श्रीमती हत्यामा दोषी पूर्वडीआईजीको मुद्दा पौडेल र ढकालको इजलासमा
काठमाडौं । श्रीमती गीता ढकालको क्रुरतापूर्वक हत्या घटनामा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जनप्रसाद कोइरालाको मुद्दामा सुनुवाइका लागि आज पेसी तोकेको छ ।
कोइरालाले थुनामुक्तको माग गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
कोइरालाले आफूले ६० प्रतिशत कैद भुक्तान गरिसकेको दाबी गर्दै रिहाइको माग गरेका छन् । उनले २०८१ साउन ३० गतेसम्म ५९ प्रतिशत कैद भुक्तान गरिसकेको र अन्य कैदीले छुट पाउँदा आफू वञ्चित भएको जिकिर गरेका छन् ।
उनी ८ माघ २०६८ मा पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत काठमाडौंले ७ वैशाख २०७१ मा सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।
जिल्लाको फैसला उल्टीको माग गर्दै उनी पुनरावेदन अदालत पाटन गए । पाटनले पनि २३ मंसिर २०७२ मा सदर गर्यो । तल्ला तहका दुई अदालतको फैसलाप्रति चित्त नबुझाएर उनी सर्वोच्च पुगे ।
सर्वोच्चले १५ असार २०७७ मा जिल्ला र पुनरावेदनले गरेको सजाय घटायो । ८ वर्ष ६ महिना सजाय कायम गर्यो । तर, महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चको फैसला पुनरावलोकन माग गर्दै निवेदन दियो ।
पछि उनी फेरि कारागार चलान भए । यसपछि कोइरालाले थुनामुक्तको माग गर्दै सर्वोच्चमा रिट दायर गरे । सोही रिटको पेसी आजका लागि तोकेको हो ।
