निर्वाचन कुनै पनि हालतमा नराेकिने भन्दै भण्डारीले भने- मत सर्वेक्षण नगर्नुहाेस्
काठमाडौं ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन देशकाे सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताएका छन् ।
गोरखापत्र संस्थानद्वारा आइतबार0 आयोजित ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनै पनि हालतमा नरोकिने बताए ।
निर्वाचनको विकल्प निर्वाचन नै भएको उनकाे भनाइ छ । केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेको उनले आराेप लगाए ।
‘निर्वाचनको विकल्प निर्वाचन नै हो ।’ भण्डारीले भने, ‘केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्, तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन् । २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएरै छाड्छ ।’
उनले निर्वाचन आयोग र सञ्चार जगतलाई एउटै सिक्काका दुई पाटाको रूपमा चित्रण गरे । आयोगले निर्वाचनको व्यवस्थापकीय पाटो हेर्ने भए पनि निर्वाचनको माहोल सिर्जना गर्ने र मतदातालाई सुसूचित गर्ने मुख्य जिम्मेवारी सञ्चारकर्मीभएकाे उनकाे भनाइ थियाे ।
उनले भने, ‘तपाईंहरूले सिर्जना गरिदिएको माहोल र मलजलका कारण नै आज निर्वाचनको वातावरण यो अवस्थासम्म आइपुगेको हो ।’
भण्डारीले ‘मत सर्वेक्षण’ नगर्न सञ्चारमाध्यमहरुलाई आग्रह गरेका छन् । मतदान हुनुअघि गरिने मत सर्वेक्षणले मतदाताको मनस्थिति परिवर्तन गराई निर्वाचनको स्वच्छतामा असर पार्ने भएकाले यसलाई बर्जित गरिएको उनले स्पष्ट पारे ।
‘संविधानको अधिकारको नाममा निर्वाचनको निष्ठामाथि खेलबाड गर्न पाइँदैन’ उनले चेतावनी दिँदै भने, ‘मत सर्वेक्षणले हार्ने उम्मेदवारलाई जित्ने र जित्नेलाई हार्ने देखाएर मतदातामा भ्रम छर्नसक्छ, जुन समुच्च निर्वाचन प्रक्रियाकै लागि घातक हुन्छ ।’
उनले यसपटकको निर्वाचनमा ९ देखि १० लाख नयाँ मतदाता थपिनुलाई सकारात्मक परिवर्तनको रूपमा लिनुपर्ने बताए । थपिएका मतदातामा युवाहरूको बाहुल्यता रहेको र उनीहरू सुशासनको खोजीमा निर्वाचन प्रक्रियामा सहभागी हुन उत्सुक रहेको उनकाे दाबी छ ।
