सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ


सिरहा, २७ असोज : प्रहरीले यहाँको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोलबजार नगरपालिका–६, दुर्गा मन्दिरस्थित मेनचोकबाट गुम्बा चोकतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा सवार व्यक्तिहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको हो ।
बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकसहित १७ ग्राम ५४० मिलिग्राम रहेको र प्लास्टिक बाहेक १५ ग्राम शुद्ध रहेको उहाँले जानकारी दिनुभयो । यस अभियोगमा गोलबजार नगरपालिका–७ का २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका–७ का २४ वर्षीय विष्णुदेव यादवलाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरूसँगै मोटरसाइकल नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोही रात करिब ९ बजे इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका–१७, पटेर्वा गाउँ नजिकै नेपाल–भारत सीमातर्फ लागुऔषध (गाँजा) लैजाँदै गरेको समूह प्रहरी देख्ने बित्तिकै झोला फालेर भागेका थिए । घटनास्थलबाट प्लास्टिकसहित ६४.९ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
भाग्ने क्रममा भारत बिहार राज्य, मधुबनी जिल्लाका ५५ वर्षीय श्रीचन मण्डललाई नियन्त्रणमा लिइएको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताउनुभयो । प्रहरीले दुवै घटनामा थप अनुसन्धान गरिरहेको प्रनाउ पालले बताउनुभयो ।