को बन्दैछ एआईजी?
काठमाडौं । नेपाल प्रहरीमा एक एआईजी पदका लागि झन्डै १० जना डीआईजीबीच प्रतिस्पर्धा सुरु भएको छ।
बढुवाका लागि वरिष्ठता, कार्यसम्पादन र विगतको बढुवा सूचीलाई आधार बनाएर आ–आफ्नो दाबेदारी प्रस्तुत भइरहेका बेला यसपटक कसले एआईजीको फुली लगाउला भन्ने चासो बढेको छ।
अहिले रिक्त रहेको एउटा पदमा बढुवा हुन डीआईजीहरूबीच प्रतिस्पर्धा छ। तर, यो प्रतिस्पर्धाको महत्व एउटा पदमा सीमित छैन। अहिले एआईजी बन्ने अधिकृतमध्येबाटै आगामी प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने सम्भावना रहेकाले यसलाई भावी प्रहरी नेतृत्वको दौडसँग जोडेर हेरिएको छ।
एआईजी बढुवाको चर्चामा भूपेन्द्र खत्री, विश्व अधिकारी, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अभिनारायण काफ्लेलगायत छन्। उनीहरूभन्दा अघिल्लो ब्याचका गोविन्द थपलिया, दिनेशकुमार आचार्य, अरुण पौडेल र राजेन्द्रप्रसाद भट्ट पनि प्रतिस्पर्धामा छन्।
यसपटक एआईजी बढुवामा सबैभन्दा बढी चासो भूपेन्द्र खत्री र विश्व अधिकारीलाई लिएर देखिएको छ। प्रहरी निरीक्षकको ११२औँ ब्याचका यी दुई अधिकृतबीच एसपी र एसएसपी बढुवादेखि नै प्रतिस्पर्धा हुँदै आएको हो।
एसपी र एसएसपी बढुवामा विश्व अधिकारी पहिलो नम्बरमा थिए भने भूपेन्द्र खत्री दोस्रो नम्बरमा थिए। तर, एसएसपी रहँदा भदौ २३ र २४ गतेका घटनाका समयमा काठमाडौं प्रहरी प्रमुख रहेका अधिकारी डीआईजी बढुवाको प्रारम्भिक सूचीमा परेनन्। त्यसपछि खत्री पहिलो नम्बरमा बढुवा भए। अधिकारी भने केही सातापछि डीआईजीमा बढुवा भए।
अहिले दुवै डीआईजी भइसकेपछि एआईजी बढुवामा उनीहरूको प्रतिस्पर्धालाई फेरि चासोका साथ हेरिएको छ। विगतका बढुवा सूचीमा अगाडि रहेका अधिकारी र डीआईजीमा पहिलो नम्बरमा बढुवा भएका खत्रीमध्ये यसपटक कसले अवसर पाउँछ भन्ने चासो प्रहरीभित्र छ।
एआईजी बढुवामा खत्री र अधिकारीको मात्रै चर्चा छैन। उनीहरूभन्दा अघिल्लो ब्याचका गोविन्द थपलिया, दिनेशकुमार आचार्य, अरुण पौडेल र राजेन्द्रप्रसाद भट्ट पनि प्रतिस्पर्धामा छन्।
त्यस्तै, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अभिनारायण काफ्लेको नाम पनि चर्चामा छ। यसले एक पदका लागि प्रतिस्पर्धा थप पेचिलो बनाएको छ।
बढुवामा कसलाई अगाडि सार्ने भन्ने विषयमा वरिष्ठता, कार्यसम्पादन र संगठनमा निर्वाह गरेको भूमिकाले महत्व राख्नेछ। अन्तिम निर्णय भने बढुवा समितिको सिफारिस र सरकारको निर्णयबाट हुनेछ।
अहिले एउटा एआईजी पद खाली छ। तर, आगामी पुस ५ गते थप पाँच एआईजी अनिवार्य अवकाशमा जाँदैछन्। ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानेमा सिद्धिविक्रम शाह, उमा चतुर्वेदी, सुशील सिंह राठौर, हिमालयकुमार श्रेष्ठ र डम्बर विक छन्।
नेपाल प्रहरीमा प्राविधिकसहित नौ एआईजीको दरबन्दी छ। अहिले रिक्त रहेको पदमा बढुवा भएपछि पुस ५ मा थप पाँच पद खाली हुनेछन्। त्यसपछि एआईजी तहमा एकैपटक ठूलो संख्यामा बढुवा गर्नुपर्ने अवस्था आउनेछ।
यसैले अहिलेको एउटा पदमा हुने बढुवालाई आगामी चरणको बढुवासँग पनि जोडेर हेरिएको छ। अहिले अवसर पाउने र पुसमा हुने बढुवामा समेटिने अधिकृतबीच भावी नेतृत्वको प्रतिस्पर्धा पनि अघि बढ्नेछ।
हालका आईजीपी डा. मनोज केसी २०८४ चैत १७ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि नेपाल प्रहरीको नेतृत्व नयाँ आईजीपीले सम्हाल्नेछन्।
अहिले एआईजी बन्ने अधिकृतमध्येबाटै भावी आईजीपी चयन हुने सम्भावना भएकाले वर्तमान बढुवाले त्यसबेलाको नेतृत्वको समीकरणमा समेत प्रभाव पार्नेछ। विशेषगरी ११२औँ ब्याचका भूपेन्द्र खत्री, विश्व अधिकारी, सानुराम भट्टराई र शेखर खनालको बढुवा अवस्थालाई चासोका साथ हेरिएको छ।
