कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीले पाए ‘ग्लोबल हिरो अवार्ड’


न्यूयोर्क। हामी नेपाली ग्लोबल संस्थाले आइतबार बेलुका एक भव्य समारोहबीच नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरेको छ।
घिसिङ र शाहीको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले बताए।
अवार्ड समारोहलाई सम्बोधन गर्दै कुलमान घिसिङले भने, ‘१८ घण्टासम्म लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे। जहाँ बत्ती नै थिएन त्यहाँ पनि पुरायौँ। अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ। प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौँ। व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ ।’
एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको उनले जनाए।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले स्वर्ग जस्तो देश, विविधता भित्र एकताको देश नेपाल आज विश्वको गरिब मुलुकको रूपमा चिनिएको तर यो स्थितिबाट मुलुकलाई माथि उठाउनु पर्ने बताए।
‘तपाईँहरूको सीप र क्षमतालाई शक्तिमा बदल्नु छ। एक पटक नेपाल फ़र्किउँ, नेपाल फर्कने वातावरण हामी बनाउँछौ’ उनले भने।
उनले कुलमान घिसिङ एक कुशल प्रबन्धक मात्र नभएर उज्यालो नेपालका नायक पनि हुन् भन्दै नेपालमा हरेक क्षेत्रमा त्यस्ता नायक चाहिएको बताए।