रुपन्देहीलाई देशकै आर्थिक केन्द्र र विकासको रोल मोडल बनाउन साथ दिनुहोस् – विष्णुप्रसाद पौडेलले
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले आफ्नो लागि रुपन्देही जिल्ला एउटा भूगोल मात्र नभइ, आफ्नो कर्म र सङ्कल्पको केन्द्र बनिसकेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले रुपन्देहीलाई देशकै आर्थिक केन्द्र र विकासको रोल मोडललाई निरन्तरता दिन आग्रह पनि गरेका छन् ।
पौडेलले सामाजिक संञ्जालमा लेखेका छन्
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराउँदै गर्दा तपाईंहरूले देखाउनुभएको माया र विश्वासप्रति म नतमस्तक छु। यहाँहरूको अमूल्य मत प्राप्त गरी विगतमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा भूकम्प, नाकाबन्दी, कोभिड–१९ जस्ता संकटहरूले शिथिल बनाएको अर्थतन्त्र उकास्न र ओरालो लागेको सेयर बजार लगायत अर्थतन्त्रका समग्र सुचकहरुलाई उचाइमा पुर्याउन हामीले खेलेको भूमिकाबारे यहाँहरू अवश्य जानकार नै हुनुहुन्छ ।
मेरो लागि रुपन्देही जिल्ला एउटा भूगोल मात्र होइन, मेरो कर्म र सङ्कल्पको केन्द्र बनिसकेको छ । हिजो तपाईंहरूसँगै मैले देखेका थुप्रै सपनाहरू आज एक्सप्रेस हाइवे, आधुनिक फराकिला सडक, पुल र सुरुङ मार्ग जस्ता आधुनिक पूर्वाधारका रूपमा उभिँदै छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, बुटवल–बेलहिया ६ लेन व्यापारिक मार्ग र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रजस्ता गौरवका आयोजनाहरूले रुपन्देहीलाई विशिष्ट पहिचान दिएका छन् । बृहत् लुम्बिनी गुरुयोजना, लुम्बिनी बौद्ध विश्वविद्यालय, बुटवल मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, सेमलार कृषि बजार, सिद्धबाबा सुरुङ मार्ग, कालीगण्डकी–तिनाऊ डाइभर्सन, सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड, बुटवल–नारायणगढ र बुटवल–चन्द्रौटा सडक जस्ता मेघा परियोजनाका साथै थुप्रै ठुला/साना आयोजनाहरूको प्रभावकारी तथा पूर्ण कार्यान्वयनपछि यो क्षेत्र समृद्धिको नयाँ उचाइतर्फ अघि बढ्दै छ ।
रुपन्देहीलाई देशकै आर्थिक केन्द्र र विकासको रोल मोडल बनाउन सुरु गरिएको विकासको यो महाअभियानलाई निष्कर्षमा पुर्याउन मलाई फेरि पनि तपाईंहरूको साथ र आशीर्वाद आवश्यक छ। हामीलाई थाहा छ— हामीले आरम्भ गरेका पूर्वाधारहरू सम्पन्न गर्न, विकासको गतिसँगै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्न, त्यसलाई सामाजिक न्यायसँग जोड्न र आत्मसम्मानसहितको सभ्य समाज निर्माण गर्न अझै धेरै काम गर्न बाँकी छ ।
हामीले सुरु गरेको समृद्धिको यो यात्रालाई अझ उचाँई बाट अघि बढाउन, रुपन्देहीलाई नेपालकै सबल आर्थिक केन्द्र र विकासको रोलमोडलका रुपमा स्थापित गर्न रुपन्देही क्षेत्र नं. २ का आदरणिय मतदाताहरु समक्ष सुर्य चिन्हमा आफ्नो अमुल्य मतको अपेक्षा गर्दछु ।
