ठूला भ्रष्टाचारमा मुछिएकाहरु उम्किरहेको भन्ने नागरिकको गुनासोलाई अख्तियारले सम्बोधन गर्नुपर्छः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपतिले यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताएका हुन् ।
राष्ट्रपति पौडेलले मुलुकको आर्थिक संमृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको बताए । उनले भने, ‘आर्थिक संमृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त हो । हाम्रो अन्तर्राष्ट्रिय प्रतिवद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताका अनुरुप सबैले आफ्नो जीवनशैलीलाई सरल, इमान्दार र पारदर्शी बनाउन आवश्यक छ ।’
राष्ट्रपति पौडेलले अख्तियारले साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठूलो भ्रष्टाचारमा मुछिएकाहरु भने उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन हुने गरी काम गर्न आग्रह गरे ।
उनले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह, पूर्वाग्रह रहित भएको सन्देश प्रवाह हुनुपर्ने बताए । उनले भने, ‘शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ, भ्रष्टाचारको सम्भावना त्यति नै कम हुन्छ ।’
