`

निर्वाचन मुलुकलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको लडाईं होः एमाले महासचिव पोखरेल

Nepal One HD १६ माघ २०८२ १५:३४
नेकपा एमाले

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किज्मका नाममा नेपाली समाजलाई विभाजित गर्ने दुष्प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले जेन–जी आन्दोलनको नाममा युवापुस्ताको भावनामाथि खेल्दै विदेशी शक्तिले देशमाथि प्रभाव जमाउने प्रयास गरिरहेको आरोप पनि लगाए ।

महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरू जेन–जी युवाहरूको आन्दोलनलाई अपहरण गरी देशविरोधी शक्तिले आफ्नो नियन्त्रणमा लिएको उदाहरण भएको टिप्पणी पनि गरे । उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन राष्ट्रका पक्षमा उभिने शक्ति र विदेशी इसारामा भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने शक्तिबीचको द्वन्द्वको रुपमा हेरिनुपर्ने तर्क गरे ।

आगामी निर्वाचनलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको छनोटका रूपमा जनतामाझ लैजानुपर्ने आवश्यकता रहेको पनि बताए । मुलुकलाई जलाउने नभई बनाउने शक्तिले मात्रै देशलाई समृद्धिको बाटोमा लैजानसक्ने भन्दै युवाहरूलाई त्यसको पक्षमा भूमिका खेल्न आह्वान गरे।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटना जेनजी युवाहरुको भावनामा खेलेर उनीहरुको आन्दोलनलाई अपहरण गरिकन देश विरोधी शक्तिहरुले कब्जा गरेको अवस्था हो । आज यो मुलुक राष्ट्रका पक्षमा उभिने की भूराजनीतिक द्धन्द्धको क्रृडास्थल बनाउनको लागि विदेशी शक्तिको ईशारामा नाच्ने भन्नेहरुबीचको द्वन्द्व हो भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ । त्यसअर्थमा हाम्रो पार्टीले भनेको छ आउने निर्वाचन जलाउनेहरुको पक्षमा कि बनाउनेहरुका पक्षमा भनेर जनताका बीचमा जानुपर्दछ । जलाउनेहरुले नभई बनाउनेहरुले नै मुलुकलाई समृद्धको बाटोमा लैजान सक्दछन् । हामी बनाउनेहरुका पक्षमा जनतालाई परिचालन गर्ने कुरामा हाम्रा युवा साथिहरु अग्रसर रहनुपर्छ भन्ने कुरा म तपाईहरुका बिचमा राख्न चाहन्छु । आज हाम्रो मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने प्रयत्न भइरहेको छ । आज नेपाली समाजमा राजनीतिक दलहरुमाथि, राज्य व्यवस्थामाथि जुन प्रकारको प्रहार भएको छ । के एउटा देशभक्त नागरिकले त्यसो गर्न सक्दछ ।’

पोखरेलले अहिले राजनीतिक दलहरुसँगै राज्यसत्तामाथि भएको प्रहार देशभक्त नागरिकले गर्न नसक्ने भन्दै विदेशी शक्तिको हात रहेको आंशका गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *