नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छः नेता भट्टराई
काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा परिरहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले हालको विश्वव्यापी अव्यवस्था (इन्टरनेशनल डिसअर्डर) ले नेपालमा राजनीतिक तथा अन्य क्षेत्रमा असर पारिरहेको र यो प्रभाव झन् गम्भीर बन्दै जाने चेतावनी दिए ।
उनकाअनुसार आजको ग्लोबल परिवेशमा अन्तर्राष्ट्रिय अव्यवस्था भत्किँदै गएको छ । जसको प्रभाव नेपालमा पर्दै गएको र अझ गम्भीर रूपमा पर्ने सम्भावना रहेको छ ।
‘हामी एउटा अत्यन्त फरक खालको अन्तर्राष्ट्रिय परिस्थितिमा परेका छौँ । यसको असर हामी कहाँ कति पर्छ भन्नेबारेमा, त्यसको राजनीतिक असर परेको छ की छैन यहाँ त डिबेट छ । त्यसको असर पर्न थालेको छ । प्रभावको तानातानको बीचमा हामी पर्दैछौँ । किनभने हाम्रो लोकेशनले त्यो पार्नेतर्फ लगिरहेको छ । अहिले न्यारेटिभ के बनाइन्छ भने ठूला पार्टीहरु अफ्ठ्यारो परेपछि विदेशी हस्तक्षेप देख्छन्, षड्यन्त्र देख्छन् भनेर जेनेरलाइज गर्न खोजिएको छ । त्यो सत्य होइन । आजको ग्लोवल परिवेशमा जुन ढंगले इन्टरनेशनल डिसअर्डर भत्किँदै गएको छ । त्यसको प्रभाव हामीमा पर्दै गएको छ । अझ गम्भीर रुपमा पर्नेवाला छ । यसलाई हामीले हेलचेक्राँई ग¥यौँ भने छिटै नै यसको परिणाम देखिन्छ । यिभित्र डिभिजन शुरु भएको छ ।’ भट्टराइले भने ।
डा. भट्टराईले नेपालको भौगोलिक अवस्थितिले अन्तर्राष्ट्रिय शक्तिहरूको प्रभाव र तानातानीको केन्द्रबिन्दु बनाइरहेको बताउँदै यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् ।
