गृहमन्त्रीसँग इनिसा विककाे बलात्कारपछि मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धानकाे माग
काठमाडौँ। नेपाल दलित मुक्ति मोर्चाले इनिसा विककाे बलात्कारपछि मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।
सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेको हो ।
मोर्चाले पीडित परिवारलाईउचित क्षतिपुर्तिको लागि माग गरेको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए ।
उनले देशमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीपूर्वक लागि परेको बताए ।
सुर्खेतको गुर्भाकोट नपा.-६ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ म बसोवास गर्दै स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीय बालिका इनिसाकाे बलात्कारपछि मृत्यु भएकाे थियाे ।
