पूर्व माओवादी लडाकु डायमण्ड रूसी सेनाको ‘सर्जेन्ट’ पदमा बढुवा, युक्रेन युद्धको अग्रमोर्चामा


काठमाडौं । नेपालको माओवादी जनयुद्धमा दशकौं सक्रिय भूमिका खेलेका डायमण्ड अहिले एक फरक भूमिकामा छन्–उनी अहिले रूसको युक्रेनविरुद्धको युद्धमा अग्रपंक्तिमा लडिरहेका छन्, रूसी सेनामा ‘सेक्सन कमाण्डर’ का रूपमा । म्याग्दी घर भएका डायमण्डले हालै सामाजिक सञ्जालमार्फत् आफू रूसी सेनामा सर्जेन्ट (सेक्सन कमाण्डर) पदमा बढुवा भएको जानकारी दिएका छन् । उनका अनुसार, झण्डै दुई वर्षअघि उनी जुनियर सर्जेन्टका रूपमा रूसी सेनामा भर्ती भएका थिए । अहिले उनलाई ‘प्राइमरी एसल्ट सेक्सन’ को कमाण्ड दिइएको छ, जुन युक्रेनविरुद्धको युद्धको अग्रभागमा खटिने खण्ड हो ।
जनयुद्धदेखि रूसी फौजसम्मको यात्रा
डायमण्डले माओवादीको जनमुक्ति सेनामा ‘बटालियन सह–कमाण्डर’को भूमिका निभाएका थिए । वि.सं २०६८ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला भएको सेना समायोजन प्रक्रियामा उनले स्वेच्छिक अवकाश लिएका थिए । अवकाशपछि केही समय मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपामा सक्रिय रहे पनि पछि २०७१ सालमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा प्रवेश गरेका थिए र म्याग्दी जिल्लाको सेक्रेटरीसम्म बने । उनको जीवनको मोड त्यतिबेला आयो जब उनले पारिवारिक जिम्मेवारी, अधुरो सपना र देशभित्रको निराशाले थिचिएर वैदेशिक विकल्प रोजे । उनले अवैधानिक माध्यमबाट रूस यात्रा गरेका थिए र त्यसपछि रूसी फौजमा भर्ती भएका थिए ।
असन्तुष्टि र विकल्पको खोजी
डायमण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिलेकाहीँ जीवनमा देखेको सपना पूरा हुन्न, बरु नदेखेको सपना पूरा हुन्छ ।’ उनले नेपालमा माओवादी आन्दोलनपछि आश गरेका परिवर्तन नआएको र नेतृत्वप्रति गहिरो असन्तुष्टि रहेको खुलासा गरेका छन् । ‘हिजो १० वर्षे जनयुद्धको एक योद्धा, आज लेनिनको देशमा पुटिनको सिपाही बनेर युक्रेनविरुद्धको कठिन लडाइँ लड्दैछु’, उनले लेखेका छन् ।
युद्धमा जीवन
सेक्सन कमाण्डर बनेपछि डायमण्ड अब युक्रेन युद्धको अग्रपंक्तिमा छन् । उनले प्राइमरी एसल्ट सेक्सनलाई नेतृत्व गर्दै युद्धको सबैभन्दा खतरनाक मोर्चामा खटिनु पर्ने हुन्छ । उनकी श्रीमती प्रेरणा सिर्पाली पनि माओवादी जनयुद्धमा सहभागी लडाकु थिइन् ।
डायमण्डको यो यात्रा नेपाली जनयुद्धबाट अन्तर्राष्ट्रिय युद्धमा पुगेको एउटा दुर्लभ उदाहरण हो, जसले माओवादी आन्दोलनबाट निस्किएका कतिपय लडाकुहरूको वर्तमान अवस्थाको जटिलता उजागर गर्छ ।
हेर्नुस् डायमण्डको स्टाटस