`

इनिसा विककाे बलात्कारपछि मृत्यु प्रकरणले देशभर आक्रोश : सीआआईबी टाेली पुग्याे सुर्खेतमा

रामचन्द्र जाेशी २९ फागुन २०८२ १५:४७
अपराध

काठमाडौं । इनिसा विकको बलात्कारपछि भएको मृत्यु प्रकरणले सुर्खेतदेखि काठमाडौंसम्मै आक्रोश सिर्जना गरेको छ ।

उनको न्यायका लागि घनिभूत रूपमा आवाज उठेको छ । उनको शव परीक्षण प्रतिवेदनमा बलपूर्वक यौनसम्पर्कका कारण अत्यधिक रक्तस्राव भएर मृत्यु भएको औँल्याइएको छ ।

यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले थप वैज्ञानिक अनुसन्धान गर्ने भएको हो । प्रहरी निरीक्षक नेतृत्वको सीआईबी टोली सुर्खेत पुगिसकेको छ ।

भेरी अस्पताल नेपालगञ्जको फरेन्सिक विभागले इनिसाको यौनांगको भित्री र बाहिरी भाग गम्भीर रूपमा च्यातिएको पाइएको जनाएको छ । अर्थात् इनिसाको यौनांगमा गहिरो चोट लागेको छ । त्यसका कारण अत्यधिक रक्तस्राव भएको र सोही कारण मृत्युको उल्लेख छ ।

शव परीक्षण प्रतिवेदनमा मृतकको ढाडमा घस्रिएको चोटसमेत देखिएको उल्लेख छ । यद्यपि सामूहिक बलात्कार भएको वा नभएकोबारे प्रतिवेदनले स्पष्ट निष्कर्ष दिएको छैन ।

इनिसा सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा–११ मा अध्ययनरत थिइन् । उनी यही २३ फागुन बिहान ६ बजे ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी थिइन् ।

वीरेन्द्रनगर–१ मा बस्दै आएकी उनी लामो समयसम्म घर नफर्किएपछि आमा तिला विक चिन्तित बनेकी थिइन् । त्यसबीच करिब तीन घण्टापछि इनिसा जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा भेटिइन् । स्थानीय र प्रहरीले उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्‍याए तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि गरिरहेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जना १६ वर्षीय किशोर इनिसाको प्रेमी भएको बताइएको छ ।

प्रहरीलाई दिएको बयानमा उनले इनिसासँग दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको बताएका छन् । उनका अनुसार २३ फागुन बिहान ७ बजेतिर इनिसासँग सल्लाह गरेरै उनीहरू सहिद पार्क नजिकको जंगलतर्फ गएका थिए ।

ती किशोरको बयान उदृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘हामी दुई वर्षदेखि सम्बन्धमा थियौं । पहिले पनि शारीरिक सम्पर्क भएको थियो ।’
उनका अनुसार त्यहाँ पुगेपछि केहीबेर गफगाफ भएको र त्यसपछि दुवैको सहमतिमा शारीरिक सम्बन्ध भएको थियो ।

तर, त्यसक्रममा अचानक इनिसाको यौनांगबाट अत्यधिक रक्तस्राव हुन थालेको उनले बताएका छन् । त्यसपछि आफू आत्तिएको उनको भनाइ छ ।

लगत्तै आफ्ना साथीहरूलाई बोलाएको र तीन जना घटनास्थलमा आएको पनि बताएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

ती किशोरहरूले नजिकैको गाउँमा गएर स्थानीयलाई घटनाबारे जानकारी गराएको र स्थानीयले बिहान ९ ः४५ मा प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेर उनलाई अस्पताल पुर्‍याउँदा बिहान १० बजिसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाका अनुसार प्रहरी घटनास्थलमा पुग्दा किशोरीको अवस्था अत्यन्त गम्भीर रहेको देखेको थियो ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सीसी टीभी फुटेजको पनि विश्लेषण गरेको छ । फुटेज हेर्दा घटनाअघि इनिसा र उनका प्रेमी वीरेन्द्रनगर क्षेत्रमा सँगै हिँडिरहेको दृश्य देखिएको छ ।

उनीहरू जनजागरण सामुदायिक वनतर्फ हात समाएर हिँडिरहेको फुटेज प्रहरीले फेला पारेको जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट पोलिग्राफ परीक्षण गर्ने टोली पनि सुर्खेत पुगेको छ ।

मृतकको शव भने छ दिन बितिसक्दा पनि प्रदेश अस्पताल सुर्खेतको शवगृहमा राखिएको छ । परिवारले भने सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै न्याय सुनिश्चित नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

घटनापछि इनिसाको बुबा इन्द्रबहादुर विक पनि दुबईबाट वीरेन्द्रनगर आइपुगेका छन् । उनले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *