`

खाद्य डिपोमा चामल अभाव

मुगु – जिल्लास्थित सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । वार्षिक खाद्यान्न कोटा एक हजार पाँच सय मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् ।

“गमगढीस्थित खाद्यव्यवस्था तथा व्यापार लिमिडेटबाट एक ट्र्याक्टर चामल सोरुकोट डिपोमा पुग्नेबित्तिकै स्थानीयले चामल लैजान्छन् । गोदाममा चामल जगेडा रहँदैन, गमगढीबाट आउनेबित्तिकै बिक्री भइहाल्छ”, डिपोका कार्यालय सहायक सिंह रोकायाले भन्नुभयो ।

दिनमा ५० देखि एक सय क्विन्टल बिक्री हुँदा गमगढीबाट ढुवानी भएको चामल उपभोक्तालाई पुर्‍याउँनै धौधौ हुने गरेको उहाँको भनाइ छ । “डिपोमा दुई बोरा चामल लिन आएका स्थानीयले एक बोरासमेत नपाउने अवस्था छ”, रोकायाले भन्नुभयो । आर्थिक अवस्था कमजोर भएका परिवारका घरमा कार्तिके अन्नबाली चैत, वैशाखमा नै सकिने र गहुँ, जौलगायत बाली नपाक्दासम्म खाने अन्न नभएपछि खाद्यमा चामल किन्न धाउने गरेको उहाँले बताउनुभयो ।

सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख पुष्कर भामले बताउनुभयो । आउँदो आर्थिक वर्षदेखि कोटा वृद्धिको माग गरेको उहाँको भनाइ थियो । “अन्न अभावका कारण भिई, नार्थपु, जिमा, सिप, फोतु, नेरलगायत बस्तीका स्थानीय हिजोआज चामल लिन सोरुकोट डिपो पुग्छन्”, भामले भन्नुभयो । उहाँका अनुसार सोरुका केही बस्तीमा गत असोज १९ देखि २३ मा आएको बाढीपहिरोले अन्नबाली नष्ट गरेको थियो ।

संसद बैठक : किसानका समस्यादेखि नाका खुलाउने विषय उठान

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरूले किसानका समस्या, मौलिक हकको कार्यान्वयन, पूर्वाधार निर्माणमा भएको ढिलाइ, तराई क्षेत्रमा डुबान, नाका खुलाउने समस्यालगायत विषय उठान गर्नुभएको छ ।

सांसद अच्युतप्रसाद मैनालीले यही जेठ २ र ४ गतेको हावाहुरीले बाराको निजगढमा पाँच सय बिगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । उहाँले गत वर्ष पनि पीडित भएका किसानलाई बीमा कम्पनीले बीमा रकम उपलब्ध नगराएको भन्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । यस्तै सिम्रौनगढ पुरातात्विक महत्वको स्थान भएकाले विश्वसम्पदा सूचीमा राख्नका लागि पहल गर्न मैनालीले माग गर्नुभयो । 

सांसद गोकुलप्रसाद बास्कोटाले गत साताको वर्षाका कारण काभ्रेपलाञ्चोकमा बाली र तरकारी नष्ट भएकाले बाली बीमा र तटबन्धको प्रबन्ध गर्न माग गर्नुभयो । 
       
सांसद अजयकुमार चौरसियाले नेपालको अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको उल्लेख गर्नुहुँदै न्यून आय भएका नागरिकले शिक्षा, स्वास्थ्यलगायत मौलिक हक पाउन नसकेको बताउनुभयो । “गरिब झन् गरिब हुने अवस्था छ । देशले गरिबी हटाउनका लागि शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको अनिवार्य व्यवस्था गर्नुपर्छ । सार्वजनिक विद्यालयमा गुणस्तरीय पठाइ नहुने, सरकारी अस्पतालमा पर्याप्त औषधि उपाचार नहुने अवस्थाको अन्त्य गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद अम्मरबहादुर रायमाझीले सामुदायिक विद्यालयमा देखिएका समस्याबारे ध्यानाकर्षण गराउनुभयो । सामुदायिक विद्यालयका शिक्षक न्यून सेवासुविधा र अनुदानका भरमा काम गरिरहेका उल्लेख गर्दै उहाँले अब बन्ने शिक्षा ऐनमा सेवासुविधा, दरबन्दीबारे स्पष्टरुपमा खुलाउन माग गर्नुभयो ।
       
सांसद अनिता देवीले जग्गा कित्ताकाँट खुलाउने सरकारी निर्णय कार्यान्वयन गरिनुपर्ने धारणा राख्नुभयो । मन्त्रिपरिषद्को वैशाख ५ गतेको बैठकले भू–उपयोगसम्बन्धी नियमावली, २०७९ लाई स्वीकृत गर्दै कित्ताकाँट खुला गरेको र सोही नियमावलीअनुसार अंशबण्डा, जग्गाको कित्ताकाँट, जग्गाको कारोबार खुलाइएको भए पनि नागरिकलाई अझै त्यो सुविधा पाउन समस्या रहेको उहाँले बताउनुभयो ।

सांसद अनिसा नेपालीले सरकारले उखु किसानलाई उत्पादनमा निश्चित प्रतिशत अनुदान दिने भनेर पटकपटक निर्णय गरे पनि उनीहरुले उत्पादनको मूल्य पाउन नसकेका बताउनुभयो । 

सांसद अमरेशकुमार सिंहले उखु किसानका समस्याबारे सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । “हामी उखुलाई नगदेबाली भन्छौँ, तर सरकारले त्यसलाई उधारो बाली बनाइदिएको छ । किसानले समयमा मल, बीउ र  सिँचाइको सुविधा पाउन सकेका छैनन् । किसानले उत्पादनको गरेको उखुसमेत सरकारले उधारोमा राख्छ”, उहाँले भन्नुभयो–“अनुदान तत्काल पाउनुपर्छ ।”
       
सांसद कुसुमदेवी थापाले पहाडी क्षेत्रमा बाँदरले किसानको बाली नष्ट गरिरहेकामा यसलाई नियन्त्रणका लागि सम्बन्धित निकायबाट पहल गरिनुपर्ने बताउनुभयो ।

सांसद ऋषिकेश पोखरेलले मोरङका सात ठूला नदीमा हरेक वर्ष क्षति हुने गरेको उल्लेख गर्दै तटबन्धको व्यवस्था गर्न माग गर्नुभयो । 

सांसदद्वय किरणकुमार साह र जुलीकुमारी महतो महासेठले तराईका क्षेत्रमा वर्षायाममा हुने बाढीको समस्या न्यूनीकरणका लागि पहल थालिनुपर्ने बताउनुभयो । तराई क्षेत्रमा वर्षायाममा हुने डुबानको समस्यामा समाधानका लागि नदीहरूको तटबन्धका लागि उहाँहरुले सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउनुभयो ।
       
सांसद अमरबहादुर थापाले दैलेखको लाँकुरी भन्ने ठाउँमा केही दिनअघि चट्याङ परेर एकै घरका चार जना घाइते भएको र आठबिस नगरपालिकामा बनको डढेलोमा परी घाइते भएकालाई सरकारले तत्काल औषधि उपचारको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सांसद अमृतलाल राजवंशीले नागरिकताको समस्या उठाउनुभयो । अहिले करिब १४ लाख व्यक्ति नागरिकताविहीन अवस्थामा रहेको दाबी गर्नुहुँदै नागरिकताविहीन व्यक्तिले रोजगार पाउन नसकेको बताउनुभयो ।
       
सांसद अर्जुन नरसिंह केसीले नुवाकोट दरबार भूकम्पपछि पुनःनिर्माण र मर्मतसम्भार हुन नसकेका कारण अहिले पनि जीर्ण अवस्थामा रहेकाले त्यसको पुनःनिर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । नुवाकोट बस्ती विकास आयोजना पहिल्यै सुरु भएकामा हालसम्म त्यसको प्रभावकारिता देखिन नसकेको र खानेपानीकोसमेत समस्या रहेको उहाँको भनाइ छ ।
       
सांसद अशोककुमार चौधरीले टीकापुर घटनाको अध्ययन गरेर तयार पारिएको लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरिनुपर्ने माग राख्नुभयो । सांसद आस्माकुमारी चौधरीले भूमिहीन र कमैयाको समस्या अझै कायम रहेकाले सरकार त्यसमा गम्भीर हुनुपर्ने बताउनुभयो ।
       
त्यसैगरी सांसद असीम शाह नक्कली भुटानी शरणार्थी प्रकरणको गम्भीर छानबिनको माग राख्नुभयो । सांसद गोमा लाभ सापकोटाले पनि भ्रष्टाचारका मुद्दामा ठूला नेता मुछिनु लाजमर्दो विषय रहेकाले यस्ता घटनाको गम्भीर छानबिन गरिनुपर्ने बताउनुभयो ।
       
सांसद ईश्वरबहादुर रिजालले दोलखा जिल्लाबाट चीनको तिब्बत नाका जोड्नेगरी सडक निर्माणका लागि यसै वर्षको बजेटमार्फत व्यवस्था गरिनुपर्ने बताउनुभयो । अर्का सांसद उर्मिला थेबेले ताप्लेजुङको ओलाङचुङ्गोला नाका अझै खुल्न नसकेका कारण त्यस क्षेत्रका बासिन्दा समस्यामा परेको बताउनुभयो ।

त्यसैगरी, सांसद ईश्वरी घर्तीले ब्रिटिस सैनिकका रुपमा कार्यरत रहँदा दुवै खुट्टा गुमाएका रोल्पाको थवाङका हरि बुढामगरले सगरमाथा आरोहण गरेकामा सरकारले उहाँलाई विशेष सम्मान गर्नुपर्ने बताउनुभयो । अर्का सांसद कालुराम राईले अपाङ्गता भएका व्यक्तिको सीप, क्षमताबारे सरकारको नीति तथा कार्यक्रममा कुनै प्रावधान नभएकोबारे ध्यानाकर्षण गराउनुभयो । अपाङ्गता भएका व्यक्तिको सिर्जनालाई कदर गर्ने नीति सरकारले लिनुपर्ने उहाँको भनाइ छ ।
       
सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी रहेकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी सांसद चित्रबहादुर केसीले नेपाललाई हिन्दूराज्य बनाउनका लागि वकालत गर्न भारतबाट पैसा आएको भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने र नेपालमा भइरहेको इसाइकरण रोकिनुपर्ने बताउनुभयो ।
       
