`

रास्वपा कार्यकर्ताको आक्रमण र ह्यारेसमेन्ट धम्कीपछि अनेरास्वियु नेतृ प्रीतिले दिइन् साइबरमा उजुरी

Nepal One HD २७ फागुन २०८२ १२:३३
अपराध

काठमाडौं। नेकपा एमालेकाे भ्रातृ संगठन अनेरास्वियुकी सचिवालय सदस्य प्रीति दाहालले आफूलाई सामाजिक सञ्‍जालमा धम्की आएपछि नेपाल प्रहरीकाे साइबर ब्यूरोमा उजुरी दर्ता गरेकी छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको बेला एमालेबाट प्रचार-प्रसारमा सक्रिय भएकी दाहालमाथि राजनीतिक पूर्वाग्रहसहित आक्रमणको धम्की आउन थालेपछि उनले कानुनी कदम चाल्न बाध्य भएको बताएकी छन्।

दाहालका अनुसार केही दिन यता सामाजिक सञ्‍जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका केही समर्थकबाट निरन्तर गालीगलौज, मानहानी र ज्यान मार्ने आशयका धम्की आएका थिए।

उनले आफूले राख्दै आएको राजनीतिक विश्‍वास र तर्कलाई प्रतिवाद गर्न नसकेपछि आरोपितहरुले डर देखाएर ‘चुप पार्ने’ प्रयास गरेको आरोप लगाइन्।

‘कायरहरूको धम्किले विचारको मशाल निभ्दैन। राजनीतिक आस्था र निष्ठा आक्रमणको विषय होइन तर धम्की आएपछि कानुनी बाटो रोज्नु नै विवेकसम्मत निर्णय हो’ उनले भनिन्।

दाहालले लामो समयदेखि आफूले संयमता अपनाउँदै आएको भए पनि बारम्बार उक्साहट र व्यक्तिगत तहमा पुगेका अपमानजनक अभिव्यक्तिले आफूलाई कानुनी बाटो रोज्‍न बाध्य पारेको स्पष्ट गरिन्।

‘म माथिको प्रहार मेरो विचारमाथिको प्रहार हो, तर्कमा हार्नेहरू नै हिंसा र गालीगलौजको बाटोमा लाग्छन्,’ दाहालले भनिन्,’यही कारण आज मैले विद्युतीय कारोबार ऐन, २०६३ र प्रचलित कानुनअनुसार साइबर ब्युरोमा उजुरी दिएको छु।’

उनले सामाजिक सञ्‍जालमा व्यक्तिको मानमर्दन गर्ने, गालीगलौज गर्ने, ज्यान मार्ने चेतावनी दिने वा परिवारलाई लक्षित गरी आक्रमण गर्नेजस्ता कार्य स्वीकार्य नहुने भन्दै कानुनले यस्तो अपराधलाई पातालबाट भए पनि खोजेर कारबाही गर्ने दृढता व्यक्त गरिन्।

दाहालका अनुसार प्रविधिको नाममा कसैको सुरक्षामाथि खेलबाड गर्नु राज्यले सजिलै नजरअन्दाज गर्ने विषय होइन।

उनले थप भनिन्,’कानुनी र राजनीतिक दुवै मोर्चाबाट सत्य र न्यायका लागि लड्न तयार छु। अपराधीहरूको पहिचान अब राज्य संयन्त्रले गर्छ। म डराउने होइन, लड्ने मान्छे हुँ।’ दाहालले धम्की दिने व्यक्तिहरूको नक्कली ‘क्रान्तिकारिता’ कानुनी कठघरामा उभिएपछि समाप्त हुने दाबी गरिन्।

दाहालले पराजित मानसिकता बोकेका व्यक्तिहरूको शैलीलाई समाजले अस्वीकार गर्नुपर्ने धारणा राख्दै आपसी सम्मान, तर्क र लोकतान्त्रिक संस्कृतिको रक्षा सबैको जिम्मेवारी भएको बताइन्। उनका अनुसार, राजनीतिक असहमति सत्रूता होइन तर धम्की र हिंसात्मक प्रवृत्ति समाजले सहन नमिल्ने अवस्थासम्म पुगेको छ।

पछिल्लो समय नेपाली समाजमा साइबर आक्रमण र बुलिङका घटनाहरु बढ्दै गएको पाइन्छ।

प्रतिनिधिसभा निर्वाचनको वातावरणमा राजनीतिक ध्रुवीकरणसँगै सामाजिक सञ्‍जालमा भ्रामक सूचना, अभद्र टिप्पणी र लक्षित हिनतामूलक अभिव्यक्तिहरू बढिरहेको तर

सरोकारवालाहरुले पनि निरन्तर सुरक्षा चुनौतीको विषयमा ध्यानाकर्षण गराइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *