हर्क साम्पाङ नेतृत्वकाे दल श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्याे, कटायाे थ्रेसहाेल्ड
काठमाडौं । हर्क साम्पाङ अध्यक्ष रहेकाे श्रम संस्कृति पार्टी राष्ट्रिय दल बनेकाे छ । याे दलले समानुपातिकमा तीन लाख मत कटाएको छ ।
निर्वाचन आयाेगका अनुसार ८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ । यो गणना भएको मतको करिब साढे तीन प्रतिशत हो ।
समानुपातिकतर्फ सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत भन्दा बढी मत ल्याउनु पर्दछ । प्रत्यक्षमा कम्तिमा १ सिट जित्नुपर्छ ।
श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन सिट जितिसकेकाे छ । त्यसाे हुनाले प्रतिनिधिसभा निर्वाचन लडेकाे पहिलाेपटकमै याे दल राष्ट्रिय दल बनेकाे हाे ।
श्रम संस्कृतिलाई पछ्याइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९० हजार ७१ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको ४२ लाख, नेपाली कांग्रेसको १४ लाख, नेकपा एमालेको १२ र नेपाली कम्युनिष्ट पार्टीको ६ लाख भन्दा बढी मत आइसकेको छ ।
प्रत्यक्षमा श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, आरेन राई र ध्रुवराज राई निर्वाचित भइसकेका छन् ।
इलाम–१ मा श्रम संस्कृतिका उम्मेदवार दोस्रो स्थानमा छन् ।