सांसद गगनकुमार थापाले विद्युतीय सवारीसाधन यात्री नेपालमा दर्ता भए पनि अहिले फेरि समस्या देखिएको बताउनुभयो । “सरकारले भ्याटबिल तिरेको ३५ दिनभित्रमा दर्ता हुनुपर्ने भन्ने व्यवस्था गरेकामा त्यसले समस्या देखिएको छ । हाम्रा यस्तै नीतिका कारण हामी आफैँ लज्जित हुनुपर्ने अवस्था छ । स्वदेशी उत्पादन बढाउँछु भनेर अघि बढेको सरकारले यी विषयमा गम्भीर हुन जरुरी छ”, थापाले भन्नुभयो । अर्का सांसद कृष्णकुमार श्रेष्ठले पुराना उद्योग सञ्चालनका लागि पहल गरिनुपर्ने र वीरगञ्ज कृषि औजार कारखानाको व्यवस्थापनमा थप जिम्मेवार हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गणेश पराजुलीले बर्सेनि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्या बढिरहेकामा ठूलो जनशक्तिसँगै धनराशि पनि बाहिरी रहेकाले त्यसको निगरानीका लागि तथ्याङ्क प्रणाली बनाइनुपर्ने धारणा राख्नुभयो । स्वदेशबाट फर्किनेलाई उद्यमशील बनाउन सरकारले कुनै योजना ल्याउनुपर्नेमा पनि उहाँको जोड छ ।

सांसद चन्दा कार्की भण्डारी स्वास्थ्यको हक संविधान प्रदत्त मौलिक अधिकार रहे पनि नागरिकले अझै त्यसको प्रत्याभूत गर्न नसकेको बताउनुभयो । महिलामा हुने पाठेघरको मुखको क्यान्सरको समस्याबारे सरकारले कुनै स्पष्ट नीति लिनुपर्ने बताउनुभयो । चन्द्रबहादुर विश्वकर्माले पुष्पलाल लोकमार्गअन्तर्गत रुकुम र जाजरकोट जोड्ने पुल निर्माणमा ढिलाइ हुनुका कारणबारे सरकारको जवाफ माग्नुभयो । 

त्यस्तै सांसद ज्वालाकुमारी साह बारा जिल्लाका सडक कालोपत्र गर्नका लागि ठेक्का लिएका ठेकादार नै फरार रहेको उल्लेख गर्नुहुँदै यसबारे सम्बन्धित निकायको जवाफ संसदमार्फत माग्नुभयो ।

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ – राष्ट्रियसभामा सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।
     
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।
     
बैठकमा सञ्चारमन्त्री शर्माले ‘राष्ट्रपतिबाट यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल अघि बढेको हो ।
     
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएसँगै विभिन्न राजनीतिक दलका सांसदले आफ्नो धारणा राखिरहनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई ओलीको आग्रह- नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नुस्

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गर्नु भएको छ।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गर्नु भएको हो ।

उहाँले भन्नु भयो, ‘नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ भन्ने हामी भन्छौँ यो पुनर्लेखन गर्ने छुट दिन्छौँ । यो देशका निम्ति बनाउनुस्।’

प्रधानमन्त्री प्रचण्डलाई ओलीको प्रश्न : लिपुलेक,लिम्पियाधुराको खबर के छ ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले लिपुलेक लिम्पियाधुराको जमिन फिर्ता ल्याउन कुनै पहल नगरेको बताउनुभएको छ ।

आजको सँसद बैठकमा बोल्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रममा यस विषयमा कुनै उल्लेख नभएकोमा आपत्ती जनाउनुभएको छ ।

अध्यक्ष ओलीले विभिन्न सञ्चार माध्यममा कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा भौतिक संरचना बनाइरहेको खबर आएको बताउनुभएको छ । उहाँले केही दिनमा नै हुने भारत भ्रमणका क्रममा आफ्नो भूमी फिर्ता ल्याउने विषयमा आँखा जुधाएर कुरा गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै सोध्नुभएको ‘छ लिपुलेक,लिम्पियाधुराको खबर के छ ?’

कमीकमजोरी आफूले गरेर दोष अर्काको टाउकोतिर लगाउन मिल्दैन : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमीकमजोरी आफूले गरेर दोष अर्काको टाउकोतिर लगाउन नमिल्ने बताउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले संवाद, सहमति र सहकार्यको बाटोमा राष्ट्रिय राजनीतिलाई लानुपर्ने बताबताउनु भयो।

उहाँले भन्नु भयो, ‘अहिले प्रधानन्यायाधीश चाहियो कि चाहियो भनिराखेका छन्। यस्तो इम्प्रेसन दिन खोज्या छन् मानिलिऔँ प्रमुख प्रतिपक्षले गर्दाखेरि यो २३ महिना संवैधानिक परिषद्को बैठक किन बोलाइएन ? २३ महिना बैठक नबोलाउने एउटा प्रधान्यायाधीशमाथि महाभियोग लगाएर छाड्दिने, महाभियोगको प्रस्ताव निर्णयार्थ अगाडि जान नदिने, यस्तो बदनियतपूर्ण ढंगले काम गरेर अनि लोकतन्त्र हुन्छ ? यसरी समयमा काम हुन्छ।’

राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह

काठमाडौँ – पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ ।

आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीति पनि एक समाजसेवा हो । समाजसेवा भावले नै म राजनीतिमा प्रवेश गरेको हुँ र यसैमा क्रियाशील छु ।”

राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजसेवामा समर्पित हुन सकेमात्र देशको कल्याण हुने उहाँको भनाइ थियो । उहाँले थापाथली जनकल्याण परिवारले ज्येष्ठ नागरिक, बालबालिका, महिला र युवाको हित एवं विकासमा खेलेको भूमिकबारे प्रशंसासमेत गर्नुभयो ।

वार्षिक समारोहका अवसरमा जनकल्याण प्रतिभा पुरस्कारबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला कदरपत्रसहित नगर ५१ हजार राशिसहित सम्मानित गरियो । पुरस्कार ग्रहण गर्दै डा कोइरालाले भन्नुभयो, “मानव सेवा नै सर्वोत्तम सेवा हो । सबैलाई मानव सेवाप्रति जागृत हुन म आग्रह गर्दछु ।”

यसैगरी ५१ हजार राशिसहितको रु जनकल्याण अध्यात्मक सेवा पुरस्कार स्व डा स्वामी केशवानन्द गिरीलाई अर्पण गरियो । संस्थाले वार्षिक उत्सव समारोहका अवसरमा विभिन्न समाजसेवि, विद्यार्थी र सङ्घसंस्थालाई सम्मान गरेको छ । सो अवसरमा समाजसेवी सिर्जना सिंहले रु एक लाख र शारदा हुतराम वैद्य फाउण्डेशनका अध्यक्ष मीना वैद्य पाण्डेले रु २५ हजार संस्थालाई प्रदान गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष हिरालाल तण्डुकार, महासचिव महासचिव लक्ष्मण थापालगायतका वक्ताले संस्थाका गतिविधिका बारेमा प्रकाश पार्नुका साथै भावी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । संस्थाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक दिवासेवा सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिकको सम्मान, तीर्थाटन, सत्सङ्ग एवं विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

निःशुल्क उपचार लिएकाहरुको विवरण महानगरमा पठाउनु : प्रमखु शाह

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण प्रत्येक महिनाको १० गतेभित्र महानगरपालिकामा बुझाउन अस्पताललाई निर्देशन दिएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागले जारी गरेको सूचनालाई कार्यन्वयन गर्न आग्रह गर्दै महानगरप्रमुख बालेन शाहले लक्षित वर्गलाई १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराएको विवरण अस्पतालले टाँस गनुपर्ने र प्रत्येक महिना उक्त विवरण महानगरमा उपलब्ध गराउन निर्देशन दिनुभएको हो । “स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याई अनिवार्य निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ । यस व्यवस्थाबमोजिम अतिरिक्त लक्षित वर्गका विरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गर्न आग्रह गर्दछु । यो विवरण प्रत्येक महिनाको १० गतेसम्म महानगरमा पठाउनु पर्नेछ । यसरी विवरण नपठाए काठमाडौँ महानगरपालिकाबाट नियमानुसार कारवाही हुनेछ”, प्रमुख शाहले भन्नुभयो ।

यहि जेठ २ गते महानगरको स्वास्थ्य विभागले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पालना गर्न सूचना जारी गरेको थियो । जसअनुसार अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, वेवारिसे विरामीका लागि कूल शय्याको १० प्रतिशत शय्या निःशुल्क छुट्याउनपर्छ । यस्तै, विभागले जारी गरेको सूचनामा सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने, कर्मचारीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन र अस्पतालभित्रका चमेनागृहमा खाद्य गुणस्तर कायम राख्न सूचना जारी गरेको थियो ।
 

राजश्व उठाउनका लागि प्रधानमन्त्रीले दातृ निकायसँग गुहार माग्नु आफैंमा लज्जास्पद हो : केपी शर्मा ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको असफलताको दस्तावेजको रुपमा सरकारको नीति कार्यक्रम आएको बताएका छन् ।

संसदको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले राजश्व उठाउनका लागि प्रधानमन्त्रीले दातृ निकायसँग गुहार माग्नु आफैंमा लज्जास्पद भएको बताएका हुन् ।

राष्ट्रिय तथ्यांक कार्यलयले एक प्रकारको आर्थिक वृद्धिदर एकातिर देखाउने,अर्थमन्त्रीले अर्कोतिर देखाउने,प्रधानमन्त्रीले अर्कैतिर देखाउने कुनलाई पत्याउने भनेर प्रश्न गरेका छन् ।

अध्यक्ष ओलीले आफ्नो कालमा विश्वका १० वटा द्रुत आर्थिक विकास भएका देशमा उक्लिएकोे नेपाललाई गठबन्धनले नागपासा खेले झैं ९९ वटा दुईमा झारेको बताएका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि दुई महिनामै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभो : अध्यक्ष एमाले

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै सरकारको मुटु प्रत्यारोपण गरेको टिप्पणी गरेका छन्।

आइतबार आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले जनताले नीति तथा कार्यक्रमकै आधारमा सरकार गन्तव्य हेरेको हुने बताए।

उनले भने,‘ जनआकांक्षाको सम्बोधन र सरकारको गन्तव्य नै मार्गचित्र नै नीति तथा कार्यक्रम हो। एमालेको निर्णायक पहलमा सात दलको प्रधानमन्त्रीको प्रस्तावमा नियुक्त हुनुभएको प्रधानमन्त्रीज्यू। भलै दुई महिना नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। मुटु प्रत्यारोपण भइसकेपछि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रम को समर्थन गर्ने प्रयासका साथ मैले सुने र पढे। तर, नीति कार्यक्रम के उद्देश्य र गन्तव्यको लागि आएको छ रु मैले पहिल्याउने कोसिस गरे। तर, त्यस्तो छैन।’

नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

काठमाडौँ – प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८०-८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

दुवै खुट्टा नभएर पनि सगरमाथा आरोहण गर्ने हरि बुढालाई सरकारले सम्मान गरोस : ईश्वरी बुढामगर

काठमाडौं – नेकपा एमालेकी सांसद् ईश्वरी घर्ती मगरले सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई सम्मान गर्न सरकारसँग माग गर्नुभएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् घर्तीले दुवै खुट्टा नभइर पनि सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका हरिलाई सम्मान गर्न सरकारसँग माग गर्नुभयो ।

केही महिनाको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेर सोमबार काठमाडौं आउन लागेका हरिलाई विमानस्थलमै पुगेर स्वागत गर्न उहाँले माग गर्नुभयो ।

बुढामगर जेठ ५ गते दिउँसो सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । घुँडाभन्दा माथि दुवै गोडा काटिएका बुढामगर दुवै गोडा गुमाएका सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति हो ।

रास्वपाका सांसद् असिम शाहको प्रश्न : शरणार्थी प्रकरणमा प्रमुख तीन पार्टी बसेर टाकटुक पारेको गन्ध के हो ? 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सांसद् असिम शाहले भुटानी शरणार्थी प्रकरणमा तीन पार्टी बसेर टाकटुक मिलाएको गन्ध संसद्‌भरी फैलिएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले उक्त प्रकरणमा तीन दलले टाकटुक पारेको गन्ध देशभरी फैलिन थालेको भन्दै सोधे– त्यो गन्ध के हो ? 

उनले त्यसबारे जोडिएर फरार भएकी भनिएकी नेपाली कांग्रेसकी सांसद मञ्जु खाँडलाई सोधपुछ गरियो कि गरिएन भन्दै प्रश्न गरे ।उनले एमाले अध्यक्ष केपीशर्मा ओलीले जेठ ४ गते खोल्ने भनेको रहस्य आज खोल्ने कि नखोल्ने भन्ने प्रश्न पनि गरे ।

उखु किसानको समस्या तत्काल समाधान होस् : अमरेशकुमार सिंह

काठमाडौँ – सांसद अमरेशकुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको शून्य समयमा बोल्दै उनले अहिलेसम्म उनीहरुले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरे ।

उनले भने, “हामीले बच्चादेखि पढ्दै आएका थियौ कि उखु नगदेबाली हो,” प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सिंहले भने, “तर, पछिल्लो समय सरकारले उखुलाई उधारो बाली बनाइदियो ।”

उनले उखु किसानले बाली लगाउने समय आएको भन्दै बिनापैसा कसरी बाली लगाउने भनेर प्रश्न गरे ।

“आगामी असार साउनमा किसानले बाली लगाउनुपर्छ । पैसा नै नभएपछि कसरी बाली लगाउने ?,” सरकारलाई प्रश्न गर्दै सिंहले भने, “उखु किसानको समस्या तत्काल समाधान होस् ।”

प्राध्यापकलाई राजनीतिक दलको जिम्मेवारी दिइएकोमा आयोगको पत्राचार

काठमाडौँ – निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरु राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ । 

केही राजनीतिक दलले विश्वविद्यालयका प्राध्यापकहरुलाई केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाइएको भन्दै आयोगले पत्राचार गरेको हो । 

आयोगले सम्बन्धित राजनीतिक दललाई त्यसरी प्राध्यापकलाई जिम्मेवारी दिइएको हो वा होइन ? दिन मिल्ने हो वा होइन ? भन्ने व्यहोराको पत्र पठाएको छ । साथै विश्वविद्यालयलाई सम्बन्धित प्राध्यापकहरु राजीनामा दिएर दलीय जिम्मेवारी गएको हो वा होइन भनी प्रश्न सोधेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ विपरीत प्राध्यापनमा संलग्न व्यक्तिलाई सदस्यता प्रदान गरिएको भन्ने उजुरी प्राप्त भएपछि सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई आयोगले पत्र पठाएको हो ।

नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका सह–प्राध्यापक तथा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत तिमिल्सिना, त्रिवि रसायनशास्त्र विभागका सह–प्राध्यापक तथा सो सङ्घका महासचिव राजेन्द्र गौतम, बाल्मिकी विद्यापीठका सह–प्राध्यापक र सङ्घका उपाध्यक्ष कृष्णकान्त पराजुली नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य र त्रिवि केन्द्रीय अर्थशास्त्र विभागका सह–प्राध्यापक उमाशङ्कर प्रसाद जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य पदमा रहेको भन्ने सम्बन्धमा आयोगमा उजुरी दिनुभएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ को खण्ड (ग) मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको नेपाली नागरिकलाई विधान बमोजिम अधिकार प्राप्त पदाधिकारीले दलको सदस्यता वितरण गर्न सक्नेछ भन्ने व्यवस्था छ ।   
 

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं – संघीय संसदको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ । 

सन्दीपको मुद्दा न्यायाधीश फणिन्द्र पराजुलीको इजलासमा

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेशी तोकिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्धको मुद्दाको पेशी तोकिएको हो । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको सुनवाइ हुने छ ।

जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो ।

आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको छ ।

कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै

वीरगन्ज – पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । 

गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्तालगायतका कारणले कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा एक सय ७४  कडा खालको कुपोषित बालबालिका फेला महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिनुभयो । 

उहाँका अनुसार विभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका क्रममा फेला परेका ती कुपोषित बालबालिकामध्ये ५६ बालबालिकालाई महानगरपालिकाद्वारा सञ्चालित ओटिसी सेन्टरमा भर्ना गरी उपचार गरिएको छ । 

वीरगन्ज महानगर क्षेत्रमा गत आव २०७८/७९ मा ४९ जना कुपोषित बालबालिका फेला परेको थियो जसमध्ये ४४ जनाको उपचार गरिएको जनाएको छ । यस्तै आव २०७७/७८ मा ४३ जना कुपोषित बालबालिकामध्ये ३९ जनाको र आव २०७६÷७७ मा फेला परेको २२ जनामध्ये १८ जनाको उपचार गरिएको प्रमुख कुर्मीले बताउनुभयो । 

जन्मेकोदेखि पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई आवश्यक स्वास्थ्य जाँचसहित पोषणयुक्त खानाका लागि महानगरपालिकाले गत आव २०७६÷७७ देखि  वीरगन्ज स्वास्थ्य चौकीसहित बगही स्वास्थ्य चौकी र सिर्सिया स्वास्थ्य चौकीमा ओटिसी सेन्टर चलाउँदै आएको छ ।

‘‘सुरुमा कुपोषित बालबालिकालाई हामीले ओटिसी सेन्टरमा भर्ना गर्छौँ”, प्रमुख कुर्मीले भन्नुभयो, ‘‘ओटिसी सेन्टरमा भर्ना भएका बच्चाको पहिला भोक जाँच गर्छौँ, अनि पोषणयुक्त खाना खुवाउँछौँ ।” खाना खान सक्ने बच्चालाई थप १४ दिनसम्मको पोषणयुक्त खाना दिएर घर पठाउँछौँ, खाना खान नसक्ने बच्चालाई थप स्वास्थ्य जाँचसहित उपचारका लागि वीरगन्जस्थित पोषण पुनः स्थापना गृहमा पठाउँछौँ । पोषण पुनः स्थापना गृहमा बच्चा र आमालाई राखेर बच्चालाई पोषणयुक्त खाना र उपचार हुने गरेको उहाँले बताउनुभयो ।

बालबालिकामा बढ्दो कुपोषणको समस्यालाई न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र स्वास्थ्य स्वयंसेविकामार्फत वडा–वडामा सचेतनामूलक कार्यक्रमसँगै बालबालिका तथा सुत्केरी आमालाई बालभिट्टा, लिटोलगायतका पोषणयुक्त खाना र गर्भवती महिलालाई आइरन चक्की वितरण गर्दै आएको प्रमुख कुर्मीको भनाइ छ । 

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल हाताभित्र सन् २००६ देखि सञ्चालित पोषण पुनः स्थापना गृहले १५ वर्षको अवधिमा दुई हजार आठ सय २८ कुपोषित बालबालिकालाई अभिभावकसँगै राखेर निःशुल्क उपचार सेवा दिएको छ । 

पोषण पुनः स्थापना गृह वीरगन्जका प्रमुख सरिता यादवका अनुसार सन् २००७ देखि हालसम्म एक हजार पाँच सय २४ बालक र एक हजार तीन सय चार बालिका गरी दुई हजार आठ सय २८ कुपोषित बच्चाको उपचार गरिएको छ । 

पोषण पुनः स्थापना गृहमा बच्चाको आमा र अन्य अभिभावकलाई पोषणसम्बन्धी शिक्षासमेत दिइन्छ । “आमालाई पौष्टिक आहार बनाउने र खुवाउने तरिकाबारे पनि हामी सिकाउँछौँ”, गृह प्रमुख यादवले भन्नुभयो, “कुपोषित बच्चाले निःशुल्क उपचार, रेखदेख र परामर्श सेवा पाउने गरेको छ ।” अहिले पोषण गृहमा १४ जना कडा खालका कुपोषित बच्चाको उपचार भइरहेको उहाँले बताउनुभयो । 

बच्चालाई पोषणको मात्रा पुग्ने गरी पौष्टिक खानेकुरा, भिटामिनलगायतका औषधिसमेत खुवाइन्छ । कुपोषणका कारण बच्चामा अन्य रोगको पनि सङ्क्रमण बढ्ने भएकाले अस्पतालका चिकित्सकबाट बच्चाको नियमित स्वास्थ्य जाँचसमेत गराउने गरिएको उहाँको भनाइ छ ।

अति कुपोषणले ग्रसित बनेका बच्चालाई दुई महिनासम्म पोषण गृहमा राखेर उपचार र रेखदेख गर्ने गरिएको छ । सामान्यतया १६ दिनसम्मको उपचारले बालबालिका निको भई घर फर्कने गरेका छन् । एक महिनामा पुनः स्वास्थ्य जाँचका लागि बच्चालाई गृहमा बोलाउने गरिएको प्रमुख यादवले बताउनुभयो ।

 कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, कपाल खैरो हुने, लामो समयसम्म निदाउने, बढी रुने, झगडा गर्नेजस्ता लक्षण देखिने गरिएको बालरोग विशेषज्ञ डा सरोजकुमार यादवले बताउनुभयो । “धेरै अभिभावकलाई बच्चामा कुपोषण भए–नभएको थाहा हुँदैन”, डा यादवले भन्नुभयो, ‘‘पोषिलो खानेकुरा अभावमा हुने कुपोषणको प्रभाव शारीरिक र मानसिक दुवैमा देखिने गरेको छ ।” बच्चाले खाना नखाने, धेरै रुने, सुत्ने, झगडा मात्र गर्नेजस्ता समस्या कुपोषणको असरले पनि हुनसक्ने उहाँको भनाइ छ ।रासस

महेश बस्नेतः अडान र विवाद

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत बेला बेलामा आफ्नो अडान र भनाइका कारण विवादमा आइरहन्छन् । कहिले काठमाडौँका मेयर बालेन्द्र साहले घर भत्काएको विषयमा होस् या राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विरुद्ध कटाक्ष अभिव्यक्ति दिएर नै किन नहोस् यत्तिखेर महेश बस्नेत धेरेको आलोचनाको तारो बन्नु भएको छ । नेकपा एमालेको युवा सङ्गठन युर्थफ्रोस, युवासँग हुँदै मन्त्री र सांसद बनिसक्नुभएका बस्नेत आखिर किन बेला बेलामा आफैलाई गाली खाने अभिव्यक्ति दिनु हुन्छ होला त ? 

