सिरहामा फिरौती माग्दै अपहरण गरिएका बालकको हत्या


सिरहा । सिरहामा फिरौती माग्दै अपहरण गरिएका एक बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका सञ्जय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो ।
अभिषेक सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो । उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरु पनि थिए । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो । घटनाको अनुसन्धान थालिएको र डग टोली बोलाउने तयारी भएको उनले बताए । परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।
असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो । फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुवैमा ५ करोड उल्लेख गरिएको छ । अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेन्ट लागेर मृत्यु भएको थियो । एक्लो सन्तान अभिषेक आफ्नी आमा, हजुरबुवा र हजुरआमासँग गोलबजारमै बस्दै आएका थिए । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।