`

प्रत्यक्षतर्फ महिला सांसदको न्यून प्रतिनिधित्व: १५४ क्षेत्रको मतपरिणाममा १४ मात्रै विजयी

Nepal One HD २४ फागुन २०८२ १६:२१
निर्वाचन विषेश

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५४ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा १४ जना महिला उम्मेदवार निर्वाचित भएका छन् ।

यो संख्या कुल प्रत्यक्ष निर्वाचन क्षेत्रको करिब ८.४८ प्रतिशत हो । यसले प्रत्यक्षतर्फ महिला प्रतिनिधित्व अझै पनि निकै न्यून रहेको देखाएको छ ।

निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४६८ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये ३९६ जना महिला उम्मेदवार थिए । दलगत तथा स्वतन्त्र गरी चुनावी मैदानमा उत्रिएका यी महिला उम्मेदवारमध्ये अहिलेसम्म १४ जना मात्रै विजयी हुन सफल भएका छन् ।

निर्वाचित महिला सांसदमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का छन् । रास्वपाले प्रत्यक्षतर्फ १७ जना महिला उम्मेदवार उठाएको थियो, जसमा १२ जना विजयी भएका छन् ।

यस्तै नेपाली कांग्रेसबाट एक जना महिला उम्मेदवार निर्वाचित भएकी छन् । अन्य दलबाट भने हालसम्म महिला उम्मेदवार विजयी हुन सकेका छैनन् ।

रास्वपाबाट विजयी हुने महिला उम्मेदवारहरूमा झापा–२ बाट इन्दिरा रानामगर, चितवन–३ बाट सोविता गौतम, मोरङ–६ बाट रुविना आचार्य, झापा–१ बाट निशा डाँगी, सर्लाही–१ बाट नीतिमा भण्डारी कार्की, ललितपुर–३ बाट तोसिमा कार्की, धादिङ–१ बाट आशिका तामाङ, सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी, कास्की–३ बाट बिना गुरुङ, मोरङ–५ बाट आशा झा, कैलाली–१ बाट कोमल ज्ञवाली र काठमाडौं–१ बाट रञ्जु न्यौपाने (दर्शना) रहेका छन् ।

यस्तै दैलेख–१ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । उनले नेकपा एमालेका उम्मेदवार रवीन्द्रराज शर्मालाई ४७६ मतले पराजित गर्दै चुनाव जितेकी हुन् । बासनाको जितसँगै लामो समयदेखि कम्युनिस्ट प्रभाव रहेको उक्त क्षेत्रमा कांग्रेसले पुनः विजय हासिल गरेको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारको उपस्थिति उल्लेख्य भए पनि जित्ने संख्या भने निकै कम रहेको देखिएको छ । यसले राजनीतिक दलहरूले उम्मेदवारी दिने क्रममा महिलालाई सीमित अवसर दिने तथा प्रतिस्पर्धात्मक क्षेत्रमा कम प्राथमिकता दिने प्रवृत्ति अझै कायम रहेको विश्लेषकहरू बताउँछन् ।

यद्यपि यस पटक नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले महिला उम्मेदवारलाई तुलनात्मक रूपमा बढी अवसर दिँदै उल्लेख्य सफलता हासिल गरेको देखिएको छ । प्रत्यक्षतर्फ निर्वाचित महिला उम्मेदवारमध्ये अधिकांश सोही दलका हुनु त्यसको उदाहरणका रूपमा हेरिएको छ ।

हालसम्मको मतपरिणामअनुसार १५४ क्षेत्रबाट १४ महिला सांसद निर्वाचित हुनु भनेको कुल प्रत्यक्ष निर्वाचन क्षेत्रको करिब ८.४८ प्रतिशत प्रतिनिधित्व मात्रै हो, जसले संसदमा महिला सहभागिता अझै विस्तार गर्नुपर्ने आवश्यकता रहेको संकेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *