`

फिलिपिन्सबाट अख्तियार प्रमुखसमेतलाई ज्यान मार्ने धम्की दिने पाठकलाई ल्याइयो नेपाल

Nepal One HD २८ माघ २०८२ १२:४७
अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलगायत उच्च पदस्थ अधिकारीहरूलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । नेपाल प्रहरीले उनलाई फिलिपिन्सबाट बुधबार ल्याएको हो ।

उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको सहायता लिएको थियो । इन्टरपोलको टोली र प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेर उनलाई बुधबार काठमाडौं ल्याइएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले बताए ।

पक्राउ परेका पाठकले अख्तियार प्रमुख राईसहित १० जना उच्च पदस्थ अधिकारीहरूलाई अल्टिमेटम दिएर ज्यान मार्ने धम्की दिएका थिए ।

मार्नका लागि २४ भदौमा कारागारबाट फरार कैदीलाई सुपारी दिने बताएका थिए । धम्कीपछि प्रहरीले उनको खोजी गरेको थियो । त्यस क्रममा उनी फिलिपिन्स रहेको पत्ता लागेको थियो ।

लगत्तै इन्टरपोलको सहायता लिएर नेपाल प्रहरीको एउटा टोली फिलिपिन्स गएको थियो ।

उनलाई गत ३१ डिसेम्बरमा मालोलस सिटीमा फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको फ्युजिटिभ सर्च युनिटले फिलिपिनी नेशनल पुलिससँगको संयुक्त अपरेसन गरी पक्राउ गरेको थियो ।

यता नेपालमा भने काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी र इन्टरपोलबाट १२ डिसेम्बरमा डिफ्युजन नोटिस समेत जारी भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *