फागुन २१ को निर्वाचनमा काँग्रेसलाई शानदार परिणाम ल्याउनबाट कसैले रोक्न सक्दैनः सभापति थापा
काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पु¥याउन सके २१ फागुनमा हुने निर्वाचनमा पार्टीले शानदार परिणाम ल्याउने दाबी गरेका छन् । शुक्रवार नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सो दाबी गरेका हुन् ।
उनले अगामी निर्वाचनमा पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर रहेको उल्लेख गर्दै सोहीअनुसार मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरे। उनले विगतको निर्वाचनमा काँग्रेससँग असन्तुष्ट बनेका मतदातासँग सम्पर्क बढाउँदै पार्टीको सन्देशबारे जानकारी दिनुपर्ने बताए।
उनले जेन—जी नवपुस्तासँग समेत छलफल गर्नेगरी आफूहरु अघि बढिरहेको बताए। उनले पार्टीभित्र रहेको असन्तुष्टि र मतभिन्नताको समस्या समेत निर्मुल हुँदै गइरहेको बताए । उनले निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने विषयमा पूर्वसभापति शेरबहादुर देउवालगायतसँग निरन्तर संवाद भइरहेको पनि बताए ।
‘आजको दिनको हाम्रो सन्देश मात्रै ठिक ढंगले घरघरमा पु¥याउनसक्ने हो भने नेपाली काँग्रेस पार्टीले सानदार परिणाम ल्याउने कुरा कसैले रोक्न सक्दैन भइसक्यो भन्ने हैन, यो तपाईं र ममा भर पर्छ,’ उनले भने, ‘तल मतदाता छन् । ती मतदाता आजको दिनमा के सोचिरहेका छन् । २७ लाख मतदाताले अघिल्लो निर्वाचनमा हामीलाई मत हालेका हुन् हामीसँग रिसाएकै बेलामा । ती मतदातासँग आज गएर एकचोटि गएर बुझाउँदाखेरी पुग्छ।’
अबको सरकार काँग्रेसको मात्रै नभनी ‘अबकी बार सय पार’का नारा लगाउन समेत कार्यकर्तालाई सभापति थापाको आग्रह छ ।