यसका लागि महेश बस्नेतको सुरुवाती राजनीति नै हेर्न पर्ने धेरैको तर्क छ, महेश बस्नेतलाई नजिकबाट चिन्नेहरू बस्नेतले कहिल्यै क्षणिक नाफा घाटाको बारेमा अभिव्यक्ति  नदिने गरेको बताउँछन्, उनीहरूको मतमा बस्नेत दूरगामी नेता हुनुहुन्छ । पहिलो संविधान सभाले संविधान दिँदैन भन्ने हाँकाहाँकी अभिव्यक्ति महेश बस्नेतले संविधान सभाको निर्वाचन पछाडिनैदिनुभएको थियो । त्यतिखेर बस्नेतको उक्त भनाइको हदैसम्मको आलोचना भयो । बस्नेतको यही अभिव्यक्तिका कारण धेरैले बस्नेतलाई प्रतिगामी भने, कालान्तरमा आखिर पहिलो संविधानसभाले संविधान दिन सकेन र  संविधानसभा विघटन भयो । 

जनयुद्धताका माओवादीको चरम ज्यादतीको विरुद्ध पनि युथफोर्स बनाएर  लड्दा महेश बस्नेतलाई दुस्साहस गरेको भनेर भन्थे, धेरैले बस्नेतलाई गुन्डा चलायो भन्ने गर्थे तर आखिरमा माओवादी अराजकताको अन्त भयो  । वाइशियल जस्तो अर्ध सैनिक दस्तालाई साइजमा ल्याउने र काउन्टर दिने शक्ति आखिर युर्थ फोर्स नै भयो, आज माओवादीचाँही बरु हिजो वर्ग शत्रु घोषणा गरेको काङ्ग्रेसको पुच्छर बनेर हिँडेको धेरेको तर्क छ ।

तराईमा क्षेत्रीयतावादी अराजकता फैलिदा तेस्को विरुद्धमा बस्नेतले तत्काल काउन्टर दिनुभएको थियो, आखिर त्यो बेला पनि बस्नेतले  बोल्दा खेदो खनियो । अन्ततः  क्षेत्रीयतावादी राजनीति आज त्यहाँका राजनीतिक दललाई गर न मरको अवस्थामा पुगेको छ । महेश बस्नेतले तिनै क्षेत्रीय राजनीति गर्ने नेताहरूलाई  उक्त राजनीति छोडेर एमालेमा ल्याउने प्रयास गर्नुभयो । धेरैले महेश बस्नेतले  अपहरण गर्‍यो भनेर त्यतिखेर खुबै आलोचना गरे । क्षत्रिय राजनीति  छोडेर मूलधारको राजनीतिमा आउन लागेकालाई ठुलो मिडिया वाजी गरेर आखिर रोकियो । आज ती रोकिएकाहरूको राजनीतिक अस्तित्वको खोजीमा छन् धेरै त राजनीतिबाटै पलायन नै भइसके ।

अहिले चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका  अध्यक्ष रवि लामिछाने माथि बस्नेतले निरन्तर प्रहार गरिरहनु भएको छ । मेयर बालेन्द्र साहमाथि पनि उहाँ बेलाबेलामा खनिनु नै भइरहेको छ । के समयले महेश बस्नेतले जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि आफूले गाली खाँदै गरेका प्रतिवादहरू फेरी पनि समय क्रममा पुष्टि होलान् त महेश बस्नेतलाई नजिकबाट चिन्नेहरू चाहिँ बस्नेत दूर दृष्टि भएको नेता भएकाले ढिलो चाँडो बस्नेतको कटाक्ष सही रहेछ भन्ने अवस्था आउने बताउँछन् ।

पत्रकारिता राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्छ : मन्त्री ज्वाला

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रिकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन काठमाडौँ जिल्ला शाखाको प्रथम अधिवेशनको शुभारम्भ गर्दै मन्त्री ज्वालाले समाजमा हुने राम्रा तथा नराम्रा दुवै पक्षको सत्यतथ्यलाई सुसूचित गरी पत्रकारिताले राष्ट्र तथा जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।

यस क्षेत्रमा भएका विकृति न्यूनीकरण गर्न सङ्गठन अगाडि बढ्नुपर्ने बताउँदै उहाँले समाजवादी प्रेस सङ्गठनले स्थापनाको छोटो समयावधिमा देशभर सञ्जाल विस्तारका साथै प्रतिगमनको सशक्त विरोध गरी जनपक्षीय कार्य गरेकामा सराहना गर्नुभयो । मन्त्री ज्वालाले सरकारले हालै ल्याएको वार्षिक नीति तथा कार्यक्रम गठबन्धनको न्यूनतम साझा कार्यक्रममा आधारित रहेको बताउँदै बजेटमा त्यसलाई ठोस र मूर्तरुप दिएर जनताप्रति थप उत्तरदायित्व वहन गरिने प्रष्ट पार्नुभयो ।

जनमुखी बजेट ल्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो, “मुलुकमा देखिएको अहिलेको आर्थिक जटिलता हामीले समाधान गर्छौँ । अर्थतन्त्रलाई एउटा सरल लयमा ल्याउन आवश्यक परामर्श र अध्ययन भइरहेको छ ।” निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौताअनुसार कार्यसम्पादन नगरेका कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्वालाले यसमा हुने ढिलासुस्ती, तोकिएका मापदण्ड पूरा नगर्ने, गुणस्तरमा कमजोरीजस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

बर्र्दियामा निर्माणका क्रममा भत्किएको पुल पुनःनिर्माण गर्न अदालतका निर्णय पर्खनुपर्ने भएकाले त्यस आसपास क्षेत्रमा नयाँ पुल निर्माणको सम्भाव्यता अध्ययन भइरहेकाले करिब एक सातादेखि अनसनमा रहनुभएका सङ्घीय सांसद सञ्जय गौतमलाई अनसन फिर्ता लिन उहाँले आग्रह गर्नुभयो । उहाँ सांसद गौतमको अवस्था बुझ्न आज त्यसतर्फ जाने जानकारी गराउनुभयो । मुलुकको विकास र आर्थिक समृद्धिका लागि पूर्वाधार निर्माणका क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।

भ्रष्टाचारीलाई कारबाही देशको आवश्यकता : गृहमन्त्री श्रेष्ठ

बनेपा – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको पक्षमा काम गर्नु आजको आवश्यकता भएको उहाँका भनाइ छ ।

प्रेस सेन्टर नेपाल बागमती प्रदेशको धुलिखेलमा आज भएको वार्षिक साधारणसभामा सम्बोन्धन गर्दै उहाँले भ्रष्टाचारको जालोलाई तोड्ने गरी काम गर्न सकेमा मात्रै सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्न सकिने बताउनुभयो । गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीको नियन्त्रण र सुशासन स्थापनालाई समृद्धिको पूर्वशर्त बनाउन आवश्यक रहेको भन्दै सुशासन र विकासको लक्ष्य प्राप्त गर्नेतर्फ अगाडि बढ्न आवश्यक रहेकामा जोड दिनुुभयो ।

आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर र अर्का देशको शरणार्थी बनाएर पैसा र सम्पत्ति आर्जन गर्ने धन्दामा लागेकाहरूलाई कारबाहीको दायरामा ल्याउने पहलकदमी गरिरहेको र ल्याइछाड्ने उहाँले अठोट व्यक्त गर्नुभएको छ ।

“भ्रष्टाचार नियन्त्रणसहितको सुशासनलाई समृद्धिको पूर्वशर्त बनाउनैपर्छ, त्यसलाई स्थापना गर्न सकेनौँ भने विकास र समृद्धिको लक्ष्य पूरा हुनै सक्दैन”, उहाँले भन्नुभयो, “सुशासन कायम गर्नका लागि सारा भ्रष्टाचारीलाई कारबाही गर्नैपर्छ, त्यसलाई प्रभावकारी ढङ्गले नियन्त्रण गर्नुपर्छ र कमिशनको स्वार्थको निम्ति राष्ट्रमाथि आयोजना थोपर्ने र सबै मिलेर देशलाई कमिशनको जालोबाट बर्बाद गर्ने प्रक्रियाबाट मुक्त पार्नुपर्छ ।”

सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको एकसूत्रीय लक्ष्य रहेको बताउँदै उहाँले त्यसको आधारमा अगाडि बढ्दै ‘निर्दाेष नफसोस् र कुनै अपराधी नछुटोस्’ भन्ने मान्यतका आधारमा काम गरिरहेको स्पष्ट गर्नुभयो । त्यसका लागि विगतका कमीकमजोरीलाई समीक्षा गर्दै दृढ सङ्कल्पका साथ आएको उहाँको भनाइ छ ।

राष्ट्र र जनतालाई परिणाम दिन सकेनौँ भने न परिवर्तनको औचित्य पुष्टि र रक्षा गर्न सकिन्छ न पार्टी र कम्युनिष्ट आन्दोलनले आफ्नो अस्तित्वको रक्षा र विकास नै गर्न सकिने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । मैले के पाएँभन्दा पनि जनता र राष्ट्रलाई के दिन सकिन्छ भनेर हेरेर सरकारलाई सहयोग गर्न गृहमन्त्री श्रेष्ठले आग्रह गर्नुभयो ।

