मधेसका कुनै दल राष्ट्रिय दल नबन्ने, यी पाँच पार्टी बन्दैछन् राष्ट्रिय दल
काठमाडौं । यसपटक निकै कम पार्टीहरू राष्ट्रिय दल बन्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशव्यापी अभूतपूर्व चुनावी लहर ल्याउँदा अघिल्लो प्रतिनिधिसभामा राष्ट्रिय दलको रूपमा प्रतिनिधित्व गर्ने दलहरूमध्ये निकै कम राष्ट्रिय दल बन्ने भएका हुन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्तिलगायत दलहरू राष्ट्रिय दल बन्ने अवस्थामा देखिँदैनन् ।
राष्ट्रिय दल बन्न प्रत्यक्षमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनुपर्छ । यीमध्ये कुनै पनि दलले प्रत्यक्षमा एक सिट जित्ने छनक देखाएनन् । त्यसो हुँदा मधेसकेन्द्रित कुनै पनि दल यसपटक राष्ट्रिय दल बन्ने सम्भावना टरेको छ ।
तर, नयाँ दलको रूपमा श्रम संस्कृति पार्टी भने राष्ट्रिय दल बन्ने देखिएको छ । यो दलले प्रत्यक्षमा खोटाङमा जितिसकेको छ । सुनसरी–१ मा हर्क साम्पाङ र भोजपुर ध्रुवराज राईले लगातार अग्रता लिइरहेका छन् । समानुपातिकमा ३ प्रतिशत मतको सीमा पुर्याउने भएको छ ।
यसले गर्दा यो चुनावबाट नयाँ दल राष्ट्रिय पार्टी बन्ने श्रम संस्कृति देखिएको हो ।
पुराना दलहरूमा नेपाली कांग्रेस र नेकपा एमाले राष्ट्रिय दल बनिसकेका छन् । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि राष्ट्रिय दल बन्न लागेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी त दुई तिहाई बहुमततर्फ उन्मुख छ ।
