएका थिए ।
अनमोलले ठूलो पारिश्रमिक वा अन्य सुविधाको सर्त राखेका थिएनन् । फिल्ममा आफूले निर्वाह गर्ने पात्रलाई विश्वसनीय बनाउन र भुवन केसीको युवा अवस्थासँग मिल्दोजुल्दो देखिन उनले जुँगा पाल्ने निर्णय गरेका थिए ।
त्यस्तै, ट्रेलर र गीतमा देखिएको अनमोलको लुक्सले पनि उनले भुवनको युवा अवस्थाको भूमिका निर्वाह गरेको संकेत गर्छ । उनको जुँगे अवतार अहिले फिल्मको चर्चाको एउटा प्रमुख आकर्षण बनेको छ ।
‘बाटुलो जून’मा अनमोल पहिलोपटक ग्रामीण परिवेशको कथा र गाउँले चरित्रमा प्रस्तुत भएका छन् । भुवन केसीको निर्देशन रहेको फिल्ममा अनमोलसँगै नवअभिनेत्री प्रिन्सी खतिवडा मुख्य भूमिकामा छिन् । फिल्ममा भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना र लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ ।
बेल्जियममा बस्दै आएकी अभिनेत्री गरिमा पन्त पनि यही फिल्ममार्फत अभिनयमा फर्किएकी छन् । फिल्मको कथा वि.सं. २०४० को दशकको नेपाली सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित छ । तत्कालीन समयको प्रेम, सामाजिक अवस्था र जीवनशैलीलाई पर्दामा उतारिएको निर्माण पक्षले जनाएको छ ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सहनिर्माता छन् । फिल्मको छायांकन राजेश श्रेष्ठले गरेका हुन् भने सम्पादन कृष्ण भण्डारीको छ ।
साथै, पहिलो दिन हलमा देखिएको दर्शकको उपस्थितिले ‘बाटुलो जून’प्रति उत्सुकता देखाएको छ ।