सरकारले गरेको कामलाई अझ बलियो बनाउन पार्टी नै बलियो हुन आवश्यक रहेको भन्दै पार्टी र कम्युनिष्ट आन्दोलनमा देखिएको वैचारिक र सांस्कृतिक सङ्कटबाट मुक्त गर्दै उहाँले सामाजिक न्यायसहितको लक्ष्य पूरा गर्न तथा आर्थिक रुपान्तरणसहितको काममा अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । “सरकारको मोर्चा मुख्य रहेकाले यसैमा सम्पूर्ण शक्ति लगाउँदै सदनको मोर्चाबाट समेत बल प्रदान गर्नुपर्छ”, गृहमन्त्री श्रेष्ठले थप भन्नुभयो, “ठूलो जनबलको समर्थनका आधारमा सरकारलाई अगाडि बढाउनुपर्छ ।” त्यसका लागि पत्रकारले पनि सरकारलाई सफल बनाउनेतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय सुरक्षालाई बलियो बनाउनु, बलिदानीबाट प्राप्त गरेको लोकतन्त्रको रक्षा, परिवर्तनको उपलब्धिको रक्षा गर्दै उन्नत बनाउनु, शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्नु र राजनीतिक परिवर्तनका उपलब्धिहरूलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गर्दै रुपान्तरण गर्नु सरकारको राष्ट्रिय कार्यभार रहेको बताउनुभयो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सञ्चारका साधनमा आधुनिकीकरणको विकाससँगै गाउँका दुःखका समाचारमात्रै पढ्नुपर्ने, सुन्नुपर्ने र हेर्नुपर्ने अवस्था देखिएकाले त्यसलाई रुपान्तरण गरी गाउँका सुखका समाचार पढन् पाइने, सुन्न पाइने र हेर्न पाइने अवस्था सिर्जना गर्न प्रदेश सरकार लागिरहेको बताउनुभयो ।

त्यससँगै बागमती प्रदेशले सञ्चालनमा ल्याएको सूचना बैंकलाई विस्तार गर्दै तल्लो वर्ग र समुदायका सूचनाभन्दा माथिल्लो वर्ग र समुदायका सूचना आमसञ्चारका माध्यममा आउने अवस्थामा परिवर्तन गर्न लागिपरेको बताउनुभयो । “बागमती प्रदेशका मन्त्रालय र विभिन्न निकायका ऐन, नियम, निर्देशिका, मापदण्डजस्ता सरकारका सूचना एकद्वार प्रणालीबाट प्राप्त गर्ने स्वचालित प्रणालीबाट पाउने गरी सूचना बैंक सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “त्यसलाई विस्तार गरी नागरिकका सुख, दुःखका सूचना पनि बागमती प्रदेशका सञ्चारमाध्यमले प्राप्त गर्न सक्ने गरी काम गर्न खोजिरहेका छौँ ।”

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले सरकारले चालेको भ्रष्टाचारविरुद्धको आन्दोलनलाई कुनै पनि हालतमा रोक्न नहुने बताउनुभयो । त्यसका लागि पार्टी र जनता साथमा रहेको बताउँदै उहाँले सञ्चारको क्षेत्रबाट पनि शसक्त भूमिका खेल्न आवश्यक रहेकामा जोड दिनुभयो ।

प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले प्रेस सेन्टर नेपाल उत्पीडित र उपेक्षित वर्गको प्रवक्ता भएकाले त्यसमा आबद्ध पत्रकारले नागरिक पत्रकारिताको माध्यमबाट नागरिकको आवाजलाई सशक्त बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । कर्पोरेट सञ्चारगृह व्यापारीको पक्षमा काम गर्ने भएकाले त्यसको खबरदारी गर्दै विचारमा विचलन आउन नदिई सत्य कुरालाई प्रचारमा केन्द्रित, सङ्गठन सुदृढीकरण र मुद्दामा केन्द्रित भएर सङ्घर्षको मैदानमा उत्रन आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटा, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, सचिव सुनिल खड्का र नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरले पत्रकारिताको क्षेत्रले खेल्नुपर्ने भूमिकाको चर्चा गर्नुभएको थियो ।

प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतमको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा प्रदेशभित्रका १० जिल्लाका पत्रकारले प्रेस सेन्टरले पत्रकारिताको क्षेत्रमा खेल्नुपर्ने भूमिकाको विषयमा केन्द्रित भएर नयाँ कार्यक्रम र नीति पारित गर्ने बताएको छ ।

उन्मुक्ति बिना नै सुदरपश्चिम सरकार विस्तार, अझै पाएन सरकारले पुर्णता

कैलाली – नागरिक उन्मुक्ति पार्टी बिना नै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुलाई मात्रै समावेश गरेर मुख्यमन्त्री शाहले आफनो मन्त्रिपरिषद विस्तार गरेका हुन ।  

जसअनुसार कांग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन भने माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् । माओवादीकी गीतादेवी माल भने राज्यमन्त्रीमा नियुक्त भएकी छिन । उनले अब ण् उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको हैसियतमा कार्यभार सम्हाल्नेछिन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको अज नै शपथ हुने छ ।

गत २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भए पछि शाहले पार्टीका प्रकाशबहादुर देउवा र एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री नियुक्त भएको १ सय दिन नाघिसक्दा पनि अझैसम्म आफनो सरकारलाई पुर्णता दिन भने सकेका छैनन ।

उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसी उपाध्यक्ष बु्रक्सबीच भेटवार्ता

काठमाडौँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष बु्रक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयका पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो ।

भेटमा बु्रक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ती, सुरक्षा र समन्वयनको काममा गृह मन्त्रालयको तर्फबाट सहयोग उपलब्ध गराउनु आग्रह गर्नु भएको थियो भने उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरुको आवश्यक सहयोग हुने बताउनु भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले एमसीसी परियोजनालाई समयमै सम्पन्न गर्नका लागि गृह मन्त्रालयको तर्फबाट पर्याप्त र आवश्यक सहयोग हुने कुरा सो परियोजनाको प्रतिनिधिमण्डललाई बताउनु भएको भेटमा सहभागी गृहसचिव गोविन्द भट्टराईले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, ‘आज २०८० साल जेष्ठ महिनाको ६ गते गृह मन्त्रालयका माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यू र एमसीसीका भाईस प्रिसिडेन्ट जोनाथन बु्रक्सबीच भेटघाट भएको छ । उहाँहरुको नेपाल भ्रमणको क्रममा माननीय उपप्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट हो ।

परियोजनाका बारेमा सामान्य कुरा गर्न र परिचयात्मक रुपमा आफूलाई प्रस्तुत गर्न उपस्थिति हुनु भएको थियो । र, भेटघाटको क्रममा परियोजनाका आगामी गतिविधिहरुमा मूल रुपमा प्रमुख जिल्ला अधिकारीहरु संलग्न भई गर्नुपर्ने काम जग्गा प्राप्ती, परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयको पार्टमा गृह मन्त्रालयको तर्फबाट हुन सक्ने सहयोगका लागि आग्रह गर्नु भएको छ । र, माननीय उपप्रधानमन्त्रीज्यूले परियोजनाको सफल कार्यान्वयन, समयमै सम्पन्न गर्ने गरेर कार्यान्वयन गर्न मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीहरुबाट पर्याप्त र आवश्यक सहयोग हुने आश्वासन उपलब्ध गराउनु भएको छ ।’

भेटमा उपाध्यक्ष बु्रक्ससहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठसँग परियोजनाका बारेमा सामान्य ब्रिफिङ पनि गरेको थियो ।

सुदूरपश्चिममा मन्त्रिपरिषद विस्तार, कुन दलबाट को बने मन्त्री?

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार गरेका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर शाहले मन्त्रिपरिषद विस्तार गरेका हुन्।

नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्। शनिबार बसेको कांग्रेसको सुदूरपश्चिम संसदीय दलको बैठकले सिंहलाई मन्त्री बनाउने निर्णय गरेको थियो।

माओवादी केन्द्रबाट झपट साउद र रमेश धामी मन्त्री बनेका छन् भने गीतादेवी माल राज्यन्त्री बनेकी छन्। साउद सामाजिक विकास मन्त्री र धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।  गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन्।

२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए। देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन्। त्यसपछि मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन्।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन। उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरूले दुई वटा मन्त्रालय पाउनु पर्ने माग गर्दै आएका छन्।

नीति तथा कार्यक्रममा शिक्षा : ‘शिक्षकका मुद्दा समाधान हुने अपेक्षा, विदेशिने विद्यार्थी रोक्नेबारे अस्पष्ट’

काठमाडौँ – नेपाल सरकारको नीति तथा कार्यक्रममा भएका शिक्षा क्षेत्रका विषयप्रति शिक्षक सङ्घसङ्गठन सकारात्मक देखिएका छन् भने उच्च शिक्षामा विदेश पढ्न जाने विद्यार्थी रोक्ने ठोस योजना नभएकामा निजी शिक्षालय सञ्चालक असन्तुष्ट देखिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यालयमा बालबालिकालाई ल्याउने, सिकाउने र टिकाउने कार्यक्रमलाई अभियानकैरुपमा सञ्चालन गर्ने, ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’ कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता, सङ्घीय ऐन तर्जुमा, विषयगत शिक्षक दरबन्दी थपलगायत बुँदा समावेश गरिएका छन् ।

शिक्षक सङ्गठनका नेता र निजी शिक्षालय सञ्चालकका संस्थाका प्रतिनिधिले आगामी बजेटले कसरी सम्बोधन गर्छ भन्ने अवलोकनपछि विस्तृत प्रतिक्रिया दिने जनाएका छन् । रासससँग कुरा गर्दै नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले आफूहरुले उठाएका अधिकांश मागलाई शब्दावलीका रुपमा भए पनि समावेश गरिदिएकामा सरकारलाई धन्यवाद दिँदै आशन्न बजेटमा कसरी सम्बोधन हुन्छ भनेर पर्खिनुको विकल्प नभएको बताउनुभयो ।

महासङ्घले सङ्घीय शिक्षा ऐनमा सम्बोधन हुनुपर्ने आफ्ना विषयवस्तु र शैक्षिक मागबारे दबाबमूलक धर्ना तथा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुलाई ज्ञापनपत्र दिँदै आएको छ । महासङ्घले शिक्षामा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने, विद्यालयमा कर्मचारीलाई दरबन्दी कायम गरिनुपर्ने, प्रारम्भिक बालविकासका शिक्षकलाई प्राथमिक तृतीय श्रेणी सरहको तलब भत्ता दिइनुपर्नेलगायत माग राख्दै आएको छ ।

नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले नीति तथा कार्यक्रममा आएका विषयवस्तु सकारात्मक भए पनि कार्यान्वयनमा आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा सबै माग पूरा हुन्छन् भन्ने देखिएको छैन तर अधिकांश सम्बोधनका क्रममा छन् । यो कार्यान्वयन होस् भन्ने हाम्रो माग हो ।”

सरकारको नीति तथा कार्यक्रममा सङ्घीय शिक्षा ऐन संसद्को यसै अधिवेशनबाट पारित गरिनेछ भनिएको छ भने शिक्षण पेसालाई मर्यादित र आकर्षक बनाउन विशेष प्याकेजको व्यवस्था गरिने उद्घोष गरिएको छ । विषय र विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरी न्यूनतम शिक्षकको व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । ‘हाम्रो स्कुल, बनाऔँ राम्रो स्कुल’ अभियानअन्तर्गत सामुदायिक विद्यालयमा स्थानीयतहबाट विषयगत दक्ष शिक्षक दरबन्दीको व्यवस्था मिलाइने भनिएको छ । हाल करिब ५० हजार शिक्षक दरबन्दी अपुग रहेको छ । सामुदायिक विद्यालयलाई शैक्षिक नतिजाका आधारमा अनुदान दिने व्यवस्था मिलाइने र सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधालगायतका विषयलाई सम्बोधन गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

शैक्षिकसत्रअगावै पाठ्यपुस्तक उपलब्धताको सुनिश्चित गर्ने, दुर्गम र आर्थिकरूपमा विपन्न बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, दिवा खाजा कार्यक्रमलाई विस्तार गर्ने, प्रत्येक पालिकामा एक नमूना विद्यालय बनाउने, उच्च शिक्षा आयोग गठन गर्ने, विश्वविद्यालय शिक्षालाई रोजगार केन्द्रित गर्ने सरकारको प्रतिबद्धता रहेको छ ।

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले नीति तथा कार्यक्रममा उच्च शिक्षालाई गुणस्तरीय बनाउने र छाता ऐन ल्याउने सवाल सकारात्मक भएको जनाउँदै विदेश विद्यार्थीको बढ्दा चाप रोक्ने र गुणस्तरीय शिक्षामा फड्को मार्ने कार्यक्रम नभएको बताउनुभयो ।

उहाँले नवप्रवर्तन कोष स्थापना नयाँ भएको तर विद्यालय शिक्षामा पुरानै कुरा आएको टिप्पणी गर्दै कम्तीमा स्नातक तहसम्म नेपालमै पढ्ने वा नेपालमा पढाइ नहुने विषय वा छात्रवृत्तिमा पढ्न चाहने वा नेपालमा भन्दा अति नै राम्रा मानिएका विश्वविद्यालयमा पढ्नका लागि मात्रै अनुमति दिने प्रबन्ध हुनुपर्ने बताउनुभयो । हिसानले ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ गतिविधि सञ्चालन गर्दै आएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष डिके ढुङ्गानाले समग्रमा सार्वजनिक शिक्षाको वरिपरी नीति तथा कार्यक्रम आएको टिप्पणी गर्दै ती विद्यालयको सुधारमा आफ्नो पनि समर्थन रहे पनि निजी शिक्षालयले गर्दै आएको योगदानलाई सरकारले बिर्सन नहुने बताउनुभयो । “नीति तथा कार्यक्रममा निजी विद्यालयप्रतिको धारणा र वैदेशिक अध्ययन गर्न जाने विद्यार्थी रोकेर स्वदेशकै शिक्षालयलाई उकास्ने सवालमा सम्बोधन भएको देखिएन । निजी विद्यालय पनि सरकारकै विद्यालय हुन् । निजी क्षेत्रको योगदानका बारेमा सरकारले नबोल्नुपर्ने कारण छैन”, उहाँले भन्नुभयो, “सरकारले विभिन्न क्षेत्रमा विदेशी लगानी खोजिरहेको छ भने आफैँ लगानी गरेर स्वरोजगार र रोजगारी सृजना गरिरहेका निजी विद्यालयका बारेमा सम्बोधन गर्न सकिएको देखिएन ।”

शिक्षा मन्त्रालयको आँकडा अनुसार आर्थिक वर्ष २०७९÷८० मा ९२ हजार एक सय ४१ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिएका छन् । हाल यो सङ्ख्या दैनिक पाँच सयको हाराहारीमा छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो नौ महिनाको अवधिमा रू ६७ अर्ब १९ करोड बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू ४३ अर्ब ६७ करोड बाहिरिएको थियो ।

नीति तथा कार्यक्रममा आधारभूत तहमा गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गरिने, दलित, अल्पसङ्ख्यक, लोपोन्मुख, पछाडि पारिएको क्षेत्र, दुर्गम तथा हिमाली क्षेत्र र आर्थिकरूपले विपन्न तथा अपाङ्गता भएका बालबालिकालाई विशेष कार्यक्रम सञ्चालन गरिने, शिक्षा क्षेत्रका सबै छात्रवृत्ति एकद्वार प्रणालीमार्फत लागू गरिने र विपन्न लक्षित कार्यक्रम विस्तार गरिने उल्लेख छ ।

रासस

नीति तथा कार्यक्रम नजान्ने मान्छेले चिट चोरेको जस्तो आयो, शब्दजाल बाहेक केही छैन : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम समाजप्रति गम्भीर नबनेको आरोप लगाउनुभएको छ  । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले नीति तथा कार्यक्रममा ‘शब्दजाल’ बाहेक केही नभएको बताउनभयो ।  

‘नीति तथा कार्यक्रम नजान्ने मान्छेले चिट चोरेको जस्तो छ। अघि डा साबले भन्नुभयो नि हामीले राखेका कार्यक्रम पनि राखेको रहेछ। अरु कुराहरु राख्ने उहाँहरुको आँट, मनस्थिति नै छैन,’ ओलीले भन्नुभयो। 

अध्धयक्ष ओलीले भन्नुभयो, ‘पञ्चवर्षीय योजना भनेको पाँचवटा नीति तथा कार्यक्रम पाँच वटा बजेट हो। तर, त्यसतिर छुवाएकै छैन। त्यसतिर अर्थ राखेको छैन। हामी अर्को पञ्चवर्षीय योजनामा कसरी प्रवेश गर्छौं भन्ने कुरा आउनुपर्ने हो। तर, यो यस कोणबाट हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो छ। विभिन्न ठाउँमा लिइएको छ। अघि उहाँले भन्नुभयो हामीले राखेको कार्यक्रम पनि राख्नुभएको रहेछ भनेर त्यो राख्या हैन परेको हाे। त्यो चिट चोर्ने बेलामा परेको हो। राख्ने खालको परिस्थिति नै छैन।’

नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता नभएको ओलीको भनाई छ।  ‘नीति नै छैन नि यसमा। नीतिमाथि कुनै छलफल नै छैन। यो हाम्रो डेस्टिनेशन हो, यसबाटोबाट जाने हो, भनेर नीति तथा कार्यक्रम आउनुपर्ने हो,’ ओलीले भन्नुभयो, ‘त्यसले काम पनि गर्नसक्थ्यो। यो त नजानेर बेग्लै कुरा हो, सबै राम्रा शब्दहरू राख्न खोजिएको छ।’ उलोले भन्नुभयो, ‘यस नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता छैन। समाजले हजारौं वर्ष लगाएर बनाएका मूल्य मान्यताका बारेमा ध्यान छैन,’ ओलीको भनाई थियो । 

ओलीले संघीयतामाथि प्रश्न उठेका विषयमासमेत जवाफ माग गर्नुभयो ।  ‘संघीयतामाथि जे जति प्रश्न उठेका छन् त्यसको उत्तर के हो ? संघीयता आवश्यक छ यस अर्थले र यसलाई सवलीकरणल गर्छौं भनेर कहीँपनि भनिएको  छैन,’ उहाँले भन्नुभयो।  ‘नीति नै छैन नि यसमा। नीतिमाथि कुनै छलफल नै छैन। यो हाम्रो डेस्टिनेशन हो, यसबाटोबाट जाने हो, भनेर नीति तथा कार्यक्रम आउनुपर्ने हो,’ ओलीले भन्नुभयो , ‘त्यसले काम पनि गर्नसक्थ्यो। यो त नजानेर बेग्लै कुरा हो, सबै राम्रा शब्दहरू राख्न खोजिएको छ।’ 

हामीले चाहे सत्ता गठबन्धनको सरकार ढाल्न सक्छौं : माधव नेपाल

सिन्धुली – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले संसद्‍मा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिएका छन् ।

शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गरे । थोरै सिट भनेर नहेप्न उनले सत्ता गठबन्धनलाई चेतावनी दिएका छन् ।

नेकपा एमालेतर्फ इंगित गर्दै अध्यक्ष नेपालले धेरै सिट हुनेहरुको सरकार प्रदेससभामा भकाभक ढलेको भन्दै कटाक्ष समेत गरेका थिए ।

बढी सिट भएर मात्र नहुने भन्दै उनले टिकाउन नसक्नेले धेरै ‘फुइँ हाँक्न नहुने’ तर्क गरे । एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले ‘मुर्ख राजा’को कथा सुनाएर कटाक्ष गरेका थिए ।

‘मैले जे गरे पनि हुन्छ’ भन्ने ‘मुर्ख राजा’ जस्तै ओली अहंकारी र घमण्डी भएकाले आफूहरुले विद्रोह गर्नुपरेको उनले बताएका थिए । नचाहिने काममा फजुल खर्च गर्ने, गर्नुपर्नेमा नगर्ने, आफूहरुले जे गरे पनि ठिक र त्यसको स्तुति गान गाउनु पर्ने भएकाले एमालेबाट विद्रोह गर्न आफूहरु बाध्य भएको अध्यक्ष नेपालको भनाइ थियो ।

पानीजहाज, भ्यू टावर नेपालको आवश्यकता नभएको तर्क गर्नै वर्तमान गठबन्धनको सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले आशा जगाएको बताएका थिए ।

एकीकृत समाजवादी स्थापना भएको दुई वर्ष मात्र भएकाले आकार ठूलो जस्तो नदेखिए पनि देशभर संगठन फैलँदै गएको उनको जिकिर थियो । तर आफूहरूकै कमजोरीले गर्दा राष्ट्रिय पार्टी बन्न नसकेकोमा उनले आत्मालोचनासमेत गरेका थिए ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ : उपसभामुख

काठमाडौँ – उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने काजगात व्यवस्थित गर्न सुझाव दिनुभएको छ ।

विश्वव्यापार सङ्गठन र सिङ्गापुरस्थित एस राजारत्नम् अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी संसदीय कार्यशालाको अनुभाव सुनाउँदै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको उपस्थिति प्रभावकारीरुपमा बढाउन सरकारलाई गहन गृहकार्यका लागि सल्लाह दिनुभयो ।

उपसभामुख रानाले त्यसका लागि तत्तत् देश र क्षेत्र हेर्ने वाणिज्यदूत र राजदूतलाई पहलका लागि अधिकतम प्रयोग गर्न सुझाव पनि दिनुभयो । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँगको भेटमा उहाँले जलवायु परिवर्तनबाट नेपालका हिमाली क्षेत्रमा परेको असर, वातावरण संरक्षण, कार्बन उत्सर्जनलगायतका विषयवस्तु उठाएको जानकारी दिनुभयो ।

नेपालले सन् २००४ देखि यस्ता कार्यक्रममा भाग लिँदै आएको छ । विश्वव्यापार सङ्गठनले नेपाललगायत विकासोन्मुख देशको पूर्वाधार विकासलगायत क्षेत्रमासमेत विविधखाले सहयोग पु¥याउँदै आएको छ । विकासोन्मुख देशका युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय पूर्वाधार, पारदर्शीता र समानताका मुद्दामा एकअर्का देशको अनुभव आदानप्रदान गर्न त्यस्ता मञ्च महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यशालामा खासगरी एशिया प्रशान्त तटीय क्षेत्रका माछा उत्पादन र निर्यात गर्ने मुलुकका उपसभामुख तथा संसद् सदस्यको बाहुल्यता रहेको उक्त कार्यशाला राजनीतिक अस्थिरता र भ्रष्टाचार भएको मुलुकलाई अवसर प्रदान गर्ने मामिलामा अड्चन रहेको आफूले अनुभव गरेको उपसभामुख रानाले बताउनुभयो ।

यही जेठ १ देखि ३ गतेसम्म उक्त कार्यशालामा सहभागी हुनुभएका उपसभामुख रानाले नेपालको चिसो हावापानीमा उत्पादन भएका गुणस्तरीय चिया र कफीको स्वाद् तथा प्रवद्र्धनबारेमा पनि त्यहाँ आफूले चर्चा गरेको बताउनुभयो ।

नेपालले कृषि उत्पादनमा जोड दिँदै राजस्व बढाउने, नवीनतम प्रविधिको प्रयोग गर्ने तथा रोजगारी वृद्धिका विषयलाई सरकारले प्राथमिकतामा राखेर काम गरेमा मुलुकले विकास र समृद्धिको लक्ष्य छिट्टै हासिल गर्ने उहाँले धारणा राख्नुभयो । उक्त कार्यशालामा सांसद अम्बरबहादुर रायमाझी र विनोद चौधरी पनि सहभागी हुनुहुन्थ्यो ।

एमाले अध्यक्ष ओलीले आइतबा संसदमा सम्बोधन गर्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार (७ जेठ) को प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ।

आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुराको जानकारी गराउनु भएको हो।

सरकारले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुअघि ओलीले संसदमा आफ्नो धारणा राख्न लागेको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजो प्रस्तुत भएको र भोलिबाट छलफल सुरु हुने नीति तथा कार्यक्रमको बारेमा संसद बैठकको प्रारम्भमा नै मैले धारणा राख्नेछु ।’

पार्टी संसदीय दलको तर्फबाट नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राख्ने उहाँले बताउनु भयो। 

सरकारी कार्यालयको पूँजीगत खर्च दश महिनामा ३५ प्रतिशत

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा पर्सामा रहेका सरकारी कार्यालयको पूँजीगत खर्च निराशाजनक देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगञ्जका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाको पूँजीगत खर्च ३५ प्रतिशत रहेको छ ।

यहाँका ४२ सरकारी कार्यालयले कूल बजेटको पूँजीगततर्फ ३५ प्रतिशत र चालुतर्फ ८१ प्रतिशतमात्र खर्च गरेका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार पूँजीगततर्फ रू चार अर्ब ४७ करोड २६ लाख ४२ हजार चार सय ३८ मध्ये वैशाख मसान्तसम्म रू एक अर्ब ५५ करोड २२ लाख १६ हजार १८ मात्र खर्च भएको छ भने चालुतर्फ रू १० अर्ब ३७ करोड ९३ लाख आठ हजार नौ सय ५७ मध्ये वैशाख मसान्तसम्म रू आठ अर्ब ४६ करोड ११ लाख एक हजार नौ सय १२ खर्च भएको छ ।

वीरगञ्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र शसर्त बजेट रू पाँच अर्ब ४२ करोड ३५ लाख ८० हजारमध्ये वैशाखसम्म सबै पालिकाको पहिलो र दोस्रो त्रैमासिकमा गरी रू दुई अर्ब २६ करोड ५० लाख २२ हजार दुई सय निकासा भएको कार्यालयले जनाएको छ ।

समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुलगायत कारणले सरकारी कार्यालयको पूँजीगत खर्च र विकास बजेट खर्च हुन नसकेको प्रमुख उप्रेतीको भनाइ छ ।

सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्दै कामपा

काठमाडौँ – सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौँ महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ ।

रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपिसकिएको छ । सहरी हरियालीका प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान रहेको नगर प्रमुख बालेन्द्र साहले बताउनुभयो ।

सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख साहको भनाइ छ । चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउनसक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरुप रैथाने (इडेमिक) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) विरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।

सन् १८०२ मा एक वर्षसम्म काठमाडौँको नारायणहिटी र स्वयम्भूमा वैज्ञानिक बुचानन हामिल्टनले बोटबिरुवाको अध्ययन गरिएको थियो । त्यसबाट ४१ प्रजातिका बिरुवाको नाम नेवारी लवजमा राखिएको छ । अन्तरराष्ट्रियस्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवा बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् । यी बिरुवाको वैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसिमा, पोडोकार्पस नेरिफोलियस हो । यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकाले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्ने छ ।

वनस्पतिविज्ञ प्रकाश खड्गीका अनुसार नेपालमा पाइने एक सय ५८ प्रकारका रूख र ७५ प्रकारका बुटाहरु विश्वका अन्त कतै पाइँदैनन् । यहाँ तीन सय १२ प्रकारका रैथाने जातका बोट बिरुवा छन् । सडकको किनारा, पार्क वा घरमा जहाँ ठाउँ छ, त्यहाँ आफ्नै वातावरणमा परिचित बोट बिरुवा रोप्न वनस्पतिविज्ञको सुझाव छ । यसरी रोपिने बिरुवामा उत्तिस, काब्रो, लप्सी, सिमल, पैयूँ, लेक पाङ्ग्रा, सिरिङ्गे, मिकुसी स्वाँ जस्ता बिरुवा छन् । सहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षारोपण आवश्यक छ । यो आवश्यकता स्थानीय जातका बोटबिरुवाले पूरा गराउन सक्छन् ।

कामपाको उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका प्रमुख नवराज थापाका अनुसार रत्नपार्कसँगै खुल्ला मञ्च क्षेत्र तथा पार्कसँगै वडासँग समन्वय गरेर निर्धारण भएका ठाउँमा बिरुवा रोपिने छ ।

नीति तथा कार्यक्रममा हामीले उठाएका विषय समेटिएका छन् : महासङ्घ

काठमाडौँ – निजी उद्योगी तथा व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारको नीति तथा कार्यक्रममा आफुले दिएको सुझाव सम्बोधन गरिएकामा प्रसन्नता व्यक्त गरेको छ ।

महासङ्घले अहिलेको आर्थिक अवस्था, अर्थतन्त्रको समग्र मागमा आएको ह्रास, तरलताको सङ्कुचन, उच्च ब्याजदर, मूल्य वृद्धि, न्यून पूँजीगत खर्च, घट्दो राजस्व परिचालन तथा बाह्य क्षेत्र सन्तुलनमा परेको चापलाई सम्बोधन गरिने विषय समावेश गरिएकामा प्रसन्नता व्यक्त गरेको हो ।

महासङ्घका नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेटले कुन दिशामा लिने हो र कसरी अनुसरण गर्ने वा समेट्ने हो त्यो हेर्नुपर्ने बताएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीति तथा कार्यक्रममा समावेश गरिएका विषयमा बजेटमार्फत कसरी सम्बोधन हुन्छ त्यो हेर्न बाँकी रहेको बताउनुभयो । उहाँले महासङ्घले दिएका विषय जस्तै निजी क्षेत्रलाइ अर्थतन्त्रको मुख्य साझेदार मानेकामा खुसी व्यक्त गर्नुभयो ।

सरकार र निजी क्षेत्रको बलियो साझेदारीमार्फत उत्पादन तथा उत्पादकत्व बढाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै विदेशी लगानीलाई प्राथमिकताका साथ परिचालन गरिने विषयलाई पनि महत्वका साथ समावेश गरिएको छ ।

राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाउने तथा कर प्रणालीमा पुनरावलोकन गर्ने, पूँजी बजारमा गैरआवासीय नेपालीका लगानी खुला गर्ने, विकास आयोजनाका लागि जग्गा प्राप्ति, वन क्षेत्रको उपयोग, वातवरणीय प्रभाव मूल्याङ्कन र खरिद प्रक्रियामा सरलीकरण गर्न कानुन ल्याउने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।

उद्योगलाई उपलब्ध गराइने जग्गाको हदबन्दी सीमा पुनरावलोकन, उद्योगलाई आवश्यक पहुँचमार्ग र प्रसारण लाइन लगानीकर्ता स्वयंले बनाएमा निश्चित रकम सोधभर्ना दिने उद्योगहरुमा निर्वाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण पक्षलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ ।

चुरे संरक्षण गर्दै वातवरणीय ह्रास नहुने गरी खनिज वस्तुको उत्पादन र निर्यातको सम्भावना खोजिने, संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रुपमा र सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने तथा निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने विषयलाई समेटिएको छ ।

यस्तै आन्तरिक रोजगारी सिर्जना गर्न निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने जस्ता महासङ्घले राख्दै आएका विषयलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा समावेश गरिएको जनाइएको छ ।

देशको संस्कृति र सभ्यतामाथि नजानिँदो गरी हमला भइरहेको छ : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको संस्कृति र सभ्यतामाथि नजानिँदो गरी हमला भइरहेको बताउनु भयो ।

एमालेको भातृसंगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय परिचयपत्र लिँदा महिलाको सिन्दूर पुछ्ने र पुरुषको टोपी खोल्न लगाउने गरिएको भन्दै आपती जनाउनु भयो ।

उहाँले हाम्रो परम्पराका सुन्दर कुराहरूमा, पहिचान र परिचयमा हमला भइरहेको बताउनु भयो । कसैको पनि सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हुने उल्लेख उहाँले गर्नु भयो।

राष्ट्रिय परिचयपत्रको सन्दर्भमा उहाँले भन्नुयो :

राष्ट्रिय परिचयपत्र लिँदा सिन्दूर पुछ्नुपर्ने, पोते निकाल्नुपर्ने हुँदो रहेछ । त्यहाँ पानी पनि राखिदिएको हुन्छ, रुमाल राखिएको हुन्छ पुछ्नलाई । विवाहित महिलाको सिन्दूर पुछ्ने अधिकार कसले दियो ? सिन्दूर पुछेर बनाइने त्यस्तो परिचयपत्र फाल्दिए हुन्छ । पुरुषले पनि टोपी खोल्नुपर्ने रे । टाई लाउनुपर्ने हो कि ? अरूका जे कुरा छन् त्यसको नक्कल गर्नुपर्ने कुनै आवश्यकता छैन । भारतका पञ्जाबीले कतै पनि फेटा खोल्नु पर्दैन । जहाँ पनि लगाउन सक्छन् । टोपी पनि हाम्रो पहिचान हो । टोपी लगाउँदा किन मान्यता नपाउने ? कसैलाई लाग्दैन भने नलगाओस्, तर मन लाग्नेले लगाउन पाउनुपर्छ । कुन धर्ममा सिन्दूर लगाइँदैन त्यही हामीले पछ्याउनुपर्ने ? हाम्रोमा श्रीमान् वरण गर्दा सिन्दूर लगाइन्छ । श्रीमान् मर्दा सिन्दूर पुछिन्छ । पुछिनुको अर्थ विधवा हुनु हो । श्रीमान् हुँदासम्म पोते निकालिँदैन, चुरा फुटाइँदैन, सिन्दूर पुछिँदैन । कसका निर्देशनमा बनाइन्छ कानून ? पोते किन खोल्नुपर्‍यो ? लगाएको सिन्दूर किन पखाल्नुपर्‍यो ? सिन्दूरसहित हुँदा के खराबी हुन्छ ? परिचयपत्र होस कि नागरिकता होस । जे सुकै भए पनि त्यसमा परिपूर्ण कुराहरू हुनुपर्छ । नजानिँदो गरी हाम्रो संस्कृति र सभ्यतामाथि हमला भइरहेको छ । हाम्रो परम्पराका सुन्दर कुराहरूमा, पहिचान र परिचयमा हमला भइरहेको छ । सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हो ।

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ – नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे संघीय संसदको ल्होत्से हलमा बोलाएको हो ।

नीति तथा कार्यक्रममाथि छलफल गर्न एमालेको संसदीय दल बैठक बस्न लागेको हो ।

बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल र समसामयिक बिषयमा कुराकानी हुनेछ ।

ग्राहकको डेढ करोडभन्दा बढी पैसा हिनामिना गर्ने एभरेस्ट बैंकका म्यानेजरसहित ९ जना पक्राउ

विराटनगर – प्रहरीले ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनालाई ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यलाईसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरिक्षक डीएसपी राजकुमार राईले जानकारी दिए ।

डीएसपी राईका अनुसार एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बैंकको गाइघाट शाखाका अप्रेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ बर्षीय धावा लामा, कनिष्ट सहायकहरू भोजपुर सडानन्द नगरपालिका ९ का २७ बर्षीय मनोज घिमिरे, इटहरी ७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ बर्षीय रन्जित पण्डित र टेलर इटहरी २ की ३० बर्षीय पवित्रा कटवाल रहेका छन् ।

त्यस्तै रकम ठगी गर्ने गिरोहमा संलग्न धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यबिनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कर्मचारी सहित सबै जनालाई बैंकिङ कसुर र संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सरकारले राम्रा कामको सुरुआत गरेको छ : सञ्चारमन्त्री

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण तथा जनअपेक्षा पूरा गर्नेगरी वर्तमान सरकारले राम्रा कामको सुरुआत गरेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सरकारले जनताका पक्षमा काम गर्ने पहलकदमी लिइरहेको बताउनुभयो ।

सरकारले गरेका राम्रा काम जनतामाझ लैजान सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका भएको मन्त्री शर्माले बताउनुभयो । “सरकारले राम्रो कामको सुरुआत गरेको छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले यसअघिका दुई कार्यकालबाट सिकेर तेस्रो कार्यकाल सुजबुझका साथ अगाडि बढाउनुभएको मन्त्री शर्माको भनाइ छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र सिङ्गो देशको साझा उपलब्धि भएको उल्लेख गर्दै उहाँले पछिल्ला दिनमा जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने क्रम बढिरहेको बताउनुभयो । “राजनीतिक उपलब्धिको रक्षा गर्न सञ्चारमाध्यमले सशक्त भूमिका निर्वाह गर्नुपर्छ”, मन्त्री शर्माले भन्नुभयो–“गणतन्त्र, समावेशिता र सङ्घीयतामाथि चौतर्फी आक्रमण भइरहेको छ, यो व्यवस्थामाथि प्रहार गर्ने विरुद्ध एक हुन आवश्यक छ ।”

गणतन्त्र स्थापनापछि गुणात्मक उपलब्धि हासिल भएको उहाँको भनाइ छ । सरकार सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नुपर्छ भनेर लागिपरेको जिकिर गर्दै मन्त्री शर्माले भन्नभुयो, “हिजो मात्रै सरकारले नीति कार्यक्रम ल्याएको छ, सञ्चारमाध्यमलाई ज्ञानको उद्योगका रुपमा विकास गर्ने, समानुपातिक विज्ञापनलाई कार्यान्वयन गर्न तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन लागि परेका छौँ । सबै मिडियालाई व्यवस्थित गर्नुपर्छ । बजेटमार्फत थप व्यवस्थित गरिनेछ ।”

बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सत्यतथ्यमा आधारित रहेर जनताका पक्षमा कलम चलाउन आग्रह गर्दै पेशागत जिम्मेवारी र दक्षता हेरेर कर्म गर्न सञ्चारकर्मीलाई सुझाव दिनुभयो । प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले राष्ट्रियता, जनता र उत्पीडित वर्गलाई केन्द्रमा राखेर पत्रकारिता गरिनुपर्ने बताउनुभयो ।

प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाले नकारात्मक पत्रकारिताको प्रवृत्ति बढिरहेको अवस्थामा जनताको पत्रकारले त्यसलाई चिर्न सक्नुपर्ने बताउनुभयो । प्रेस सेन्टरका उपाध्यक्ष ओपेन्द्र शर्माले श्रमजीवी जनताको हकहितका पक्षमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

राससकर्मी लम्साल सम्मानित

कार्यक्रममा मन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) का सह–समाचारदाता एवं प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिका संस्थापक अध्यक्ष रमेश लम्साललाई सम्मान गर्नुभयो । मन्त्री शर्माले पत्रकार उहाँलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

श्रमजीवी पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको हकअधिकार स्थापित गराउन निरन्तर लागेबापत लम्साललाई सम्मान गरिएको प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष वीरेन्द्र वलीले जानकारी दिनुभयो ।

‘मानवमा परोपकारी भावनाको विकास गर्नुपर्छ’

दमौली – गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले मानवमा परोपकारी भावना विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । ब्रह्माकुमारी राजयोग केन्द्र भिमादले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उहाँले परोपकारी भावनाले मात्रै समाज र देश विकास सम्भव रहेकाले त्यस्तो भावना हरेक मानव जातिमा विकास गर्नुपर्ने बताउनुभयो ।

मन्त्री आलेले भन्नुभयो, “क्रोध र मोहलाई नियन्त्रण गर्नुपर्छ, परोपकारी भावनाको विकास गर्नुपर्छ, मानव मन शुद्धिकरण गर्नुपर्छ, यो अभियानमा ब्रह्माकुमारी राजयोग केन्द्रले ठूलो योगदान पु¥याउँदै आएको छ ।”

मन्त्री आलेले पछिल्लो समयमा विश्वभर अशान्ति र झगडा बढेको भन्दै त्यसलाई नियन्त्रण तथा मानव मानवबीच भाइचाराको विकास गर्नुपर्छ भन्ने सन्देश दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । सद्भावको भावना र माया प्रेमको भावना कायम गर्न सकियो भने मात्रै हरेक कुराको समाधान गर्न सकिने उहाँको भनाइ थियो ।

नवनियुक्त आर्थिक मामिलामन्त्री आलेलाई आजै नेपाल मगर महिला सङ्घ भिमाद, नेपाल मगर सांस्कृतिक सङ्घ भिमाद, लायन्स क्लब अफ भिमाद ग्रिनसिटी लगायतले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा चेम्बरको जोड

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा जोड दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै चेम्बरले मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमको अवस्थामा रहेका बेला नीति कार्यक्रम परिणाममुखी हुने विश्वास लिएको छ ।

नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेटमार्फत सम्बोधन गर्न चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हालको आर्थिक मन्दी र लगानीमा देखिएको सङ्कुचनलाई नीति तथा कार्यक्रमले पर्याप्त मात्रामा समावेश गर्न सकेको छैन, आर्थिक स्थायित्व कायम गर्ने गरी आगामी बजेट आउन आवश्यक छ ।”

नीति तथा कार्यक्रमले आंशिकरुपमा भए पनि निजी क्षेत्रका माग भने सम्बोधन गरेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रले उठाएका केही माग सम्बोधन भएका छन् । उत्पादनमुखी कार्यक्रम, औद्योगिक विकास र सार्वजनिक निजी साझेदारी अवधारणालाई प्रभावकारी बनाउने गरी नीति कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ ।”

नीति तथा कार्यक्रममा महत्वाकाङ्क्षी योजना घोषणा हुने तर कार्यान्वयनको पाटो फितलो हुने समस्याप्रति पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । कमजोर धरातलमा आएको नीति तथा कार्यक्रम सकारात्मक भए पनि सीमित स्रोत र साधनका कारण कार्यान्वयनको पाटो जोखिम रहेको चेम्बरको ठहर छ ।

नीति तथा कार्यक्रम ‘कनिका छरेजस्तो’ बनाउने भन्दा आर्थिक विकासको जग बसाल्ने गरी आउनुपर्ने चेम्बरले जनाएको छ । सरकारद्धारा शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले सरकारी खर्चमा मितव्ययिता कायम गर्न खोज्नु सकारात्मक भएको चेम्बरको भनाइ छ ।

रौतहटमा छुरा प्रहार गरी हत्या

रौतहट – रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसित खानको झगडा भएको थियो । सो क्रममा साविरले खानको छातिमा छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा खान आफ्नो वडामा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए । तर निर्वाचनमा उनी पराजित भएका थिए । छुरा प्रहारी गरी साविर भने फारार भएका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…

काठमाडौँ – जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ ।

उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो ।

उक्त जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए । प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौँबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने बताउनुभयो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उक्त जहाज अहिले इन्जिनियरले चेकजाँच गरिरहेका छन् । प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउनेछ । सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौँ ल्याइसकिएको कर्णले बताउनुभयो ।